जनता टाइम्स

३० मंसिर २०७६, सोमबार ११:१०

बेहुलीलाई सिन्दुर हाल्न नसकेपछि बेहुलाले तिरे चार लाख


झापा, मंसिर ३०

झापामा बेहुलाले बेहुलीलाई विवाह मण्डपमै सिन्दुर हाल्न नसकेपछि चार लाख तिरेर फर्किनु परेको खुलेको छ । बुद्ध शान्ति गाउँपालिकामा यसविषयमा आइतबार दिनभर तनाव उत्पन्न भएको छ ।

प्रहरीका अनुसार भद्रपुर नगरपालिका ७ का सुवेदी थरका एक युवक आइतबार बिहान बाजागाजासहित जन्ती लिएर बुद्ध शान्ति गाउँपालिका २ बस्ने न्यौपाने थरकी युवतीसँग विवाह गर्न उनका घर पुगेका थिए । बेहुली पक्षले विवाहका लागि सम्पूर्ण तयारी पूरा गर्दै जन्ती लिएर आएका बेहुलालाई वैवाहिक परम्परा अनुसार भित्राएर विवाह मण्डपसम्म लिएर गएका थिए ।

जब बेहुलाले बेहुलीको सिउँदोमा सिन्दूर हाल्न खोजे बेहुलाको एउटा हात नै माथि उठेन । ‘बेहुलाको हात माथि नउठेपछि उनी अपाङ्ग भएको बेहुली पक्षले थाहा पाएपछि विवाह नै रोकियो,’ ‘प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले भने, ‘विवाह रोकेर बेहुली पक्षले बेहुला पक्षसँग विवाद शुरु भयो, जन्ती लिएर गएको गाडी तोडफोड गर्न खोज्यो, उत्पन्न विवाद र तनावलाई रोक्न इलाका प्रहरी कार्यालय बुधवारेको टोली घटना स्थल पुग्यो।’

प्रहरीले घटनालाई साम्य बनाएर फर्किए पनि आर्थिक लेनदेनमा प्रहरी साक्षी नबसेको उनको भनाइ छ । यता बेहुला पक्षले बेहुली पक्षलाई चार लाख रुपैयाँ जरिवाना तिरेर फर्किएको घटनास्थलमा रहेका एक प्रत्यक्षदर्शीले बताए । आफू डाक्टर भन्दै युवकले ती युवतीसँग लामो समयदेखि प्रेम सम्बन्ध गाँसे । तर, युवक डाक्टर नभई अस्पतालमा काम गर्दै आइरहेका कर्मचारी रहेको पनि खुलेको छ । टिकाटालो हुँदासम्म बेहुली पक्षले केहि सोधखोज नगर्ने र विवाह गर्न गएपछि विवाद गरेको भन्दै बेहुला पक्षले दुखेसो पोखेका छन् ।