जनता टाइम्स

३० मंसिर २०७६, सोमबार १३:४०

नवौँ राष्ट्रिय खेलकुदमा बाघचाललाई समावेश गर्न माग


काठमाडौं, मंसिर ३०

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको मौलिक खेल बाघचाललाई पनि समावेश गर्न मौलिक जरोकिलो पार्टीले माग गरेको छ । नेपालका मौलिक खेलहरुको पुनःजागरणका लागि सरकार तथा अन्य सरोकार भएका निकायलाई पहल गर्न अनुरोध गर्दै पार्टीले त्यसका लागि सहयोग गर्न तयार रहेको जनाएको छ ।

पार्टीका खेलकुद विभाग संयोजक प्रवीण बस्नेतले विज्ञप्ति जारी गर्दै नेपालका मौलिक खेललाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरेर मौलिक खेलको पुनःजागरण गर्नुपर्ने उल्लेख गर्नुभएको छ । पार्टीले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा ५१ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गर्न सफल भएकामा नेपाली खेलाडीलाई बधाई दिएको छ ।

साग खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकारलगायत सबै सरोकार भएका खेलकुद पदाधिकारी, खेलाडी, सुरक्षा निकायलाई पार्टीले धन्यवाद ज्ञापन गरेको छ । साग खेलकुदमा भएका कमीकमजोरीलाई सच्याउँदै आगामी दिनमा खेलसम्बन्धी भौतिक सामग्री तथा पूर्वाधार व्यवस्थापन र नेपालको खेल क्षेत्रको विकासका निम्ति दीर्घकालीन योजना निर्माण गर्न सरकारको ध्यान आकर्षण गराइएको संयोजक बस्नेतले बताउनुभयो ।

नेपालमा अझै पनि खेल खेलेरै जीवन निर्वाह गर्न सकिने वातावरण निर्माण गर्न नसकिएको वास्तविकतालाई स्वीकार गर्दै आवश्यक नीति निर्माण गर्न पनि पार्टीले माग गरेको छ ।