जनता टाइम्स

३० मंसिर २०७६, सोमबार १४:५५

दुई देशका राजदुतले गरे महिला, बालबालिकामन्त्री गुरुङसँग शिष्टाचार भेट


काठमाडौं, मंसिर ३० । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङसँग नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बड र स्विजरल्याण्डका राजदुत एलिजाबेथ भोन क्याप्लेरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार सिंहदरबारस्थित मन्त्री गुरुङको कार्यकक्षमा भएको संयुक्त शिष्टाचार भेटवार्तामा नेपाल तथा अष्ट्रलिया र स्विजरल्याण्डका द्धीपक्षीय हितका विविध विषयमा छलफल गरिएको हो ।

त्यस अवसरमा मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा हुनेगरी मित्र राष्ट्रहरुसँग मिलेर काम गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउनु भएको थियो । उहाँले महिलाको आर्थिक सशक्तिकरण एवम् बालबालिका, ज्येष्ठ नागरिक एवम् अपांगता भएका व्यक्तिहरुको क्षेत्रमा प्रदेश र स्थानीय तहमा सहकार्य गरेर काम गर्न आवश्यक वातावरण बनाउने पनि राजदुतद्धय बड र क्याप्लेरलाई जानकारी गराउनु भएको थियो ।

मन्त्री गुरुङले अष्ट्रेलिया र स्विजरल्याण्डले नेपालको पूर्वाधार विकास, सामूदायिक वन र सामूदायिक विकास एवम् लघु उद्यमशिलता विकासजस्ता क्षेत्रमा लामो सहकार्यका साथ काम गरेको चर्चा गर्नुहुँदै दुवै मुलुकले नेपालको दीगो विकास र महिलाको सशक्तिकरणको क्षेत्रमा पुर्याएको योगदानप्रति आभार व्यक्त गर्नु भएको थियो । उता राजदुतद्धय बड र क्याप्लेरले पनि मन्त्री गुरुङको कार्यकालको पूर्ण सफलताको कामना गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको उत्थानका लागि नेपालसँगै सहकार्यका साथ काम गर्न आफ्नो मुलुक तत्पर रहेको बताउनु भएको थियो ।

भेटमा राजदुतद्धयले समाज कल्याण परिषदको भावी योजना तथा नीतिगत एवम् कानुनी पुनरावलोकनका विषयमा मन्त्री गुरुङसँग चासो व्यक्त गर्नु भएको थियो । मन्त्री गुरुङले समाज कल्याण परिषदलाई नेपालको बदलिँदो परिवेश अनुसार अझ प्रभावकारी बनाउने गरी कानुनी, नीतिगत एवम् संस्थागत पुनरावलोकनका विषय छलफलको क्रममा रहेको बताउनु भएको थियो ।