काठमाडौं, मंसिर ३० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठकमा १२ जना सदस्यहरुले अध्यक्षको प्रतिवेदनमाथि आफ्नो सुझाव दिएका छन ।
स्थायी कमिटीको जारी चौथो बैठकको दोस्रो दिन आज पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा सुझावसहित आ–आफ्नो धारणा राख्नुभएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा १२ जना सदस्यहरुले अध्यक्षको प्रतिवेदन र संशोधन प्रस्तावमाथि आफ्नो धारणा राख्नुभएको हो । नेकपाले प्रत्येक सदस्यलाई २० मिनेट समय सीमा निर्धारण गरिएको छ ।
आजको बैठकमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले धारणा राख्नुभयो । सवै नेताले प्रस्तुत प्रस्तावहरुमा उल्लेखित वैचारिक, संगठनात्मक र राजनीतिक दिशा एवं विश्लेषण आधारभूत रुपमा सही रहेको धारणा राख्दै कतिपय परिमार्जन र सुधारका लागि सुझावसमेत प्रस्तुत गर्नुभएको छ ।
‘उहाँहरुले संगठन सुदृढीकरण तथा सरकारको कामलाई प्रभावकारी बनाउनसमेत आ–आफ्ना सुझाव राख्नुभएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भन्नुभयो । स्थायी समितिको अर्को बैठक पुस १ गते बिहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्ने नेकपाले जनाएको छ ।
यस्तो छ नेकपाको बिज्ञप्ती
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक दोस्रो दिन आज मिति २०७६ मंसीर ३० गते पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्यो ।
बैठकमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा सुझावसहित आ–आफ्नो धारणा राख्नेक्रम अघि बढेको छ । यस सिलसिलामा स्थायी कमिटीका १२ जना सदस्यहरुले प्रस्तुत प्रतिवेदन र संशोधन प्रस्तावमाथि निर्धारित २० मिनेट समय सीमाभित्र रहेर मन्तव्य राख्नुभएको छ ।
आजको बैठकमा कमरेडहरु वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले प्रस्तुत प्रस्तावहरुमा उल्लेखित वैचारिक, संगठनात्मक र राजनीतिक दिशा एवं विश्लेषण आधारभूत रुपमा सही रहेको धारणा राख्दै कतिपय परिमार्जन र सुधारका लागि सुझावसमेत प्रस्तुत गर्नुभयो । उहाँहरुले संगठन सुदृढीकरण तथा सरकारको कामलाई प्रभावकारी बनाउनसमेत आ–आफ्ना सुझाव राख्नुभएको छ । स्थायी समितिको अर्को बैठक भोलि पुस १ गते बिहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्