जनता टाइम्स

१५ जेष्ठ २०८३, शुक्रबार १७:४८

कर्मचारीको तलब १० प्रतिशत वृद्धि, न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ पुग्ने दाबी 


काठमाडौं, जेठ १५ गते । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले महँगी भत्तालाई निरन्तरता दिँदै सुरुआती स्केलको तलबमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिनुभयो ।

अर्थमन्त्री वाग्लेले कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको मासिक १० प्रतिशत प्रोत्साहन भत्ता व्यवस्था गरिएको पनि बताउनुभयो । उहाँका अनुसार यसरी तलब तथा भत्ता वृद्धि गर्दा हाल खाई पाइआएको पारिश्रमिकमा करिब २१ प्रतिशतसम्म वृद्धि हुने छ ।

उहाँले ग्रेडसहित सरकारी कर्मचारीको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँभन्दा माथिसम्म कायम हुने जानकारी दिनुभयो ।

‘मर्यादित जीवनयापन सुनिश्चित गर्न पारिश्रमिक वृद्धि गरिएको हो,’ अर्थमन्त्री वाग्लेले भन्नुभयो । उहाँका अनुसार नयाँ तलब स्केल आगामी साउन १ गतेदेखि लागू हुनेछ ।

अर्थमन्त्री वाग्लेले रात्रिकालीन सेवा गर्ने नर्सिङ स्टाफहरूको भत्ता दोब्बर गरिएको घोषणा पनि गर्नुभयो । साथै, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको यातायात खर्चमा ५० प्रतिशत वृद्धि गरिएको जानकारी दिनुभयो ।

सरकारले स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राख्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन पारिश्रमिक तथा सुविधा वृद्धि गरिएको जनाएको छ ।