जनता टाइम्स

२१ जेष्ठ २०८३, बिहीबार २०:२७

एमालेजस्तो लोकप्रिय पार्टीको किन भयो अप्रत्याशित पराजय ? 


आफ्नै पार्टीको साथी देख्दा भेट्दा भरलाग्नु पर्नेमा डरलाग्ने अवस्थामा सृजना हुनथाल्यो । कतिपय ठाउँमा पार्टीभित्रको जिम्मेवारीमा रहने चुनाव आउँदा आफ्नो पार्टीको उम्मेदवारलाई हराउन अर्को राजनीतिक दललाई भोट माग्ने (अन्तर्घात गर्ने ) नेतालाई पार्टीले कार्बाहि गर्न नसकेर पार्टी नै निरिह बनेको पनि देखिन थाल्यो । पार्टीभित्रै स्वार्थ समुहको विकास हुन थाल्यो  

टीका पौडेल

विशेषगरी नेपालको भूराजनीतिक संवेदनशीलता र नेपाललाई कमजोर बनाउन बढ्दै गएको बाह्य शक्तिको चलखेल र हस्तक्षेपले नेपालको राजनीतिलाई प्रभाव पार्दै आएको बारे पछिल्ला घटनाक्रमले पुष्टि गर्दै आएका छन । नेपालको लोकतन्त्रलाई कमजोर बनाउन विभिन्न खेलहरू हुँदैगए । पर्दाभित्र रहस्यमय योजनाहरु बन्न थाले । हाम्रो देश विकासको चरणमा अघी बढ्दै थियो । विकासले एउटा लय समातेको थियो । विभिन्न राष्ट्रिय , अन्तर्राष्ट्रिय तथ्यांक , सुचकहरुले यसको पुष्टि गरिसकेका छन ।

तरपनि जनताको अपेक्षा अनुरुप देश विकास जुन रफ्तारमा अघि बढ्नुपर्ने थियो त्यसरी अघी बढ्न नसकेको अवस्य थियो । कमीकमजोरी पनि भएकै थिए । पुराना दलहरुलाई गुण र दोषको आधारमा आलोचना गरिनुपर्नेमा पुराना दलले केही गरेनन्, गर्दैनन् भने भाष्य सृजना गरियो । पुराना दल सबैलाई एउटै डालोमा हालियो । पर्दाभित्रको सुनियोजित योजना अनुरुप नयाँलाई ल्याउन पुराना प्रति वितृष्णा फैलाउन भ्रम ,अफवाह र निराशाको बाढी नै चलाईयो। पछिल्लो समय नेपाली राजनीतिमा ‘एनर्किजम’ (अराजकतावाद) र ‘पपुलिजम’ (लोकप्रियतावाद) लाई प्रमुख हतियार बनाइएको छ। सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूलाई सूचना प्रवाहको माध्यमभन्दा पनि भ्रम र अफवाह फैलाउने कारखानाको रूपमा दुरुपयोग गरिँदै छ ।

यस्तो प्रतिकूल परिस्थितिमा पनि नेकपा (एमाले) ले एक्लै राष्ट्रियता र लोकतन्त्रको पक्षमा देखापरेका चुनौतीहरूको दृढतापूर्वक सामना गर्दै आइरहेको थियो। ठीक त्यही समयमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गर्‍यो। यथार्थमा, त्यो प्रतिबन्ध नेपाली जनताको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध नभएर विदेशी डिजिटल प्लेटफर्महरूलाई नेपालको राष्ट्रिय कानुन र कर प्रणालीको दायरामा ल्याउने एउटा सार्वभौम कदम थियो। तर, यसलाई ‘वाक स्वतन्त्रताको हनन्’ भन्दै गलत भाष्य (Narrative) निर्माण गरियो। नियोजित रूपमा जनतालाई उत्तेजित पारियो र सरकारको छवि धमिल्याउने काम भयो। आक्रमणको समय पर्खेर बसेका अदृश्य सक्तिलाई यो एउटा सुनौलो मौका बन्यो । यहाँनेर एउटा आत्मसमीक्षाको पाटो के हुन सक्छ भने, एकैपटक सबै सञ्जाल बन्द नगरी विकल्पसहित क्रमिक रूपमा अघि बढेको भए यो प्रतिकूल परिस्थिति सिर्जना हुने थिएन कि? भन्ने तर्कलाई पनि राजनीतिक रूपमा अघी बढेको देखिन्छ ।

जेन्जी आन्दोलन र मध्यावधि निर्वाचन 

देशमा योजनाबद्ध विषम परिस्थितीजन्य खतरनाक क्रमबद्ध शृंखलाहरू सृजना गरियो । भाद्र २३ र २४ गते जेन – जी आन्दोलनको आवरणमा दुःखद घटना घटयो । देशमा ठुलो जनधनको क्षतिभयो । नेपाली सेनाको भुमिका समेत शंकास्पद देखियो । जबरजस्त संसद विघटन गराईयो । गैर संवैधानिक सरकार बनाइयो । योजनाबद्ध रूपमा देशलाई मध्यावधी निर्वाचनमा लगियो । राज्य संयन्त्रहरु निरिह बन्दै गएको देखियो । एकाएक अनाधिकृत व्यक्तिहरू राज्य सञ्चालनको प्रमुख भूमिकामा देखापरे । न्यायपालिका समेत न्याय दिन नसकेर निरिह बनेको देखियो । यस्तो परिस्थितिको बिचमा अन्तत: फागुन २१ गते मध्यावधि निर्वाचनको घोषणा गरीयो । नीतिगत रूपमा नेकपा (एमाले) संसद पुनर्स्थापनाको पक्षमा गएको भएपनि ,चुनाव हुनेनै भएपछि अन्तत: चुनावलाई स्वीकार गरेर निर्वाचनमा होमीयो ।

भाद्र २३ र २४ गतेको दुःखद घटना तथा नरसंहारलाई बाहिरी आवरणमा जे देखियो त्यसैको आधारमा एउटा धारणा बनाएको बनेको देखिन्छ । जेन – जी आन्दोलनको भित्री कथा अर्कैछ भन्नेकुरा त्यसपछिका हरेक घटनाक्रमले देखाइरहेका छन् । कालोपर्दा भित्र नदेखिने दृश्यहरू धेरै छन् । त्यसैले हरेक देशभक्त नेपालीले विषय, वस्तुको सारपक्ष (अन्तरवस्तु)लाई बुझ्ने प्रयत्न गर्नुपर्दछ । फागुन २१ गते सम्पन्न मध्यावधि निर्वाचनलाई सामान्य निर्वाचनको रूपमा सोच्यौंभने ठुलो भुल हुनेछ । अहिले निर्वाचन गर्ने समय आएको थिएन। निर्वाचन कसैको माग पनि थिएन । तर भएको प्रतिनिधि सभा विघटन गराएर जबरजस्त देशलाई मध्यावधि निर्वाचनमा लैजानुको पछाडि धेरैकुरा लुकेका छन भन्ने घटनाक्रमले पुष्टि गर्दै गएको छ ।

मध्यावधि निर्वाचन र अप्रत्याशित मत परिणाम

उपरोक्त परिस्थिति सृजना गरी फागुन २१गते चुनाव सम्पन्न भयो । नतिजा अप्रत्यासित आयो । निर्वाचन परिणाम (जनादेश) रास्वपाको पक्षमा गयो । आखिर चुनाव आइसकेपछि नेपाली जनताले एकपटक नयाँदललाई पनि हेर्न खोजेको देखियो । हुनत अहिलेको परिस्थिति निर्माण हुनमा धेरै कारणहरू जिम्मेवार छन । लोकतन्त्रमा जनताको फैसला सर्बोपरी हुन्छ । जनादेश प्रति सम्मान छ । देशले नहारोस् । सामाजिक सद्भाव र त्यसको जगमा उभिएको राष्ट्रिय एकता कमजोर नबनोस् । राष्ट्रियताको रक्षा लोकतन्त्रको समुन्नति ,शुसासन र समृद्धि ल्याउन नयाँ बन्ने सरकारलाई सफलताको शुभकामना व्यक्त गर्दछु ।

तर कमजोरी अरुलाई देखाएर ,अरुपक्षलाई मात्रै दोष लगाएर उम्किने काम गर्नु हुँदैन । कमजोरीहरू आफूभित्रै खोज्नुपर्दछ । एमाले जस्तो बलियो सांगठानिक आधार भएको ,लोकप्रिय कम्युनिष्ट पार्टीले चुनाव हार्नु गम्भीर विषय हो । जनताले कम्युनिष्टहरुलाई पराजित गर्नु वा जनताले कम्युनिष्टहरुलाई नचाहानुलाई साधारण विषय मान्न सकिँदैन ।

चुनावी हारको परिणाम कस्ले लिने ?

चुनावी हारको जिम्मा व्यक्ति विशेषको टाउकोमा थुपार्ने कि नेतृत्व तहबाटैअ सामुहिक जिम्मेवारी लिने? यस विषयमा छलफल र चर्चा हुन आवश्यक छ । नेकपा एमाले जस्तो लोकप्रिय पार्टी आज यो अवस्थामा आइपुग्नु वा अप्रत्यासित अनपेक्षित हारको पछाडी कुनै एउटा व्यक्ति विशेष जिम्मेवार हो वा दोषी हो भनेर ,आरोप लगाएर उम्किन मिल्छ भन्ने मलाई लाग्दैन । यो हारको जिम्मेवारी सिंगो पार्टीले लिनुपर्दछ । अहिले हामी इतिहासकै कठिन मोडमा छौं । ठुलो धक्का खाएका छौ ।

अहिले हाम्रै पार्टीका केही नेताहरुबाट पार्टीभित्र नेतृत्व परिवर्तनको आवाज पनि सतहमा आएका छन। तर, विचार गर्नुपर्ने कुरा के छ भने, महाधिवेशन सम्पन्न भएको तीन महिना नहुँदै नेतृत्व परिवर्तनका कुरा उठान गर्न थालियो । अहिले नेतृत्व परिवर्तनलाई मात्रै सबै समस्याको अचुक औषधी मान्नु राजनीतिक अदूरदर्शिता हुनसक्छ। अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा राष्ट्रियता, विकास र समृद्धिका पक्षमा गरेका ऐतिहासिक काम र राष्ट्रियता प्रतिको अडानकै कारण आज केपी शर्मा ओली र एमालेमाथि चौतर्फी प्रहार र हमला भइरहेको छ भन्ने प्रष्ट रूपमा बुझ्न सकिन्छ । यस्तो सङ्कटको घडीमा हामिले हाम्रो नेतृत्वको संरक्षण गर्नुपर्दछ ।

अहिले पार्टीभित्रै बसेर गहन छलफल गरेर पार्टीलाई सुदृढ बनाउने विषयमा निर्णय गर्नुको साटो केही नेताहरूले लेनिनवादी संगठनात्मक सिद्धान्त र पार्टी अनुशासनको ख्यालै नगरी नेतृत्व परिवर्तनको विषयमा मिडियाबाजी र सामाजिक सञ्जालमा आफ्ना विचारहरू सार्वजानिक गर्नुभएको छ । चुनावी हारको कारण नेतृत्वको टाउकोमा थुपारेर उम्किने प्रवृति राम्रो होइन । यस्तो कार्यले पार्टी पद्धति कमजोर बन्छ । पार्टीभित्र कार्यकर्तालाई निरास बनाउँछ र पार्टीलाई नै कमजोर बनाउँछ । विपक्षी र पार्टी विरोधी शक्तिलाई थप बल पुर्याउने कामगर्छ । एमालेलाई अहिलेको आवश्यकता भनेको एकजुट भएर चुनौतीको सामना गर्नु र सामूहिक सङ्कल्पका साथ पार्टी शुद्धीकरण ,सुदृढीकरण र पुनर्जागरण गर्नसके मात्र पार्टी बलियो बन्नसक्छ ।

आदरणीय पार्टी नेता कमरेडहरुले पार्टीको नेतृत्व तहबाटै सबै मिलेर पार्टीलाई सुदृढ र सबल बनाउने र जनताको विश्वासिलो बन्न ,बनाउन सामुहिक संकल्प गर्नुहोस् । हामी कहाँ कमजोरी गर्यौं ? कहाँ चुक्यौं ? ति सबै विषयमा नेतृत्व तहबाटै गम्भीर आत्मसमीक्षा गर्नुपर्दछ । त्यो आत्मसमीक्षा र आवश्यक करेक्सन श्रद्धेय पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि गर्नुपर्दछ ,अरूले पनि गर्नुपर्दछ । अहिले हटाउने ,फाल्ने भनेको आफ्नो कमजोरी पक्ष हो । कमजोरी पक्ष हटाउँदा पार्टी सबल बन्छ , पार्टी सबल बन्नु भनेको पार्टी बलियो बन्नु हो । त्यसकारण चुनावी हारको मसिनो गरी जरासम्म पुगेर समस्या पत्ता लगाउने तरिका Rootcause analysis गर्न नितान्त आवश्यक छ । यसको पछाडी भूराजनीतिक दन्द ,राष्ट्रिय , अन्तर्राष्ट्रिय कारण र आन्तरिक कारणहरु मुख्य रूपमा जिम्मेवार छन । यी सबैकुराको वस्तुनिष्ठ समीक्षा गरौं।

सिद्धान्त र व्यवहारमा भिन्नता :

सन् १९९० को दशकमा विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बेला कमरेड मदन भण्डारीले मार्क्सवादको सृजनात्मक प्रयोगको रूपमा जबजको सिद्धान्त प्रतिपादन गर्नुभयो ।जबजले मार्क्सवादलाई जडसूत्रका रूपमा नभई समयसापेक्ष र सिर्जनात्मक प्रयोगका रूपमा अघि सार्‍यो। यसले विश्व कम्युनिष्ट आन्दोलनलाई समेत प्रभाव पार्यो। नेपालमा कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्दै अगाडी बढाइयो । जसको कारण नेकपा ( एमाले ) जनताको बीचमा स्थापित लोकप्रिय पार्टी बन्यो । पार्टी सरकारमा पुग्यो । पार्टीले सरकारको नेतृत्व गर्दा प्रभावकारी जनमुखी कामहरु गर्दै आयो ।

राष्ट्रियता प्रतिको अडानदेखी विकास र समृद्धिको क्षेत्रमा एमालेले दीर्घकालीन महत्वका धेरैकामहरु गरेको छ । समृद्ध नेपाल, सुखी नेपाली’ को साझा संकल्प बोकेर एमाले निरन्तर अघी बढिरहेको छ । तर पनि एमाले आँफैले गरेको कामबाट किन जस पाउन सकेन ? यो पनि गहिरो समीक्षाकै विषय हो । अर्कोतिर कम्युनिष्ट बिचारलाई हामिले राजनीतिक आन्दोलनको रुपमा मात्र बुझियो । आजको कम्युनिष्ट आन्दोलन पनि त्यसैगरी अगाडी बढेको देखिन्छ | मैले देखेको प्रमुख समस्या भनेको देशमा सामन्ती राज्य ब्यबस्था फालियो तर सामन्ती चिन्तन फालिएन,पालियो | जसले गर्दा आजको कम्युनिष्ट आन्दोलनमा समस्याहरू देखापरेका छन ।

कम्युनिष्टहरुमा पनि आर्थिक तथा सांस्कृतिक विचलन आउनथाल्यो | सिद्धान्त र व्यवहारमा भिन्नता देखापर्यो । वर्ग चरित्रमा ह्रास आयो । कम्युनिष्ट अनुशासन हराउँदै गएको देखियो । पार्टी कमिटी भित्र राख्ने विचार मिडियामा सार्वजनिक गर्न थालियो । पद तथा गोपनीयताको ख्याल राख्नै छाडियो ।आलोचना आत्मालोचना हुनै छाड्यो । विधि – विधान मानेपनि हुने ,नमानेपनी हुने गर्न थालियो । चुनाव आउँदा पार्टीभित्रैबाट घात ,अन्तर्घात गर्न थालियो । कम्युनिष्ट नेता ,कार्यकर्तामा बर्ग विचलन आउन थाल्यो | संसद बर्ग संघर्षको एउटा थलो अवश्य हो तर बर्ग संघर्षको प्रमुख आधार भनेको आधारभूत तहको समाज हो,सर्वहारा ,श्रमजीवी वर्ग हो | यस विषयमा कम्युनिष्टहरुले ध्यान पुर्याउन नसकेको देखियो | अहिले कम्युनिष्टहरू र गैर कम्युनिष्टहरू बिचमा तात्विक भिन्नता देखिन छाडयो | योग्य भएर पनि आर्थिक रूपमा विपन्न भएका नेता कार्यकर्ताले निर्वाचनमा अवसर नपाउने परिस्थिति सृजना हुँदैगयो ।

एकपटक नेता वा सांसद ,मन्त्री भएपछि बाँचुन्जेल बनिरहनु पर्ने नव सामन्तबादी चिन्तन मौलाउन थाल्यो । हिजो कार्यकर्तालाई पढाएको कम्युनिष्ट शिक्षा र कम्युनिष्ट नेताले गरेको आजको ब्यबहारमा भिन्नता देखिन लाग्यो | गर्ने ,नगर्ने सबैकाम कम्युनिष्ट पार्टीका नेता ,कार्यकर्ताले गरेको देखिन थाल्यो । राजनीति सेवामुखी हुनुपर्नेमा व्यवसाय जस्तो देखिन थाल्यो । आधारभुत तहका जनताले आज यही प्रश्न गरिरहेका छन | कम्युनिष्ट आन्दोलन भित्रै सांगठनिक अराजकता र मौका परस्तबादी चिन्तनले घरगर्न थाल्यो | पार्टीभित्रको साथी भेटिँदा जुन हार्दिकता हुनेपर्ने हो ,जुन आत्मियता वा कमरेडली भावना हुनुपर्ने हो त्यस्तो हुन छाड्यो ।

अन्तत: आफ्नै पार्टीको साथी देख्दा भेट्दा भरलाग्नु पर्नेमा डरलाग्ने अवस्थामा सृजना हुनथाल्यो । कतिपय ठाउँमा पार्टीभित्रको जिम्मेवारीमा रहने चुनाव आउँदा आफ्नो पार्टीको उम्मेदवारलाई हराउन अर्को राजनीतिक दललाई भोट माग्ने (अन्तर्घात गर्ने ) नेतालाई पार्टीले कार्बाहि गर्न नसकेर पार्टी नै निरिह बनेको पनि देखिन थाल्यो । पार्टीभित्रै स्वार्थ समुहको विकास हुन थाल्यो । धेरै ठाउँमा जनप्रतिनिधि र पार्टीबिच समन्वय हुन छाड्यो । जनप्रतिनिधिहरु पार्टीको नीति र घोषणापत्रको आधारमा चल्नुपर्नेमा आफुखुसी चल्न थालेको देखियो ।

अहिलेको निर्वाचनमा हाम्रो भेलामा ,र्यालीमा सहभागी बन्नेहरुले लगायत धेरै ठाउँमा पार्टी सदस्यहरुले नै पार्टीको पक्षमा मतदान नगरेको देखियो । कम्युनिष्ट पार्टी सिद्धान्तत : श्रमजीवी मेहनतकस वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । तर अहिलेको चुनावमा श्रमजीवी वर्गले नै हाम्रो पार्टीलाई पत्याएनन् । उनीहरुले मतदान पनि गरेनन्। चुनावमा आफ्नै कार्यकर्तालाई अघोषित रुपमा किन्नपर्ने अवस्था आइलागेको देखियो । यसले के देखायो भने हामी जनताबाट टाढा भईसकेका रहेछौं ।

जनतासँगको सम्बन्ध टुटी सकेको रहेछ । हाम्रो आन्दोनल क्रमशः विचार बिहिनहरुको भीड जस्तो बन्न थालेको देखियो । हाम्रो पार्टी जनताबाट टाढिँदै गएको देखियो । हाम्रै मान्छेबाट हामीप्रति विश्वास नगरेको,नभएको देखियो । हाम्रो सांगठानिक आधार नै कमजोर बनेको देखियो । यसले कम्युनिष्ट पार्टिलाई कमजोर बनाउँदै गएको छ | निर्वाचन हार्नु परेको छ । यसबाट पार्टीले गम्भीर शिक्षा लीनुपर्दछ | कमिकमजोरी धेरै छन्। सबैले आत्मसाथ गर्नुपर्दछ । आफुलाई कहाँ करेक्सन गर्नुपर्ने हो ? करेक्सन गर्दै , हुँदै अघि बढन सक्नुपर्दछ | समय र घटनाक्रमले नेकपा एमालेलाई दिएको सुझाब पनि यही हो |

निचोड:
हामी समाजबाद उन्मुख यात्रामा छौं । समृद्ध नेपाल ,सुखी नेपाली राज्य व्यवस्था स्थापना गर्ने संकल्प बोकेका छौं । यात्रा अझै धेरै बाँकी छ । एउटा चुनाव हार्दैमा विचार र निष्ठा मर्दैन। यो त केवल एउटा दुर्घटना मात्रै हो , यो नै राजनीतिको अन्त्य होइन। कमीकमजोरीलाई सुधार्दै जाऔँ । घटनाबाट गम्भीर पाठ सिकौं । धैर्य गरौँ , आवेश र उत्तेजना प्रकट नगरौँ ,निरास नबनौं, संयमित बनौ । जनतासँग प्रत्यक्ष जोडीने काम गरौं । जनतासँग टुटेको सम्बन्धलाई जोडने काम गरौं । खासगरी नव युवाहरुको भावना सम्बोधन गर्ने नयाँ संकल्पसहित पुन: सुदृढ र गतिशील संगठन निर्माण गरौं ।

पार्टीलाई पुनर्जागरण गरौं, शुद्धीकरण गरौँ,सुदृढीकरण गरौँ । चुस्तदुरुस्त कमिटी निर्माण गरौं । सामुहिक निर्णय ,व्यक्तिगत जिम्मेवारी बहन गरौँ । गुण र दोषको आधारमा समर्थन वा आलोचना गरौँ । मन पर्दैमा कसैलाई देवत्वकरण नपर्दैमा राक्षसीकरण नगरौँ । विशेष परिस्थितिमा बाहेक कसैलाई पनि २ पटक भन्दा बढी एउटै पदको जिम्मेवारी वा अवसर दिनेकामलाई अन्त्य गरौँ । अन्तरपार्टी एकतालाई बलियो बनाऔं । पार्टीको सांगठनिक सिद्धान्त जनवादी-केन्द्रीयतालाई पालन गरौँ। जबजको मर्म र भावना अनुरुप अगाडि बढौँ। कम्युनिष्ट आचरण र व्यवहार अवलम्बन गरौँ । समय सापेक्षित बन्न सकौं । राजनीतिलाई सेवामुखी बनाऔं । कम्युनिष्ट एकताको पक्षमा अघी बढौ । विश्व इतिहासमा चुनाव हारेर पनि पार्टीहरूले आफूलाई निर्मम समीक्षासहित सुधारेर गौरवपूर्ण पुनरागमन गरेका छन्। आफुलाई करेक्सन गरेर उठेको इतिहाँस छ । इतिहाँसबाट पाठ सिकौं । फेरी उठने हिम्मत गरौँ । यतिगर्नसके फेरी उठ्न सकिन्छ । फेरी विजय प्राप्त गर्न सकिन्छ । भबिष्य हाम्रै हुनेछ ।

(लेखक पौडेल नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य तथा प्रवासी नेपाली संघ भारतका पूर्वमहासचिव हुनुहुन्छ-सं))