जनता टाइम्स

२१ जेष्ठ २०८३, बिहीबार १९:५७

केपी ‘बा’ लाई पत्र : त्यो छुट तपाईंलाई छैन है !


इतिहास साक्षी छ बा, रुख जति फलदार हुन्छ, ढुङ्गाहरू त्यति नै बढी हानिन्छन् । आज तपाईं नेपाली राजनीतिको त्यही फलदार र विशाल बरको रुख हुनुभएको छ, जसलाई ढाल्न बाहिरी हुरीहरू मात्र होइन, आफ्नै फेदमा आश्रय लिएका धमिराहरू समेत उत्तिकै सक्रियताका साथ लागिपरेका छन् ।

डा. सविता खड्का

श्रद्धेय केपी बा,
सादर प्रणाम ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको दिन कोरिएको यो पत्र कुनै सामान्य राजनीतिक टिप्पणीको रुपमा नबुझिदिनु होला । यसलाई एउटा कार्यकर्ताको मनभित्र वर्षौँदेखि जमेको बेचैनी, आक्रोश, सम्मान र आशाको मिश्रित अभिव्यक्तिको रुपमा बुझिदिनु होला । यो चिठी कुनै अन्धभक्तिको प्रदर्शन गरेर लेखिएको होइन । कुनै राजनीतिक पद, लाभ वा पहुँचको आकांक्षाबाट लेखिएको निवेदन पनि होइन । यो त देशको राजनीतिक उतारचढाव, आन्दोलन, बलिदान, विश्वासघात, डिजिटल भ्रम र जनताको पीडालाई नजीकबाट देख्दै हुर्किएको एउटा पुस्ताको आवाज हो ।

बा, आजको नेपालमा दुईवटा समाजहरू प्रष्ट देखिएका छन । एउटा समाजमा गाउँका धुलाम्मे बाटाहरू, पसिनाले भिजेका खेतबारी, विदेशिन बाध्य युवाहरू, भत्किएका सपना र संघर्षरत नागरिकहरूको वास्तविक जीवन र त्यो जीवनलाई बदल्ने सोच र अठोट छ । अर्को समाजमा फेसबुक, टिकटक, युट्युब, रिल्स र एल्गोरिदमले बनाएको कृत्रिम संसार, जहाँ रमाइलोको नाममा भ्रम, कृतिमता र सस्तो लोकप्रियताको पाखण्डपन छ । यी दुई समाजको बिचमा खतरनाक दूरी सिर्जना भएको छ । वर्तमानमा मान्छेहरू वास्तविक समाजको अनुभवभन्दा बढी डिजिटल क्लिपमा विश्वास गर्न थालेका छन् । विगत केही समययता देशमा अध्ययनभन्दा उत्तेजना बिक्न थालेको छ ।

बा, आजको संसारलाई परम्परागत राजनीतिले मात्र होइन, डिजिटल राजनीतिले पनि चलाइरहेको छ । अहिले सूचना बजारको वस्तु बनेको छ । जनमत पनि किनबेचको सामग्री बनेको छ । विवेकको किनवेच सबैभन्दा ठूलो व्यापार भएको छ । त्यसैले त यतिवेला फेसबुक, टिकटक, एक्स र युट्युबजस्ता प्लेटफर्महरू सामाजिक सञ्जाल मात्र होइनन, ती विश्वव्यापी आर्थिक र राजनीतिक शक्ति संरचनाका महत्वपूर्ण हिस्सा बनिसकेका छन् । एल्गोरिदमले मानिसको मनोविज्ञान बेचिरहेको छ । हिजोआज यस्ता सामाजिक प्लेटफर्महरूमा रिस, डर, घृणा, सनसनी र सामाजिक विभाजनलाई बढावा दिने सामग्रीहरू सबैभन्दा छिटो विक्छन् । बढी क्लिक, समय र विज्ञापनको आजको डिजिटल संसार सत्यभन्दा पनि भ्रममा चलिरहेको छ । हिजोआज डिजिटल प्लेटफर्म पुँँजीवादको सबैभन्दा खतरनाक हतियार बनेर विश्वसामु उभिएको छ । जसले मान्छेको चेतनालाई बजारमा रूपान्तरण गरिदिएको छ ।

आज मानिसहरूको राजनीतिक धारणा, उनीहरूको प्रत्यक्ष अनुभव र विचारले होइन, एल्गोरिदमले निर्माण गरिरहेको छ । कुन भिडियो देखाउने, कुन विषय भाइरल बनाउने, कसलाई राष्ट्रवादी देखाउने, कसलाई भ्रष्ट देखाउने, कसलाई हाँस्यको पात्र बनाउने ? यी सबै कुरा डिजिटल प्लेटफर्मको संरचना र त्यसमा लगानी गर्ने शक्ति समूहहरूले निर्धारण गरिरहेका छन । त्यसैले आजका डिजिटल प्लेटफर्महरू सञ्चार माध्यम मात्रै होइनन्, ती भ्रमका माध्यमबाट जनमत निर्माण गर्ने अदृश्य राजनीतिक कारखाना बनिरहेका छन् ।

कस्तो विडम्बना बा ! तपाईंले रगत र पसिना बगाएर रोपेको विकासको त्यो सुनौलो फसल अर्कैले काटन खोजेका छन । तपाईंले देशका लागि विकासको जुन बलियो जग बसाल्नुभयो, विरोधीहरू त्यही जगमा उभिएर आज सत्ताको स्वाद चाखिरहेका छन् । तपाईंलाई सत्तोसराप गर्नेहरू नै तपाईंले बनाएका चिल्ला सडकमा गुड्छन्, तपाईंले ल्याएको मेलम्चीको पानी खान्छन् र घाँटी भिजाएर तपाईंकै विरुद्ध विषवमन गर्छन् । 

हिजोआज विश्वका ठूला विश्वविद्यालयहरूमा एआई, डिसइन्फर्मेसन, बोट नेटवर्क, एल्गोरिदेमीक प्रचार र डिजिटल प्रभुत्वले लोकतन्त्र र सामाजिक जीवनलाई कसरी कमजोर बनाइरहेको छ भन्ने विषयमा गम्भीर अध्ययन र बहश भइरहेको छ । कृत्रिम बुद्धिमत्ता, बोट स्वार्म, ट्रोल नेटवर्क र माइक्रो टार्गेटिङमार्फत समाजलाई ध्रुवीकृत गर्ने, चुनाव प्रभावित गर्ने र नेतृत्वको छवि ध्वस्त पार्ने काम विश्वव्यापी रूपमा भइरहेको छ भन्ने विषयमा संसारका बुद्धिजीविहरू चिन्तित बनिरहेका छन् ।

तर, नेपालमा त्यो बहश अझै संस्थागत भइसकेको छैन, त्यसैले त यसको प्रभाव सडकदेखि संसदसम्म फैलिरहेको छ । आज डिजिटल प्लेटफर्महरू केवल मनोरञ्जनका माध्यम रहेनन, तिनले जनमत निर्माण गर्ने, चरित्र हत्या गर्ने, भ्रम फैलाउने र समाजलाई विभाजित गर्ने शक्तिशाली औजारको रूपमा विकसित भैरहेका छन् । त्यसैले वर्तमान समाजको अर्थराजनीतिक स्वरुप फेरिदैँ गएको छ । हाम्रा उत्पादन सम्वन्धहरू फेरिदैँ गएका छन् । हिजोको पूँजीमा डिजिटल ल्पेटफर्म थिएन, उत्पादक शक्तिमा अल्गोरिदम थिएन । आजको राजनीतिक अर्थशास्त्रमा यी पक्षहरू पनि थपिएका छन् ।

बा, आज मानिसहरू सत्यभन्दा बढी कन्टेन्ट हेर्छन् । प्रमाणभन्दा बढी भ्यूजमा विश्वास गर्छन् । चरित्रभन्दा बढी ट्रेन्डिङलाई महत्व दिन्छन् । यही मानसिकताले तपाईंजस्ता नेताहरूलाई बुझ्ने धीरता समाजले बिस्तारै गुमाउँदै गएको छ । तपाईंका कमजोरीहरूमा आलोचना मानिसहरूले हा्ेइन्, अल्गोरिदमले गर्छ । यही भ्रमका कारण तपाईंको योगदान र ऐतिहासिक भूमिकालाई निष्पक्ष भएर मूल्याङ्कन गर्नेहरू कम हुँदै गएका हुन सक्छन । तर यो साँचो कुरा होइन, डिजिटल दुनियाँले सीर्जना गरेको भ्रम मात्र हो ।

बा, मलाई कहिलेकाहीँ लाग्छ, अल्गोरिदमले सीर्जना गरेका कन्टेण्टबाट बाहिर नआउञ्जेल यो समाजले तपाईंलाई पूर्णरूपमा बुझने छैन । जुन दिन यो देशले नेतृत्वहीनता, संस्थागत विघटन, आर्थिक अस्थिरता र डिजिटल भ्रमको वास्तविक मूल्य चुकाउन थाल्नेछ, त्यही दिन मानिसहरूले तपाईंको राजनीतिक उचाइ र अडानलाई नयाँ दृष्टिले हेर्नेछन् । तर त्यतिबेला धेरै ढिला भइसकेको हुनेछ, किनकी देश हारिसकेपछिको मानिसहरूको बुझाई डेटस्पायर औषधी जस्तो बन्नेछ । न्याउरी मारी पछुतोजस्तो मात्रै हुनेछ ।

बा, फेसबुकमा ५ हजार भर्चुअल साथी हुनुभन्दा आफ्नो वडाका ५ सय जना भुइँमान्छेसँग नामै काँढेर बोल्न सक्ने सम्बन्ध हुनु नै वास्तविक मैदानको राजनीति हो । तर मानिसहरू अहिले मैदानको राजनीति छोडेर डिजिटल राजनीतिमा पहुँच राख्न खोजिरहेका छन । जब हामी स्क्रिनबाट आँखा हटाएर माटोमा आँखा गाड्दा देखिने राजनीतिले मात्र हाम्रो वास्तविक समाज बुझन र बुझाउन सक्दैनौ नि, यहाँ देशभक्तहरूलाई हराउन कोशिस भैरहनेछ र पुँजीवादी दुनियाँले सिर्जना गरेको अल्गोरिदमले जितिरहने छ । तर यसको प्रहार केपी ओलीलाई मात्रै होइन, सवै देशभक्तहरूलाई हुनसक्छ भनेर अहिलेका राजनीति गछौ भन्नेहरूलाई कसले भन्दिछ बा ?

बा, तपाईंको जीवनको सबैभन्दा ठूलो परिचय प्रधानमन्त्री पद थिएन र होइन पनि । तपाईंको वास्तविक परिचय संघर्ष हो, जेल जीवन हो, त्याग हो र एउटा अडिग राजनीतिक यात्राको निरन्तर आफनै प्रवाहमा बगिरहने इतिहास हो, नशन फस्ट देन अदरको बास्तविक अनुभुति हो । आफ्नो विचार, लोकतन्त्र र राष्ट्रिय अडानको जगमा ठिङ्ग उभिएर परिवर्तनका लागि १४ वर्ष जेल जीवन बिताउनु भनेको के हो ? रौतहटको गौरदेखि पोखरा र केन्द्रीय कारागारसम्मको तपाईंको जेलयात्रा कुनै सामान्य राजनीतिक कथा होइन ।

विशेष गरी गोलघरको त्यो अमानवीय कालकोठरी, जहाँ घामको झुल्को देख्न पनि कठिन थियो, जहाँ सास फेर्न समेत सत्ता डराउँथ्यो । त्यो इतिहास सम्झँदा आङ सिरिङ्ग हुन्छ । त्यहाँ तपाईंले केवल शरीरको पीडा होइन, मानसिक यातना पनि भोग्नुभयो। तर तपाईं टुट्नुभएन, तपाईंले आफ्नो विचार छोड्नु भएन । तर गज्जवको कुरो के छ भने हिजो कुनै आन्दोलनको धुलो नछोएका, एक घण्टा हिरासतसमेत नबसेका, पुलिसको एउटा लाठी नखाएका र संघर्षको अर्थ नबुझेका मानिसहरू आज नेता बनेर पुस्तान्तरणको गफ चुटेर तपाईंको त्यागमाथि टिप्पणी गरिरहेका छन् । सामाजिक सञ्जालमा एउटा पोस्ट लेखेर आफूलाई क्रान्तिकारी ठान्नेहरू जीवन नै दाउमा राखेर देश परिवर्तनका लागि १४ वर्ष जेल बसेको मानिसको राजनीतिक उचाइ नाप्न खोजिरहेका छन ।

जसले विरामी भएको देशलाई निको बनाउन एउटा सिटामोलसम्म त्याग गरेन, उसले तपाईंलाई राष्ट्रवाद सिकाउन खोजेको दृश्य आज निकै हास्यास्पद छ । यो तपाईंमाथिको प्रहार होइन; यो संघर्षको इतिहासमाथिको अपमान हो । मिम र ट्रोलले मापन गर्न थालेको आजको राजनीति यति सतही भएको छ कि त्यहाँ बलिदानी राजनीतिको मूल्यको अर्थ खोज्न पनि निकै कठिन छ ।
बा, तपाईंको नेतृत्वमा नेपालले विकास र आत्मविश्वासको नयाँ भाष्य निर्माण गर्ने प्रयास गरेको थियो ।

मेलम्चीको पानी काठमाडौं ल्याउने सपना दशकौँसम्म भाषणमा सीमित थियो । कृष्णप्रसाद भट्टराईले सपना देखे तर तपाईंको कार्यकालमा त्यो सपना वास्तविकतामा बदलियो । तपाईंको कार्यकालमा नेपालले विकास र स्वाभिमानको जेजति उचाइ छोयो, त्यो इतिहासको सुनौलो अक्षरमा लेखिइसकेको छ । मेलम्चीको पानी काठमाडौंको धारामा खसाल्ने ऐतिहासिक साहस तपाईंकै थियो । भूकम्पले भत्काएको सिंहदरबार, रानीपोखरी र ढल्किएको धरहरालाई ठड्याएर हामी आफैँ बनाउन सक्छौँ भन्ने आत्मविश्वास भर्ने काम तपाईंकै परिकल्पना थियो । देशलाई तुइनमुक्त बनाउने, रणनीतिक सडकहरू खन्ने र नेपाललाई सुरुङ युगमा प्रवेश गराउने द्रष्टा तपाईं नै हुनुहुन्छ ।

तर विडम्बना बा ! तपाईंले रगत र पसिना बगाएर रोपेको विकासको त्यो सुनौलो फसल अर्कैले काटन खोजेका छन । तपाईंले देशका लागि विकासको जुन बलियो जग बसाल्नुभयो, विरोधीहरू त्यही जगमा उभिएर आज सत्ताको स्वाद चाखिरहेका छन् । तपाईंलाई सत्तोसराप गर्नेहरू नै तपाईंले बनाएका चिल्ला सडकमा गुड्छन्, तपाईंले ल्याएको मेलम्चीको पानी खान्छन् र घाँटी भिजाएर तपाईंकै विरुद्ध विषवमन गर्छन् । तपाईंले राष्ट्रिय स्वाभिमानको जुन नयाँ मानक स्थापित गरिदिनुभयो, त्यही उचाइको छाँयामा ओत लागेर आज कायरहरू विदेशीसँग सौदाबाजी गरिरहेका छन् ।

बा, मलाई सबैभन्दा बढी घृणा र अचम्म ती मान्छेहरूसँग लाग्छ, जो हिजो तपाईंकै नामको ’ब्रान्ड’ बेचेर संसदमा पुगे, तपाईंकै निगाहमा मन्त्रीको कुर्सीमा बसे र रातो बत्ती बालेर हिँडे । तपाईंको छहारीमा बस्दा उनीहरूलाई शितल भयो, तपाईंकै आशीर्वादले उनीहरूको राजनीतिक कद बढेर गयो । तर आज, स्वार्थको एउटा सानो त्यान्द्रो चुँडिने बित्तिकै तिनै मान्छेहरू टेलिभिजनका पर्दामा र सडकका मञ्चहरूमा उभिएर तपाईंमाथि धारेहात लगाउँदै छन् । के यो न्यायसङ्गत हो त बा ?

बा, अल्गोरिदम अहिले तपाईको पक्षमा छैन । विरोधीहरूको पक्षमा छ । नेपाली राजनीतिमा आज विचारभन्दा अवसरवाद बलियो भएको छ । निष्ठा भन्दा समीकरण ठूलो भएको छ । मानिसहरू सिद्धान्तका लागि होइन, पहुँचका लागि राजनीतिमा आएका छन्। अचम्म त के छ भने, तपाईमाथिको घेराबन्दी केवल बाहिरका दृश्य शत्रुहरूले मात्र गरेका छैनन्, बरु तपाईंकै छहारीमा ओत लागेर हुर्किएका, तपाईंकै गोडमेलबाट अलिकति हरियो हुन पाएका भित्री घेराका मानिसहरूबाट समेत तपाईंको हुर्मत लिने प्रयास भइरहेको छ । इतिहास साक्षी छ बा, रुख जति फलदार हुन्छ, ढुङ्गाहरू त्यति नै बढी हानिन्छन् । आज तपाईं नेपाली राजनीतिको त्यही फलदार र विशाल बरको रुख हुनुभएको छ, जसलाई ढाल्न बाहिरी हुरीहरू मात्र होइन, आफ्नै फेदमा आश्रय लिएका धमिराहरू समेत उत्तिकै सक्रियताका साथ लागिपरेका छन् ।

बा, तपाईंलाई यो अवस्थामा कसरी पुर्याइयो ? र किन हरेक कोणबाट तारो बनाइयो ? भन्ने कुराको विश्लेषण गर्दा मेरो मन कटक्क खान्छ । तपाईंलाई घेर्नुका पछाडि भित्री ईष्र्या र बाहिरी भू–राजनीतिक स्वार्थका यस्ता अजङ्गका पहाडहरू छन्, जसको चेपुवामा परेर देशको वास्तविकता र युवाका सपनाहरू निसास्सिएका छन् । तपाईंलाई सत्ताच्युत गर्न र घेर्नुको मुख्य कारण तपाईंले बाह्य शक्तिको इसारामा एस म्यान बन्न अस्वीकार गर्नु नै हो । बा, मलाई सबैभन्दा बढी घृणा र अचम्म ती मान्छेहरूसँग लाग्छ, जो हिजो तपाईंकै नामको ’ब्रान्ड’ बेचेर संसदमा पुगे, तपाईंकै निगाहमा मन्त्रीको कुर्सीमा बसे र रातो बत्ती बालेर हिँडे । तपाईंको छहारीमा बस्दा उनीहरूलाई शितल भयो, तपाईंकै आशीर्वादले उनीहरूको राजनीतिक कद बढेर गयो । तर आज, स्वार्थको एउटा सानो त्यान्द्रो चुँडिने बित्तिकै तिनै मान्छेहरू टेलिभिजनका पर्दामा र सडकका मञ्चहरूमा उभिएर तपाईंमाथि धारेहात लगाउँदै छन् । के यो न्यायसङ्गत हो त बा ?

जसले जीवनभर तपाईंको फेर समातेर राजनीति सिके, उनीहरू आज तपाईंको नैतिकतामाथि प्रश्न उठाउँदै छन् । रुख बैँसमा हुँदा शितल तापे, ओत लागे, फल खाए, तर जब समयको चक्रसँगै हिउँद आयो, उनीहरूले तपाईंलाई ’पहेँलो पात’ भएको रुख ठाने । उनीहरूले सोचे अब यो रुखमा ओत लागेर फाइदा छैन, यसको फेदै काटेर नयाँ ठाउँमा ओत लाग्न जानुपर्छ । तर तिनलाई के थाहा, केपी ओली पहेँलो पात भएको रुख होइन, हिउँदमा पात झारेर वसन्तमा झन् नयाँ पालुवासहित ब्युँतिने सालको रुख हो ! बा, अब समय आएको छ, ती पुराना, कुहिएका र पहेँला पातहरूलाई जरैदेखि झारेर नयाँ मुना र अङ्कुरहरू पलाउने वातावरण बनाउनै पर्छ । जसले तपाईंलाई सङ्कटमा छोडे, तिनलाई इतिहासको डस्टबिनमा फाल्नै पर्छ ।

बा, इतिहासमा सबैभन्दा ठूलो दुर्भाग्य के हुन्छ भने त्याग गर्नेहरूलाई उनीहरूको समयले प्रायः न्याय गर्दैन । तपाईंको यात्रा पनि त्यस्तै बनाउन खोजिएको छ । तपाईंबाट राजनीतिक गल्तीहरू पनि भएका होलान्, तर तपाईंको ऐतिहासिक योगदानलाई नकार्न खोज्नु भनेको नेपालको राजनीतिक इतिहासलाई नै अपमान गर्नु हो । राजनीतिमा विरोध हुनु स्वाभाविक हो । विचार फरक हुनु लोकतन्त्रको सुन्दरता हो । तर सबैभन्दा पीडा त्यतिबेला हुन्छ, जब तपाईंकै काँध चढेर माथि पुगेका मानिसहरू तपाईंकै विरुद्ध विषवमन गर्न थाल्छन् । आज तपाईंको वरिपरि देखिएको सबैभन्दा ठूलो विडम्बना यही हो । तपाईंकै संरक्षणमा अवसर पाएका, तपाईंकै कारण जनताले चिनेका, तपाईंकै नाम बेचेर पद र शक्ति हाँसिल गरेका मानिसहरू आज आफूलाई तपाईंभन्दा ठूलो सिद्ध गर्न खोजिरहेका छन् । हिजो बालकोटको दैलोमा घण्टौँ लाइन लाग्नेहरू, ‘बा’ भन्दै श्रद्धा व्यक्त गर्नेहरू, तपाईंको एउटा मुस्कानलाई राजनीतिक आशिर्वाद मान्नेहरू आज अचानक अवसरवादको मुखुण्डो ओढेर विद्रोही वन्न खोजिरहेका छन् । के उनीहरूको विचार साँच्चै बदलिएको हो वा स्वार्थको दिशा मात्र फेरिएको हो ?

स्वार्थ मिलेसम्म निष्ठावान् देखिने र स्वार्थ चुँडिएपछि विद्रोही बन्ने संस्कार सामान्य बनेको छ आजभोलि । तपाईंमाथि प्रहार गर्नेहरूमध्ये धेरैको राजनीतिक परिचय तपाईंले निर्माण गर्नुभएको हो । तर आज उनीहरू आफूलाई स्वतन्त्र शक्ति ठानिरहेका छन् । यो दृश्य केवल व्यक्तिगत कृतघ्नता होइन, यो हाम्रो राजनीतिक संस्कृतिको गम्भीर नैतिक पतन हो । कहिलेकाहीँ लाग्छ, तपाईंको सबैभन्दा ठूलो कमजोरी पनि यही रह्यो, तपाईंले धेरैलाई छिट्टै विश्वास गर्नुभयो । धेरैलाई अवसर दिनुभयो । तर तपाईंले राजनीतिक रूपमा जन्माएका मानिसहरूले नै तपाईंमाथि सबैभन्दा कठोर प्रहार गर्न खोजिरहेका छन् । इतिहासमा पनि ठूला नेताहरूलाई बाहिरी शत्रुभन्दा नजिकका मानिसहरूले बढी चोट दिएका उदाहरण प्रशस्तै छन् । तर एउटा कुरा स्पष्ट छ, मानिसहरूले पद बिर्सिन सक्छन्, तर इतिहासमा कसले कसलाई बनायो, कसले कसलाई धोका दियो भन्ने कुरा कहिल्यै बिर्सदैन ।

बा, तपाईंमाथि प्रहार हुँदा एउटा नेतामाथि मात्र आक्रमण हुँदैन, त्यसले लाखौँ कार्यकर्ताको मनोबललाई पनि असर गर्छ । गाउँ–गाउँमा दशकौँदेखि पार्टीको झण्डा बोकेर हिँडेका कार्यकर्ताहरू आज गहिरो मानसिक द्वन्द्वमा छन् । हिजो जसलाई आफ्नो मान्छे भनेर चिनिन्थ्यो, उसैले नेतृत्वमाथि प्रहार गर्दा कार्यकर्ताको मन कुँडिएको छ । उनीहरू सोच्छन, यदि आफ्नै मान्छेहरू यति सजिलै बदलिन सक्छन् भने निष्ठाको अर्थ के रह्यो र ?

आज एमालेभित्र एउटा अनौठो उदासी छ बा । बाहिरबाट हेर्दा संगठन बलियो देखिएला, तर भित्र कार्यकर्ताहरूमा गहिरो असुरक्षा र निराशा बढेको छ । उनीहरूलाई लाग्छ, संघर्ष गर्नेहरू पछाडि परिरहेका छन्, अवसरवादीहरू अगाडि आइरहेका छन् । तपाईंमाथि हुने प्रत्येक प्रहारले नेतृत्वलाई होइन, आन्दोलनको आत्मविश्वासलाई पनि कमजोर बनाएको छ । कार्यकर्ताहरूले तपाईंमा एउटा अभिभावकत्व देखेका छन् । तपाईं कमजोर देखिँदा उनीहरूलाई आफ्नो राजनीतिक भविष्य नै असुरक्षित भएको अनुभव हुन्छ । तपाईंले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने विचार अगाडि सार्नुभयो । तपाईंले राष्ट्रलाई ठूलो सपना देखाउने साहस गर्नुभयो । आज धेरै नेतासत्ता जोगाउने राजनीतिमा सीमित छन । देशमा राष्ट्रिय दृष्टिकोण दिने नेतृत्व दुर्लभ हुँदै गएको छ । तपाइले रोपेको विचारमा अरु मानिस नेता बन्न खोजिरहेका छन् । तपाईंले बनाएको संरचनाको राजनीतिक लाभ अरूले लिइरहेका छन् ।

बा, तपाईंमाथि आलोचना गर्नेहरूमध्ये कतिपय मानिसहरू यस्ता पनि देखिए, जसले राष्ट्रहितभन्दा बाह्य शक्ति केन्द्रको रुचिलाई बढी प्राथमिकता दिएका छन् । तपाईंले अन्र्तराष्ट्रिय सन्तुलन मिलाउन विश्वास गरेर जिम्मेवारी दिएका केही मानिसहरू नै पछि सूचना बेच्ने, आन्तरिक रणनीति बाहिर पुर्याउने, विदेशी शक्ति केन्द्रको संकेतमा राजनीति गर्ने र राष्ट्रिय हितभन्दा व्यक्तिगत करिअर सुरक्षित गर्ने दिशामा उनीहरूले काम गर्ने गरेको प्रमाणहरू हामीवीच यथेष्ठ छन् । यो राज्यभित्रै विकसित भएको गम्भीर अविश्वासको संकेत थियो । तपाईंले आफ्नो वरिपरि राखेका कतिपय मानिसहरू नै पछि भूराजनीतिक शक्तिहरूको आरती गर्ने, राष्ट्रिय बहसभन्दा बाह्य स्वार्थको भाषा बोल्ने र अवसर अनुसार निष्ठा बदल्ने पात्रका रूपमा देखिन थाले। यो उनीहरूको बाध्यता थियो । किनकी उनीहरू पहिले नै भूराजनीति चपेटाको जुठोपुरोको छोइछिटोमा परिसकेका थिए ।

नेपाल कमजोर होस्, देश निर्णय क्षमताविहीन होस् र सधैँ बाह्य शक्तिको प्रभावमा रहोस् भन्ने चाहना राख्ने शक्तिहरू पनि विश्व राजनीतिमा छन नै । जब कुनै नेतृत्वले राष्ट्रिय स्रोत, सीमा र स्वाभिमानको कुरा गर्छ नि, त्यतिबेला ऊमाथि विभिन्न माध्यमबाट प्रहार सुरु हुन्छ, कहिले राजनीतिक रूपमा, कहिले डिजिटल प्रचारमार्फत, कहिले आफ्नै नजिकका मानिसहरूको प्रयोग गरेर।आजको संसारमा युद्ध केवल बन्दुकले हुँदैन बा । सूचना, प्रचार, एल्गोरिदम, एनजिओ नेटवर्क, साइबर प्रभाव, ट्रोल समूह र मनोवैज्ञानिक अभियानमार्फत पनि राष्ट्रहरू कमजोर बनाइन्छन् । एउटा नेतृत्वलाई प्रत्यक्ष हराउन नसकिएपछि उसको चरित्रमाथि हमला गरिन्छ, भ्रम फैलाइन्छ, आफ्नै मान्छेहरूलाई फुटाइन्छ र समाजमा अविश्वास सिर्जना गरिन्छ । तपाईंको राजनीतिक यात्रामा पनि यस्ता धेरै तहका संघर्षहरू देखिन्छन् । यतिवेला तपाई कमजोर होइन बा, तपाईंलाई समर्थन गर्नेहरूका लागि तपाईं केवल एउटा नेता मात्र बन्नु भएको छैन, बाह्य दबाबका बीच राष्ट्रिय अडान लिने प्रतीक पनि बन्नुभएको छ ।

बा, आज नेपालको सबैभन्दा ठूलो संकट संस्थागत क्षयीकरण हो । हिजोआज राज्यका संरचनाहरू बिस्तारै कमजोर हुँदै गएका छन् । स्थानीय तहदेखि केन्द्रसम्म नीतिभन्दा पहुँच बलियो भएको छ । कर्मचारीतन्त्र निरीह छ, युवाहरू निराश छन्। विश्वविद्यालयहरू प्राज्ञिक क्षमतामा स्खलित बन्दै गएका छन । सदनमा विचारको बहश कम, आरोप–प्रत्यारोप र शारिरीक हाउभाउ बढी सुनिन्छ, देखिन थालेको छ । यो समयमा योग्यता–क्षमता र कामभन्दा प्रचार महत्वपूर्ण बनेको छ । अध्ययनशील राजनीतिज्ञहरू किनारामा परिरहेका छन्, चर्को आवाज निकाल्नेहरू लोकप्रिय बनेका छन् ।

बा, आज नेपालका युवाहरूको मनमा सबैभन्दा ठूलो प्रश्न छ, यो देशमा भविष्य छ कि छैन ?गाउँ खाली हुँदै गएका छन् । युवाहरू खाडी, कोरिया, जापान, युरोप र अमेरिकातिर भागिरहेका छन् । विश्वविद्यालयका कक्षाहरूमा कोर्षभन्दा भाषा कक्षाहरू वढी पढाइन्छ । युवाहरूको सपना अब देश बनाउने होइन, देश छोड्ने भएको छ । यो अवस्था आर्थिक समस्या मात्रै होइन, यो देशप्रति आत्मविश्वासको संकट हो । यतिवेला मानिसहरूलाई राज्यप्रति भरोसा कम हुँदै गएको छ । मेहनत गरेर पनि अवसर पाइँदैन भन्ने भावना गहिरिँदै गएको छ । स्वदेशी उद्योगहरू आफनो जीवन जोगाउन संघर्ष गरिरहेका छन् । देशको नीति अस्थिर छ । उत्पादनभन्दा आयातमुखी अर्थतन्त्र बलियो भएको छ । विदेशी ऋण र परियोजनामाथिको निर्भरता बढ्दै गएको छ ।

बा, यस्तो समयमा राष्ट्रवादी आत्मविश्वास दिने नेतृत्वको आवश्यकता झन् बढ्छ । तपाईंको सबैभन्दा ठूलो शक्ति यही रह्यो, तपाईंले नेपालीलाई सानो देशको नागरिक होइन, स्वाभिमानी राष्ट्रको नागरिकको रूपमा सोच्न सिकाउनु भयो । तर आज समाजमा आत्मविश्वासभन्दा निराशा बढी छ । यही निराशालाई डिजिटल भ्रमले झन् खतरनाक बनाइरहेको छ ।

बा, आज केही मानिसहरू केपी ओली हटेपछि एमाले बलियो हुन्छ भन्ने निष्कर्ष निकालिरहेका छन् । तर, नेतृत्व केवल संगठनात्मक पद होइन, त्यो एउटा राजनीतिक प्रतीक पनि हो भन्ने कुरा उनीहरूले बुझिरहेका छैनन । तपाईं एमालेका लागि केवल अध्यक्ष मात्र होइन, विचारको केन्द्र पनि हुनुहुन्छ । तपाईंको संवाद शैली, राष्ट्रवादी अडान र जनतासँग प्रत्यक्ष जोडिने क्षमताले एमालेको पहिचान निर्माण गरेको कुरा किन बुझदैनन् तपाईको विरोध गर्ने पार्टीभित्रका मान्छेहरू ? तपाईंलाई हटाएर पार्टी बलियो हुन्छ भन्ने सोच त्यति सरल छैन । पार्टीहरू संरचनाले चल्दैनन, तिनलाई इतिहासको कथा वा त्याग, प्रतीक र भावनाले पनि बाँधेको हुन्छ । कसले बुझाइ दिन्छ ती मान्छेहरूलाई यो यथार्थता ? हिजोआज मान्छेहरू नयाँ पुस्ताको कुरा गर्छन, नेतृत्व हस्तान्तरण कुरा गर्छन तर हस्तान्तरण र विस्थापन एउटै कुरा होइन । अनुभव र नयाँ ऊर्जाबीच सन्तुलन चाहिन्छ भन्ने कुरा कसले बुझाई दिने हो तिनीहरूलाई ।

बा, नेपालको कम्युनिस्ट आन्दोलन अहिले संक्रमणको चरणमा छ । यस्तो बेला नेतृत्वको स्थिरता र वैचारिक स्पष्टता अझ आवश्यक हुन्छ । आजको समय तत्काल प्रतिक्रिया दिने समय हो । मानिसहरू अध्ययन कम गर्छन्, निष्कर्ष छिटो निकाल्छन । एउटा भाइरल क्लिपले वर्षौंको योगदान ढाकिदिने सयम हो यो । यही कारणले आजको राजनीति अत्यन्त अस्थिर र भावनात्मक बनेको छ।तर इतिहास डिजिटल ट्रेन्डजस्तो हुँदैन । इतिहासले ढिलो निर्णय गर्छ, तर गहिरो निर्णय गर्छ ।

आज तपाईंको आलोचना गर्ने धेरै मानिसहरूले सायद भोलि तपाईंको योगदानलाई नयाँ दृष्टिले हेर्न बाध्य हुनेछन । जब देशका लोकतान्त्रिक संस्थाहरू कमजोर हुन्छन्, राष्ट्रवाद केवल नारामा सीमित हुन्छ, नेतृत्व प्रचारमा सिमित हुन्छ, त्यतिबेला समाजले अघिल्लो पुस्ताका नेताहरूलाई फेरि सम्झिन्छ । तपाईंको राजनीतिक यात्राको मूल्याङ्कन पनि अन्ततः यही ऐतिहासिक प्रक्रियाले गर्नेछ । आजको समयमा राजनीतिको सबैभन्दा ठूलो प्रश्न सम्पूर्ण लोकतान्त्रिक प्रणालीको जवाफदेहितासँग जोडिएको छ ।

राज्यका निर्णय, शक्ति प्रयोग र नागरिक अधिकारको संरक्षणप्रति प्रश्न उठ्दा त्यसको जवाफ दिने जिम्मेवारी एउटा पक्षको मात्र हुँदैन । नागरिक समाज, पेशागत संगठन, ट्रेड युनियन, पत्रकारिता र राजनीतिक दलहरू सबै मिलेर लोकतान्त्रिक उत्तरदायित्वलाई जीवित राख्ने हो। तर वास्तविकता सरकारका कदमहरूबारे बोल्ने, अन्यायका विरुद्ध सडकमा उत्रिने र लोकतन्त्र कमजोर हुन नदिन आन्दोलन गर्ने युवाहरूलाई कहिलेकाहीँ भित्रैबाटै पनि निरुत्साहित गरिएको अनुभूति हुन्छ । गैरकानुनी हिरासतमा राख्दा यो अन्याय हो भन्दै सडकमा उत्रिएका युवाहरूलाई समेत कमजोर पार्ने, आन्दोलनलाई सुस्त बनाउने र जनआक्रोशलाई विभाजित गर्ने काममा पार्टीभित्रकै केही व्यक्तिहरू पनि संलग्न रहेको देखिन्छ ।

त्यसैगरी, आन्दोलनलाई साथ दिनुपर्ने बेला आन्दोलन कमजोर बनाउने गरी तपाईं हिरासतबाट नफर्किनुहोस भन्ने खालका दबाब वा भावना व्यक्त गर्नेहरू पनि तपाईंको आफ्नै राजनीतिक वृत्तमै रहेका छन । यस्तो परिस्थितिमा आन्दोलन नै कमजोर हुँदै गएको अनुभूति युवाहरूमा छ । त्यसैगरी, ट्रेड युनियन खारेज वा कमजोर हुँदा पनि संगठनहरूले स्पष्ट रूपमा बोल्न सकिरहेका छैनन । पेशागत संघसंस्था र जिम्मेवारीमा रहेका व्यक्तिहरू मौन वस्नु भनेको के लोकतन्त्र कमजोर भएको होइन र ? तपाईं चुप बस्दा लोकतन्त्र नै कमजोर हुने अवस्था सिर्जना हुन्छ । लोकतन्त्र त संस्थागत रूपमा बलियो हुनुपर्ने प्रणाली हो, जहाँ कुनै एक व्यक्ति अनुपस्थित हुँदा पनि नागरिक अधिकार र विरोधको आवाज कमजोर नहोस्। तर तपाई मौन वस्ने वितिकै यी आवाजहरू किन सिथिल हुन्छन, सरोकारावालाहरू र पद ओगटनेहरू किन चुसम्म बोल्न सक्दैनन । यसवाट बुझन सकिन्छ, यो देशको लोकतन्त्रकालागि तपाईको कति आवश्यकता छ भनेर ।

 

रुख बैँसमा हुँदा शितल तापे, ओत लागे, फल खाए, तर जब समयको चक्रसँगै हिउँद आयो, उनीहरूले तपाईंलाई ’पहेँलो पात’ भएको रुख ठाने । उनीहरूले सोचे अब यो रुखमा ओत लागेर फाइदा छैन, यसको फेदै काटेर नयाँ ठाउँमा ओत लाग्न जानुपर्छ । तर तिनलाई के थाहा, केपी ओली पहेँलो पात भएको रुख होइन, हिउँदमा पात झारेर वसन्तमा झन् नयाँ पालुवासहित ब्युँतिने सालको रुख हो ! बा, अब समय आएको छ, ती पुराना, कुहिएका र पहेँला पातहरूलाई जरैदेखि झारेर नयाँ मुना र अङ्कुरहरू पलाउने वातावरण बनाउनै पर्छ । जसले तपाईंलाई सङ्कटमा छोडे, तिनलाई इतिहासको डस्टबिनमा फाल्नै पर्छ ।

बा, म एकदमै निर्मम र कठोर यथार्थको धरातलमा उभिएर भन्दै छु यो देशमा केपी ओली कमजोर हुनु भनेको नेपालको राष्ट्रिय अडान सकिनु मात्र होइन, सिंगो राज्य संयन्त्र र समाज नै कोलाहलमा डुब्नु हो । तपाईं र यो देशको नियति आज यसरी जोडिएको छ कि तपाईं कमजोर हुनासाथ देशका सीमाहरू मात्र हल्लिँदैनन्, सिङ्गो प्रणालीका खम्बाहरू गलिसकेका छन् । जब–जब केपी ओलीमाथि प्रहार हुन्छ, तबतब सिंहदरबारको जग नै कमजोर बन्न पुग्छ र जनताका सपना अनि यथार्थबीचको खाडल अझ गहिरो हुँदै जान्छ । आज तपाईं राष्ट्रिय राजनीतिको केन्द्रमा दह्रोसँग नहुँदा देशको के हविगत भएको छ ? एकपटक सोच्नोस त ।

आज लोकतान्त्रिक संस्थाहरू क्रमशः खोक्रो बन्दै गइरहेका छन्। राजनीतिबाट मूल्य र मान्यता पूर्ण रूपमा हराएको छ । इतिहास सम्झाउने गरी अचेल नयाँ जर्नेल प्रवृत्ति’ भित्रिएको छ । राणाकालमा जन्मने बित्तिकै बालक जर्नेल हुन्थ्यो, आज त्यस्तै गरी राजनीति सुरु गरेको दुई महिना नहुँदै मान्छेहरू मन्त्री र सांसद बन्ने लालसा बोकेर सिंहदरबार छिर्छन् । निष्ठा र त्यागको राजनीतिलाई उपहासको विषय बनाइएको छ। देशको अर्थतन्त्र पूरै डामडोल अवस्थामा छ। नेपालको आफ्नै नीति र योजना हराए झैँ भएको छ। एशियाली विकास बैंक र विश्व बैंकका खेतीपाती गर्ने खेतालाहरूले आज देशको अर्थतन्त्रको बागडोर आफ्नो हातमा लिएका छन् । उनीहरूकै इसारामा वित्तीय नीतिहरू कोरिन्छन्। विडम्बना, स्वदेशी लगानी बढाएर देशमै रोजगारी सिर्जना गर्ने देशभक्त उद्योगपतिहरूलाई पूर्वाग्रही ढङ्गले जेल कोचिन्छ, तर विदेशी सामानको दलाली गर्ने तस्करहरू भने खुलामञ्चमा सम्मान पाउँछन् ।

आवाजविहीनहरूको आवाज मानिने श्रमजीवी पत्रकारहरू आज भोकभोकै पर्ने अवस्था आएको छ, उनीहरूको आयस्रोतका बाटाहरू नियोजित रूपमा बन्द गरिएका छन् । अर्कातर्फ, सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा गरिब नागरिकहरूको टाउको लुकाउने ओतमाथि निर्मम रूपमा डोजर कुदाइन्छ। डोजर चल्दा वृद्धवृद्धा र अबोध बालबालिकाहरू चिलिबिलि र अनाथ बन्छन् । लालपुर्जा नपाएका, पुस्तौँदेखि त्यही माटोमा पसिना बगाएका ती गरिब नागरिकहरू अचेल रातभरि निदाउन सक्दैनन् । कुन बेला महानगर वा सरकारको डोजर आएर आफ्नो संसार भत्काइदिने हो भन्ने डरले उनीहरू रातभरि सिरानी भिजाएर बस्छन् ।

बा, चाकडी होइन, यथार्थ कोरिरहेको छु, ‘केपी ओली केवल एउटा साधारण नाम होइन, यो त एउटा विचार हो, एउटा आन्दोलन हो र नेपालको राष्ट्रियताको अकाट्य ब्रान्ड हो ।’ एमालेको जुन देशव्यापी लोकप्रियता र सङ्गठन छ, त्यो तपाईंको साहसिक निर्णय, राष्ट्रवादी अडान र जनताको मन छुने अद्वितीय संवाद शैलीका कारण टिकेको हो । तपाईंलाई हटाएर पार्टी बलियो बनाउन खोज्नु भनेको जगै नभएको घरको छाना राम्रो बनाउन खोज्नु वा फल लागेको रुखको फेदै काटेर हाँगा बढाउन खोज्नु जस्तै महामूर्खता हो ।

श्रद्धेय बा, आज तपाईंप्रति समर्थन गर्नेहरू पनि छन्, घोर विरोध गर्नेहरू पनि । तर एउटा कुरा स्पष्ट छ, तपाईं नेपाली राजनीतिको केन्द्रीय पात्र हुनुहुन्छ । तपाईंलाई मन पराउने वा नपराउने प्रश्न अलग होला, तर तपाईंलाई बेवास्ता गरेर नेपालको समकालीन राजनीति बुझ्न सकिँदैन । बा, देश अहिले यो चरम नैतिक र प्रणालीगत महासङ्कटबाट गुज्रिरहेको छ । यो सङ्कटको चक्रव्यूह र डिजिटल भ्रमको जालोबाट देशलाई मुक्त गर्न अब तपाईं एकपटक फेरी कस्सिने बेला आएको छ । तपाईंले भोगेका शारीरिक कष्ट, दुई–दुई पटकको मिर्गौला प्रत्यारोपण र अनेकौँ शल्यक्रियाका कथाहरू आफैँमा एउटा ठूलो मेडिकल चमत्कार र महाकाव्य हुन् ।

हिजो बालकोटको दैलोमा घण्टौँ लाइन लाग्नेहरू, ‘बा’ भन्दै श्रद्धा व्यक्त गर्नेहरू, तपाईंको एउटा मुस्कानलाई राजनीतिक आशिर्वाद मान्नेहरू आज अचानक अवसरवादको मुखुण्डो ओढेर विद्रोही वन्न खोजिरहेका छन् । के उनीहरूको विचार साँच्चै बदलिएको हो वा स्वार्थको दिशा मात्र फेरिएको हो ?

तर बा, यो देशका युवाहरूलाई तपाईंको दौडिने खुट्टा चाहिएको होइन, हामीलाई तपाईंको थाक्दै नथाक्ने मन, अद्वितीय कर्म, दृढ विचार र इस्पात जस्तो इच्छाशक्ति चाहिएको हो । तपाईंको एउटा जुरुक्क उठाई र एउटा निर्णयमा यो देशका लाखौँ निराश युवाहरूको भविष्य अडेको छ । तपाईंको शरीर बुढो होला बा, तर तपाईंको बिचार, राष्ट्रवादी चेत र समृद्धिको सपना कहिल्यै बुढो हुन सक्दैन । तपाईंको यही इच्छाशक्तिको अगाडि त साक्षात यमराज पनि हार मानेर फर्किएका हुन् भने यी स्याल र हुँडार जस्ता राजनीतिक विरोधीहरूले केही लछारपाटो लाउदैनन ।

बा, देश अहिले गम्भीर मोडमा छ, समाज ध्रुवीकृत छ, युवाहरू निराश छन् । राजनीतिक दलहरूप्रति विश्वास घट्दै गएको छ । यस्तो बेला अनुभवी नेतृत्वको जिम्मेवारी अझ बढ्छ । त्यसैले यतिवेला राजनीतिको मैदानमा तपाईको खाँचो झनै बढेको छ । थकाइलाई विश्राममा बदल्न सकिन्छ, हारमा होइन । तपाईंको अनुभव, संघर्ष र राजनीतिक स्मृतिले अझै यो देशलाई केही दिन सक्छ । मेरो एउटा आग्रह पनि छ, अब तपाईंले आफ्नो वरिपरि नयाँ पुस्तालाई तयार पार्नुपर्छ । आलोचना सुन्न सक्ने संस्कार निर्माण गर्नुपर्छ । पार्टीलाई केवल भावनाले होइन, संस्थागत रूपमा पनि बलियो बनाउनुपर्छ । तपाईंले आफ्नो अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्न सक्नुभयो भने त्यो तपाईंको सबैभन्दा ठूलो राजनीतिक योगदान हुनेछ । तपाईंमा एउटा राजनीतिक जिद्धी छ । त्यही जिद्धी नै तपाई र देशको सम्पति हो । जसले तपाईं र देशलाई बारम्बार बचाइ रहन्छ ।

बा, आज देशलाई फेरि तपाईको त्यही जिद्धी चाहिएको छ । नेतृत्व भनेको पद होइन, कठिन समयमा समाजलाई मनोवैज्ञानिक रूपमा स्थिर बनाउने क्षमता पनि हो । तपाईंका समर्थकहरूले तपाईंमा त्यही शक्ति देख्न चाहन्छन । मानिसहरू एल्गोरिदम र बुटको भाषा बोलेर तपाईंबाट गल्तीहरू भएका छन भन्लान । तर कुनै पनि नेताको मूल्याङ्कन सामाजिक सञ्जालको भ्रमबाट हुदैन; उसले संकटमा राष्ट्रलाई कस्तो आत्मविश्वास दियो भन्ने कुराले निर्धारण हुन्छ ।

श्रद्धेय बा, यो देश र सिंगो आन्दोलनलाई अझै केही वर्ष तपाईंको दरो अभिभावकत्व र कडा मार्गनिर्देशन चाहिएको छ । आत्मविश्वास चाहिएको छ । राष्ट्रलाई आफ्नो भनेर सोच्ने नेतृत्व चाहिएको छ । तपाईंमा मानिसहरूले त्यो सम्भावना अझै देखिरहेका छन । तपाईंको विरोधीहरूको यो चक्रव्यूहलाई भियतनामी नेता होचिमिन्हले जस्तै दृढताको जगमा सुरुङ खनेर भए पनि तोड्नै पर्छ र तपाईंले तोड्नु हुनेछ भन्नेमा हामी ढुक्क छौँ । मैदान छोडेर पछि हट्ने छुट तपाईंलाई छैन बा, किनकि तपाईंको पछाडि यो सिङ्गो देशको अस्तित्व, गरिब अव्यवस्थित नागरिकको ओत र लाखौँ युवाहरूको भरोसा जोडिएको छ ।

यो पत्र पढ्दा तपाईंको मन पक्कै पनि अलिकति भावुक र गम्भीर हुनेछ । तर, यो भावुकतालाई ऊर्जा बनाएर फेरि एकपटक ब्युँतिनुहोस् र यो कृत्रिम ’एल्गोरिदम’ को शासनलाई भत्काएर भुइँमान्छेको वास्तविक न्याय स्थापित गरिदिनुहोसर बा, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला ।