जनता टाइम्स

१ पुष २०७६, मंगलवार १७:५९

नेकपा स्थायी समिति बैठक : अध्यक्षको प्रतिवेदन मूलत सही भन्दै सुधारका लागि आयो यस्तो सुझाव


काठमाडौं, पुस १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको जारी बैठकमा आज १३ जना नेताहरुले आफ्नो धारणा राख्नुभएको छ । स्थायी कमिटीको चौथो बैठकको तेस्रो दिन आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरु १३ जना नेताहरु सहभागी हुनुभएको हो ।

आफ्नो धारणा राख्नेक्रममा नेताहरुले प्रतिवेदन र संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गर्नुभएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा १३ जना सदस्यहरु तथा आमन्त्रित सदस्यहरुले सुझाव र धारणाहरु राख्नुभएको छ । यसरी धारणा राख्नेमा नन्दकुमार प्रसाईं, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, शंकर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, घनश्याम भुसाल, शक्ति बस्नेत, मणि थापा र जनार्दन शर्मा रहनुभएको छ ।

राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टी एकतालाई अझ सुदृढीकरण गर्नुपर्ने, पार्टीको कार्ययोजना ठोस र व्यवस्थित हुनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्ने जस्ता सुझावहरुमा आजका वक्ताहरु केन्द्रित रहनुभएको छ । सदस्यहरुले धारणा राख्ने क्रमजारी रहकोले पुस २ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको छ ।

यस्तो छ बिज्ञप्ती

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक तेस्रो दिन आज मिति २०७६ पुस १ गते पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्यो ।

बैठकमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरु माथि आज स्थायी कमिटीका सदस्यहरुले प्रतिवेदन र संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गर्नेक्रम जारी रह्यो । यसक्रममा आज १३ जना सदस्यहरु तथा आमन्त्रित सदस्यहरुले सुझाव र धारणाहरु राख्नुभएको छ, जसमा कमरेडहरु नन्दकुमार प्रसाईं, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, शंकर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, घनश्याम भुसाल, शक्ति बस्नेत, मणि थापा र जनार्दन शर्मा रहनुभएको छ । राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टी एकतालाई अझ सुदृढीकरण गर्नुपर्ने, पार्टीको कार्ययोजना ठोस र व्यवस्थित हुनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्ने जस्ता सुझावहरुमा आजका वक्ताहरु केन्द्रित रहनुभयो ।

स्थायी समितिको अर्को बैठक भोलि पुस २ गते बिहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्नेछ ।

नारायणकाजी श्रेष्ठ
प्रवक्ता
प्रमुख, केन्द्रीय प्रचार विभाग