गाउँघरमा एउटा उखान छ, ‘माझीले सल्लाह गर्दागर्दै सात गाउँ डुबे ।’ निरन्तर छलफल तर निर्णयहीनता अन्ततः विनाशको कारण बन्छ । आज एमालेले यही अवस्थाबाट बच्नुपर्छ । आवश्यक बहश गरौं, तर बहसको अन्त्य एकतामा गरौं । विचारको विविधता शक्ति हो, तर संगठनात्मक एकता त्यसको आधार हो । देशले अहिले स्थिरता, स्पष्ट दिशा र दृढ राजनीतिक इच्छाशक्ति खोजिरहेको छ
नगिन्द शाही (नेशनल)
राजनीति केवल चुनावदेखि चुनावसम्मको यात्रा मात्र होइन, राष्ट्रको दिशा तय गर्ने प्रक्रिया हो । भदौ २३÷२४ पछिको राजनीतिक घटनाक्रमले नेपाली राजनीतिलाई नयाँ मोडमा उभ्याएको छ ।
यस अवधिमा स्थापित राजनीतिक दलहरूको ठाउँमा नयाँको नाममा उदाएको राजनीतिक दल रास्वपा लगायतका केही दल आएका छन । फागुन २१ को निर्वाचनपछि रास्वपा संसदमा बलियो अंकगणितसहित सरकारको नेतृत्व गरिरहेको छ ।
रास्वपा नेतृत्वमा निर्माण भएको सरकाले यी दुई महिनाको अबधिमा आम जनतामा धेरै शंसय पैदा गरेको छ । राष्ट्रिय स्वाधीनता, सुशासन र समृद्धिका सवालमा वर्तमान सरकारले स्पस्ट लय समात्न सकेको छैन । विगतमा बेलाबेला सत्ता सम्हालेका राजनीतिक दल कांग्रेस, एमाले र माओवादीलाई नै कसरी कमजोर बनाउन सकिन्छ भन्ने ध्यान मात्रै वर्तमान सरकारमा देखिन्छ । आउने दिन नेपालीका निम्ति कस्ता होलान ? त्यो वर्तमान सरकारको सुझबुझमा निर्भरता छ । आफूलाई सच्याएर देश बनाउछन् वा आफूहरू बनेर देश सकाउछन्, यो अहिले नै भन्न हतार हुनेछ ।
चुनौतीको चाङमा एमाले
गत भदौ २३-२४ भन्दा अगाडि नेकपा एमालेको नेतृत्वमा कांग्रेस लगायतका पार्टीको सयुक्त सरकार थियो । भदौ २३-२४ को घटनाका कारण देशको राजनीतिक परिस्थितिमा धेरै फेरबदल आएको छ । हिजोका ठुला पार्टीहरू अहिले सानो आकारमा खुम्चिनु परेको छ । विशेषगरी नेकपा (एमाले) ले अहिले धेरै प्रश्नहरू जबाफ दिन पर्ने ठाउँमा छ । किनकि नेकपा एमाले २३-२४ अघि सरकारको नेतृत्व गरेको पार्टी थियो ।
फागुन २१ गते सम्पन्न निर्वाचनको मैदानमा एमाले पंक्तिले दिएका जबाफ जनताले स्विकारेनन र एमाले मतदाताको रोजाइमा पर्न सकेनन् । तत्कालीन परिस्थिति र निर्वाचनको चटारोका कारण धेरै विषयमा एमाले पंक्ति खरो वहशमा उत्रन सकेन । जुन कारण फागुन २१ को निर्वाचनको परिणाम एमालेका निम्ति सुखद हुन सकेन । नेकपा एमाले नेपालको इतिहासमा केवल एउटा पार्टी मात्र होइन यो आजसम्मका परिवर्तनका प्रत्येक आन्दोलनको नेता शक्ति हो । एमाले राजनीतिक स्थिरता, राष्ट्रियता र विकासको पक्षधर शक्तिका रूपमा स्थापित पार्टी हो ।
आजको चुनौती एमालेका लागि केवल भोलिका चुनाव जित्ने वा सरकार बनाउने मात्र होइन र हुनहुँदैन । चुनौती भनेको समाजमा बढ्दै गएको निराशा, अफवाह, सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रम र राजनीतिक अस्थिरताको वातावरणसँग जुध्नु पनि हो । देशभित्र आर्थिक दबाब, युवाको विदेश पलायन र राज्यप्रति घट्दो विश्वासले राष्ट्रिय संकटको संकेत गरिरहेका छन्। यस्तो अवस्थामा एमालेभित्र व्यक्ति केन्द्रित बहशभन्दा संगठन केन्द्रित सोच आवश्यक छ ।
संकटको समयमा जहाजका यात्रु कप्तान बदल्ने बहसमा होइन, जहाजलाई गन्तव्यमा पुर्याउने प्रयाशमा केन्द्रित हुनपर्छ । आज एमालेले पनि त्यही मनोविज्ञान निर्माण गर्नुपर्छ । पार्टीभित्रका मतभेद स्वाभाविक हुन्, तर राष्ट्रिय चुनौतीका अगाडि ती गौण बन्नुपर्छ । इतिहासले पनि देखाएको छ, जब एमाले एकताबद्ध भएको छ, तब उसले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेलेको छ ।
विज्ञान, प्रविधि र एमाले
विश्व चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गरिसकेको छ । कृत्रिम बुद्धिमत्ता (एआई), स्वचालन, डिजिटल अर्थतन्त्र, डाटा र नवप्रवर्तनले समाजको स्वरूप बदलिरहेका छन तर नेपालको राजनीतिक बहश अझै पुराना मुद्दामै अल्झिने गरेको देखिन्छ । यही कारणले एमालेले आफ्नो वैचारिक मार्गदर्शन जनताको बहुदलीय जनवाद (जबज) लाई समयानुकूल थप विकसित गर्नुपर्ने आवश्यकता देखिन्छ । जबज कुनै जड सिद्धान्त होइन ।
यो नेपाली समाजको वस्तुगत यथार्थमा आधारित गतिशील विचार हो । जसरी समाज बदलिन्छ, त्यसरी नै विचारले पनि नयाँ प्रश्नहरूको उत्तर दिनुपर्छ । आजका युवाका प्रश्न रोजगारी, प्रविधि, स्टार्टअप, डिजिटल शासन, अनुसन्धान र विश्व प्रतिस्पर्धासँग जोडिएका छन् । त्यसैले जबजलाई विज्ञान, प्रविधि र नवप्रवर्तनमैत्री राजनीतिक कार्यक्रममार्फत थप सशक्त बनाउनु पर्छ ।
एमालेभित्र यतिबेला केही नेताहरु जसरी पनि केपी ओलीबिरुद्ध बिषबमनलाई नै क्रान्ति र परिवर्तन वा सुधारको अस्त्र ठानिरहेका छन । उहाँकै फेरो समातेर राजनीतिमा हैसियत बनाउनेहरु अहिले केपी ओलीको बिकल्प भन्दै नीतिमा बहश छाडछन भने सिधा भन्नुपर्ने हुन्छ, ती एमाले सकाएर नयाँ भन्नेहरुको घर मजबुत बनाउन चाहिरहेका छन । एमालेजनले यो काम किमार्थ हुन दिनेछैनन

एमालेले अब केवल भौतिक पूर्वाधारको बहशमा सीमित नभई ज्ञानमा आधारित अर्थतन्त्र निर्माणको अभियान चलाउनु पर्छ । गाउँदेखि केन्द्रसम्म डिजिटल रूपान्तरण, प्रविधिमैत्री शिक्षा, अनुसन्धानमा लगानी र युवा प्रतिभाको उपयोगलाई राजनीतिक प्राथमिकता बनाउनु पर्छ । आजको युगमा विचारको रक्षा भनेको त्यसलाई संग्रहालयमा राख्नु होइन, समयअनुसार विकसित गर्नु हो । जबजको जीवन्तता पनि यहीँ प्रमाणित हुन्छ । नयाँ पुस्ताले अपनाउन सक्ने, वर्तमान चुनौतीको उत्तर दिन सक्ने र भविष्य निर्माणको मार्ग देखाउन सक्ने जबज नै बलियो जबज हुनेछ । त्यसका निम्ति अहिलेको एमाले पंक्ति आफू उदार हुन जरुरी छ
वस्तुनिष्ठ समीक्षा
देश अहिले अनेक चुनौतीहरूको चौराहामा उभिएको छ । आर्थिक मन्दी, उत्पादन क्षेत्रको कमजोरी, बेरोजगारी, युवा पलायन, घट्दो जनविश्वास र बाह्य प्रभावका अनेक दबाबहरूले राष्ट्रिय जीवनलाई प्रभावित गरिरहेका छन । यस्तो अवस्थामा राजनीतिक दलहरू साना विवादमा अल्झिनु भनेको समस्या समाधान होइन, झन् जटिल बनाउनु हो । एमालेभित्र पनि बेला, बेलामा बहश र मतभेद देखिनु अस्वाभाविक होइन । तर आजको आवश्यकता बहशको बहानामा अन्यौलता होइन, बहशबाट निष्कर्ष निकाल्दै एकताबद्ध हुने हो । राष्ट्रिय संकटका बेला संगठनात्मक शक्ति कमजोर बनाउने कुनै पनि गतिविधिले अन्ततः पार्टी मात्र होइन, देशलाई नै क्षति पुर्याउँछ ।
हाम्रो गाउँघरमा एउटा उखान छ, ‘माझीले सल्लाह गर्दागर्दै सात गाउँ डुबे ।’ निरन्तर छलफल तर निर्णयहीनता अन्ततः विनाशको कारण बन्छ । आज एमालेले यही अवस्थाबाट बच्नुपर्छ । आवश्यक बहश गरौं, तर बहसको अन्त्य एकतामा गरौं । विचारको विविधता शक्ति हो, तर संगठनात्मक एकता त्यसको आधार हो । देशले अहिले स्थिरता, स्पष्ट दिशा र दृढ राजनीतिक इच्छाशक्ति खोजिरहेको छ । त्यसैले एमालेको कार्यदिशा पनि राष्ट्रिय चुनौती समाधान, विकासको गति र जनविश्वास पुनस्र्थापनामा केन्द्रित हुनुपर्छ ।
चित्र होइन, चरित्रमा बहश
पछिल्ला वर्षहरूमा नेपाली राजनीतिमा एउटा खतरनाक प्रवृत्ति बढेको छ–नीति र कार्यक्रमभन्दा अनुहारको राजनीति । सामाजिक सञ्जालको प्रभावसँगै राजनीतिक मूल्यांकन तथ्यभन्दा भावनामा आधारित हुन थालेको छ । कसैलाई देवत्वकरण गर्ने र कसैलाई पूर्ण रूपमा खारेज गर्ने प्रवृत्तिले स्वस्थ राजनीतिक संस्कृतिलाई कमजोर बनाएको छ । वास्तविकता के हो भने आज देशले भोगिरहेका अधिकांश समस्या कुनै एक व्यक्तिका कारण उत्पन्न भएका होइनन । त्यस्तै कुनै नयाँ अनुहार आएपछि सबै समस्या एकैपटक समाधान हुने पनि होइन । राजनीति जादुको छडीले होइन, नीति, संस्थागत क्षमता र संगठनात्मक शक्तिले चल्छ ।
आजका धेरै समस्या गलत भाष्य, नियोजित अफवाह र भावनात्मक प्रचारबाट सिर्जित भएका छन । तथ्यभन्दा भ्रम बलियो बनाउने प्रयाश भइरहेको छ । यस्ता भाष्यहरूले समाजलाई विभाजित गर्छन, जनविश्वास कमजोर बनाउँछन र राजनीतिक स्थिरतामाथि प्रहार गर्छन । त्यसैले एमाले पंक्तिले चित्रभन्दा चरित्रमा बहश गर्नुपर्छ । कसले भनेको भन्दा के भनेको सही हो भन्ने आधारमा मूल्यांकन गर्नुपर्छ । व्यक्ति होइन, नीति, अनुहार होइन, कार्यक्षमता, प्रचार होइन, परिणाम-यिनै राजनीतिक मूल्यांकनका आधार बन्नुपर्छ । जब समाज भावनाले होइन विवेकले निर्णय गर्न थाल्छ, तब लोकतन्त्र बलियो हुन्छ । एमालेले पनि यही राजनीतिक संस्कार स्थापित गर्ने अभियानको नेतृत्व गर्नुपर्छ ।
नीति, नेतृत्वको रक्षा-गलत भाष्यको भण्डाफोर
राजनीतिक संघर्ष केवल निर्वाचनको मैदानमा मात्र हुँदैन । विचार, मनोविज्ञान र जनमतको क्षेत्रमा पनि उत्तिकै ठूलो संघर्ष चलिरहेको हुन्छ । आज एमालेविरुद्ध देखिने धेरै आक्रमणहरू केवल नेतृत्व वा पार्टीविरुद्धका होइनन, ती संगठनात्मक शक्ति, राष्ट्रियता र वामपन्थी राजनीतिक धारलाई कमजोर बनाउने प्रयत्नका रूपमा पनि बुझ्न सकिन्छ ।
इतिहासले प्रमाणित गरेको छ कि संगठित शक्ति नै राजनीतिक परिवर्तनको मुख्य आधार हो । त्यसैले एमालेको बल संगठन हो, अनुशासन हो र कार्यकर्ता पंक्तिको प्रतिबद्धता हो । यही शक्ति कमजोर पार्न विभिन्न प्रकारका भ्रम, अफवाह र नकारात्मक भाष्य निर्माण गरिने प्रयास भइरहेका छन । यस्तो अवस्थामा नेतृत्वको आलोचना गर्न नपाइने भन्ने होइन । लोकतान्त्रिक पार्टीभित्र आलोचना र आत्मालोचना आवश्यक हुन्छ । तर आलोचनाको नाममा संगठन कमजोर बनाउने, भ्रम फैलाउने वा राजनीतिक शत्रुताको भाष्यलाई बल पुर्याउने कार्य अन्ततः पार्टी र देश दुवैका लागि हानिकारक हुन्छ ।

आज एमाले पंक्तिले नीति र नेतृत्वको रक्षा अन्ध समर्थनका आधारमा होइन, तथ्य, उपलब्धि र वैचारिक स्पष्टताका आधारमा गर्नुपर्छ । गलत भाष्यको भण्डाफोर तथ्यले गर्नुपर्छ, भावनाले होइन । जनतामाझ सही सूचना, सही विश्लेषण र सही राजनीतिक दृष्टिकोण पुर्याउने अभियानलाई सुदृढ बनाउनु पर्छ । यदि एमालेको संगठनात्मक शक्ति कमजोर भयो भने त्यसको असर केवल एउटा पार्टीमा सीमित रहने छैन । त्यसले राष्ट्रिय राजनीति, वामपन्थी आन्दोलन र राजनीतिक स्थिरतामाथि पनि प्रभाव पार्नेछ । त्यसैले आजको आवश्यकता अझ बढी संगठित हुनु, अझ बढी एकताबद्ध हुनु र राष्ट्रिय हितको पक्षमा दृढतापूर्व उभिनु हो ।
निष्कर्ष
आजको समय एमालेका लागि आत्मसमीक्षा गर्ने मात्र होइन, आत्मविश्वासका साथ अगाडि बढ्ने समय पनि हो । देशले सामना गरिरहेका चुनौतीहरू व्यक्ति परिवर्तनले मात्र समाधान हुँदैनन् । त्यसका लागि स्पष्ट नीति, बलियो संगठन, समयानुकूल विचार र एकताबद्ध कार्यशक्ति आवश्यक पर्छ । भदौ २३-२४ पछिको राजनीतिक परिस्थितिले यही सन्देश दिएको छ ।
एमालेभित्र यतिबेला केही नेताहरु जसरी पनि केपी ओलीबिरुद्ध बिषबमनलाई नै क्रान्ति र परिवर्तन वा सुधारको अस्त्र ठानिरहेका छन । उहाँकै फेरो समातेर राजनीतिमा हैसियत बनाउनेहरु अहिले केपी ओलीको बिकल्प भन्दै नीतिमा बहश छाडछन भने सिधा भन्नुपर्ने हुन्छ, ती एमाले सकाएर नयाँ भन्नेहरुको घर मजबुत बनाउन चाहिरहेका छन । एमालेजनले यो काम किमार्थ हुन दिनेछैनन ।
त्यसैले आजको कार्यदिशा स्पष्ट हुनुपर्छ, विज्ञान र प्रविधिसँग जोड्ने, गलत भाष्यको प्रतिवाद गर्ने, चरित्र र नीतिमा आधारित राजनीति अघि बढाउने तथा राष्ट्रिय संकट समाधानका लागि सम्पूर्ण एमाले पंक्तिलाई एकताबद्ध बनाउने । इतिहासका कठिन मोडहरूमा एमालेले जसरी जिम्मेवारी निभाएको थियो, आज पनि त्यही परिपक्वता, एकता र दृढताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ । यही मार्गले पार्टीलाई बलियो बनाउने छ । र यही मार्गले देशलाई स्थिरता र समृद्धितर्फ डोर्याउनेछ ।
(शाही एमाले केन्द्रीय सदस्य तथा कालिकोट इञ्चार्ज हुनुहुन्छ-सं.)













प्रतिक्रिया दिनुहोस्