जनता टाइम्स

२ पुष २०७६, बुधबार ०७:५०

चल्ला उत्पादनमा ह्याचरी संघको दादागिरी, ३० लाख जिउँदो चल्ला खाल्डोमा


काठमाडौं, पुस २ । नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो। ती चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ। संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी साना किसानदेखि व्यावसायिक ह्याचरीको ब्रोइलर र कोइलर जातको जिउँदो चल्ला नष्ट गरेको छ। संघका पदाधिकारीले फार्ममा जबरजस्ती प्रवेश गरी चल्ला मार्न थालेको गुनासो साना किसानहरूको छ। व्यावसायिक लाभ लिन जिउँदो चल्ला मारेको भन्दै किसानहरूले खेद व्यक्त गरेका छन्।

संघले मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म देशभरका ह्याचरीबाट चल्ला उत्पादन गर्न नदिने नीति लिएको छ। यसै क्रममा काठमाडौं, चितवन, पोखरा, बुटवल, धनगढीलगायत सहरमा एक दिनमै ३० लाख चल्ला मारिएको हो। संघका पदाधिकारीले चल्ला राखिएको क्रेटमा चिसो र तातो पानी खन्याइदिएका छन्। यस्तै कतिपय ठाउँमा जिउँदै पुरिदिएका छन्। संघले ४५ करोड मूल्यको चल्ला निस्कने अण्डासमेत नियन्त्रणमा लिएर गाडेको छ। मागभन्दा बढी उत्पादन हुँदा मूल्य नपाएको भन्दै जिउँदो चल्ला नष्ट गरेको संघले जनाएको छ। संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले कुखुरा व्यवसाय व्यवस्थित गर्न तथा किसानलाई लागत मूल्य उपलब्ध गराउन चल्ला र अण्डा नष्ट गरिएको बताए। उनका अनुसार चल्ला नष्ट गर्ने अभियान एक सातासम्म जारी रहनेछ।

संघले आफ्नो निर्णय मान्न ह्याचरी उद्योगलाई पनि बाध्य पारेको छ। निर्णय नमान्ने उद्योगमा संघका पदाधिकारी नै पुगेर चल्ला र अण्डा नष्ट गर्दै आएका छन्। बजारमा एक सातामा ३० लाख चल्ला माग हुन्छ। तर ४५ लाख चल्ला उत्पादन भइरहेको छ। १० दिनमा ६० लाख चल्ला उत्पादन हुन्छ। ६० लाख चल्ला कमी भएपछि बजारमा कुखुराको मासुको अभाव हुन्छ। मासु अभाव गराएर मूल्य बढाउने तयारी ह्याचरी संघको छ। लेयर्स, ब्रोइलर र कोइलर जातका चल्ला उत्पादन गर्ने ह्याचरी देशभर तीन सय छन्। भरतपुरको फूर्तिचोकस्थित बूढानीलकण्ठ ब्रिडर्स फार्म प्राइभेट लिमिटेडका अध्यक्ष देवेन्द्र श्रेष्ठले संघका पदाधिकारीले जबरजस्ती फार्ममा पसेर पाँच हजार चल्ला नष्ट गरिदिएको बताए। ‘संघले आफ्नो निर्णय मान्न दबाब दिएको छ,’ श्रेष्ठले भने, ‘चल्ला उत्पादनमा ह्याचरी संघले दादागिरी देखायो।’ पशु कल्याण संघका अध्यक्ष स्नेहा श्रेष्ठले मुलुकी ऐनमा कुनै पनि पशुपन्छीलाई यातना दिएर मार्न नपाइने व्यवस्था रहेको बताइन्।