जनता टाइम्स

२ पुष २०७६, बुधबार ०७:५३

डिजेल र मट्टीतेलको मूल्य बढ्यो


काठमाडौं, पुस २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ ।

निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरी मूल्य समायोजन गरिएको जानकारी दिनुभयो । उहाँले पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य बढाइएको जानकारी दिनुभयो ।

निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् नै राखिएको उहाँले जानकारी दिनुभयो । निगमले यसअघि गएको मंसिर १६ गते पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको थियो ।

उहाँका अनुसार मूल्य समायोजन गरेपश्चात् नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य २० रुपैया ४१ पैसा प्रतिलिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य १७ रुपैयाँ र १६ पैसा प्रतिलिटरले नेपालतर्फ सस्तो हुन गएको छ ।