जनता टाइम्स

२ पुष २०७६, बुधबार ०८:५२

अन्तर्राष्ट्रिय विमानस्थलमा देखियो सरकारको काम, बन्यो ठूला योजना पनि समयमै सकिन्छ भन्ने दरिलो उदाहरण


काठमाडौं, पुस २ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, ट्याक्सी वे लगायत जीर्णोद्धारको सम्पूर्ण काम सम्पन्न भएको छ ।
निर्धारित समयभन्दा झण्डै पाँच महिनाअघि नै आयोजनाको काम सकेर विमानस्थलले नेपालमा ठूला योजना पनि समयभित्रै सफलरूपमा सम्पन्न हुन्छ भन्ने दरिलो उदाहरण प्रस्तुत गरेको छ । योसँगै अब अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन योग्य भएको छ ।

विमानस्थल जीर्णोद्धारको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनले मंगलबार आयोजना औपचारिकरूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको छ । कर्पोरेशनका उपाध्यक्ष युन कोजिहाले प्राधिकरणका महानिर्देशकलाई आयोजना हस्तान्तरण गर्नुभएको हो ।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनामार्फत् विमानस्थल जीर्णोद्धार गरिएको हो । धावनमार्ग स्तरोन्नतिका लागि प्राधिकरणले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जििीयरिङ कर्पोरेशनसँग मूल्य अभिवृद्धि करसहित ४ अर्ब २७ करोड रुपैयाँमा सम्झौता गरेको थियो । अहिले एयरफिल्ड लाइटको कामबाहेक सबै काम सकिएको छ । लाइटको काम पनि बढीमा पाँच दिनभित्र सकिने आयोजनाले जनाएको छ ।

विमानस्थलको जीर्णोद्धारको दोस्रो चरणको काम गएको भदौ १५ देखि दैनिक सात घण्टा विमानस्थल बन्द गरी सुरु गरिएको थियो । विमानस्थलको पहिलो चरणअन्तर्गत २०७५ चैत १८ देखि २०७६ असार १५ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम गरिएको थियो ।

विमानस्थलको धावनमार्ग तीन हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइको छ । त्यस अवधिमा रातको १० देखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरी मर्मतको काम गरिएको थियो ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी वे मर्मतको काम सफलतापूर्वक सम्पन्न भइ अब दैनिक २१ घण्टा सञ्चालन योग्य भएको बताउनुभयो । सन् २०२० को जनवरी १ देखि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने उहाँको भनाइ छ । महाप्रबन्धक केसीले विमानस्थल अहिले नै २१ घण्टा सञ्चालनमा आउने भए पनि सम्बन्धित एयरलाइन्सले तयारी गर्नुपर्ने भएकाले उडान मिति जनवरी १ लाई निर्धारण गरिएको उल्लेख गर्नुभयो ।

‘नेपाल भ्रमण वर्ष २०२०’ को पूर्वसन्ध्यामा विमानस्थललाई २१ घण्टा सञ्चालन गर्न पूर्णरुपले सक्षम भएको जानकारी गराउन पाउँदा हर्षको अनुभूति भएको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख मुरारी भण्डारीले बताउनुभयो ।

‘हुन त हामी झण्डै नौ महिनाअघि पनि यसैगरी यहीँ ठाउँमा भेला भएका थियौँ । तर त्यतिखेर हामीमाझ अनेकौँ चुनौतीका पहाड थिए । विमानस्थलको जीर्णोद्धारको थालनी गर्नु कम चुनौतीपूर्ण थिएन । यति ठूलो परियोजना, काममा आइपर्ने विभिन्न कठिनाइ, विमानस्थल पूर्णरूपमा बन्द गरेर काम गर्नुपर्ने तमाम कठिनाइका बाबजुद पनि हामीले निर्धारित समयभन्दा अघि नै जीर्णोद्धार कार्य सफलतापूर्वक सम्पन्न गरेका छौँ’, उहाँले भन्नुभयो ।

सात दशकदेखि सञ्चालनमा आएको यो विमानस्थल केवल विमानस्थलमात्र नभइ नेपालको ‘लाइफलाइन’ पनि हो । यसबीचमा धावनमार्गले पनि धेरै उतारचढाव ब्यहोरेको छ । सन् १९९७ मा विमानस्थलको धावनमार्गलाई स्तरीकरण गर्दै तीन हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग बनाएपछि यहाँ १९ सिट क्षमताका विमानदेखि बोइङ ७७७ जस्ता ठूला जहाज उडान र अवतरण हुँदै आएका छन् ।

सन् २००९ देखि २०११ सम्ममा विमानस्थलको धावनमार्गको ओभरले गरिएको थियो । सन् २०१३ देखि यसमा कतै पिच उप्किने समस्या देखिन थाल्यो । सन् २०१५ को गोरखा भूकम्पपछि धावनमार्गको भित्री तहमा समस्या आएको धावनमार्ग पूरै कालोपत्र गर्न विज्ञहरूले सुझाए पनि सरकारले विमानस्थलको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले निर्धारित समयअघि नै विमानस्थल जीर्णोद्धारको काम सफलतापूर्वक सम्पन्न भएको र यसले ठूला आयोजना पनि इच्छाशक्ति भए समयभित्रै सम्पन्न हुन्छन् सफल उदाहरण प्रस्तुत गरेको बताउनु भयो ।

यो अवधिमा विमानस्थलको तीन हजार मिटर लामो धावनमार्ग कालोपत्र, ट्याक्सी वे कालोपत्र गर्ने र बत्ती जडानको काम सकिएको छ । दोस्रो चरणमा रन वे सेन्टरलाइन लाइट फेर्ने तथा ट्याक्सी वे र रन वे जोड्ने लिङ्क रोड निर्माणलगायतको काम भएको थियो ।

लामो समयदेखि धावनमार्गको कालोपत्र उप्किँदा पटक–पटक समस्या परेपछि सरकारले धावनमार्ग पूर्णरूपमा मर्मत ‘रन वे रिह्याब’ गर्ने योजना बनाएको थियो । देशकै ऐनाका रूपमा रहेको संवेदनशील मानिने अन्तर्राष्ट्रिय विमानस्थलको जीर्णोद्वार गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको प्राधिकरणले जनाएको छ ।