जनता टाइम्स

२ पुष २०७६, बुधबार १०:१७

तयार भयो जनकपुर–जयनगरखण्डमा गुड्ने नेपाली रेलका डिब्बा


काठमाडौं, पुष २

जनकपुर–जयनगरखण्डमा गुड्ने नेपाली रेलको डब्बा तयारी अवस्थामा पुगेको छ । ३५ किलोमिटर लामो रुटमा गुड्ने रेलको डब्बा भारतमा तयार भएको रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिनुभयो ।

गत वैशाखमा भएको सहमति अनुसार भारतीय कम्पनीले रेलको डब्बा बनाएको हो । विभागका प्रवक्ता चित्रकारका अनुसार भारतको चेन्नइस्थित कोन्कन रेल्वे कर्पोरेसनको कारखानामा नेपालमा चल्ने रेलको डिब्बा तयार भएको छ । रेल विभागको एउटा टोली अहिले जनकपुर–जयनगर रुटमा चल्ने दुईवटा रेलका डिब्बा निर्माणको प्रगतिबारे जानकारी लिन भारत पुगेको छ ।

भारतले यसअघि नै नेपालमा सञ्चालन हुने दुईवटा रेलका डिब्बा उपलब्ध गराउने सहमति गरिसकेको छ । डिब्बामा नेपाली राष्ट्रिय झण्डामा प्रयोग हुने तीन वटा रंग प्रयोग भएको छ । रातो, निलो र सेतो रंग प्रयोग गरेर बनाइएको प्रवक्ता चित्रकारले जानकारी दिनुभयो । डिब्बा तयार भएपछि त्यसलाई नेपाल ल्याइने छ ।