जनता टाइम्स

२ पुष २०७६, बुधबार १२:३६

आइजीपी खनाललाई पुरस्कृत गर्ने गृहको निर्णय


काठमाडौं, पुस २ । सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाललाई पुरस्कृत गर्ने भएको छ । बेरुजु फस्र्योटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले आइजीपी खनाललाई १० हजार नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

बेरुजु फस्र्योट मूल्यांकन तथा अनुगमन समितिले आइजीपी खनालसहित पाँच जना प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै आइजीपी खनालबिरुद्ध फेक समाचार लेखाउँदै बिचौलिया र केही प्रहरी अधिकारी भने मर्माहत बनेका छन । प्रहरीको नेतृत्व लिएपछि खनालले चालेको योजनावद्ध कामको कारण यस बर्ष पनि नेपाल प्रहरी बेरुजु पर्छ्योटमा उत्कृष्ट बनेको हो ।

खनालकै कारण नेपाल प्रहरी बेरुजु फस्र्योटमा पुनः उत्कृष्ट हुन सफल भएको छ । प्रहरीले २०७४/०७५ सम्मको कुल बेरुजु रकममध्ये ८८.५० प्रतिशत बेरुजु फस्र्योट गरेर उत्कृष्ट हुन सफल भएको हो । आर्थिक वर्ष २०७४/०७५ को लेखा परीक्षण भएको अंकमा १ दशमलव ८० प्रतिशत मात्र बेरुजु कायम गर्न सफल भई बेरुजु फस्र्योटको प्रगतिमा सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको गृह मन्त्रालयले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरलले बेरुजु फछ्र्योटमा प्रहरी सर्वोकृष्ट हुन सफल भएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा प्रहरी संगठनले बेरुजु फछ्र्योटमा झन् उत्कृष्ट नतिजा हासिल गर्ने गरी काम गरिरहेको जानकारीसमेत दिनुभयो ।

गत मंसिर २४ गते बसेको मन्त्रीस्तरीय निर्णयले प्रहरी महानिरीक्षक खनाललाई पुरस्कृत गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले बेरुजु फछ्र्योटमा प्रत्यक्ष संलग्न बढीमा पाँच प्रहरी कर्मचारीलाई प्रति व्यक्ति ८ हजार रुपैयाँका दरले पुरस्कार गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७३/०७४ मा नेपाल प्रहरीमा कायम कुल बेरुजुमध्ये समग्रमा ८५ दशमलव १४ प्रतिशत बरुजु फछ्र्योट गरेको भन्दै गृह मन्त्रालयले प्रहरीलाई पुरस्कृत गरेको हो ।

प्रहरी महानिरीक्षक खनालले नेतृत्व सम्हालेलगत्तै १० वटा प्राथमिकता निर्धारण गरेर कार्यान्वयनमा जुट्नुभएको थियो । उहाँले सांगठनिक सदृढीकरण, आन्तरिक शुद्धीकरण र भ्रष्टाचार शून्य सहनशीलताको नीति अँगाल्दै आउनुभएको छ । महानिरीक्षक भएसँगै दुईपटक प्रहरी बेरुजु फछ्र्योटमा उत्कृष्ट हुन सफल भएको छ ।

आइजीपी खनालले पछिल्लो समय अपराधबिरुद्ध सून्य सहनशीलताको नीतिसमेत अघि बढाउनु भएको छ । खनालकै पालामा इतिहासमै प्हिलो पटक सभामुखलाई पक्राउ गरी मुद्दा चलाइएको छ भने पूर्वमन्त्री र बहालवाला सांसद पनि १२ बर्ष पहिलाको अपराधमा जेलमा पुग्नुपरेको छ ।