जनता टाइम्स

२ पुष २०७६, बुधबार १४:००

पीपीएलः काठमाडौँले धनगढीलाई विशाल लक्ष्य दियो


काठमाडौं, पुस २

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सनले धनगढी ब्लुजलाई जितको लागि १८६ रनको लक्ष्य दिएको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएका काठमाडौँले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १८५ रनको योगफल बनायो ।काठमाडौँको लागि कप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक ब्याटिङ गरेर पहिलो शतक आफ्नो नाममा लेखाउन सफल भए ।

उनले ३७ बलमै शतक प्रहार गरे । यो पीपीएलकै पहिलो शतक हो भने नेपालको घरेलु क्रिकेटमा यो सबैभन्दा छिटो शतकको कीर्तिमान छन् । आफ्नो विष्फोटक इनिङमा मल्लले ८ छक्का र नौ चौका प्रहार गरे । भारतीय ब्याट्सम्यान जयकृष्णन कोल्सावालसँग मल्लले ५६ बलमा १३० रनको साझेदारी गरे । शतक प्रहार गरेलगत्तै मल्ल कमल सिंह ऐरीको बलमा आउट भए ।

बलिङतर्फ धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए । प्रतियोगितामा काठमाडौँ पहिलो जितको खोजीमा छ भने धनगढी दोस्रो जितको खोजीमा छ । यसअघि दुई खेलमा काठमाडौँ पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित भएको थियो ।

यस्तै सोमबार भएको पहिलो खेलमा धनगढीले विराटनगरलाई ५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको थियो । एक जित निकालेको धनगढी २ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । दुवै खेलमा पराजित काठमाडौँ अङ्क तालिकाको पुछारमा रहेको छ ।