जनता टाइम्स

२ पुष २०७६, बुधबार १५:००

शीतलहरले जनजीवन कष्टकर


धनगढी, पुस २

चिसो मौसमको सुरुवातसँगै पश्चिम तराईमा शीतलहर शुरु भएको छ । बाक्लो हुस्सुसँगै हावा चल्दा शीतलहर सुरु भएको हो । गत सोमबारदेखि जाडो बढे पनि बुधबारदेखिको चिसो सिरेटोले जनजीवन कष्टकर बनेको छ । कठ्याङग्रिने जाडाले सबैभन्दा बढी वृद्धवृद्धा, बालबालिका र मजदूर वर्गलाई असर पुर्याएको छ ।

शीतलहरका कारण यसवर्ष सबैभन्दा बढी चिसो मङ्गलबार र बुधबार मापन गरिएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयले जनाएको छ । चार दिन अघिसम्म अधिकतम २३ डिग्री सेल्सियस तापक्रम रहेको कैलालीमा आज न्यूनतम तापक्रम १२ डिग्री र अधिकतम १५ डिग्री सेल्सियस रहेको छ । अधिकतम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा जाडोको महसुस बढी हुने गर्दछ । चिसोका कारण बजार क्षेत्रमा चहल पहलमा कमी आएको छ ।

यस्तो मौसममा कोल्ड डायरिया, निमोनियाँ, ज्वरो र रुघाखोकीका बिरामीलाई बढी सताउने हुँदा चिसोबाट जोगिन सर्वसाधारणलाई चिकित्सकले सुझाएका छन् । केही दिन शीतलहर जारी रहेमा आलु, गोलभेँडा लगायतको तरकारी बालीमा डढुवा रोगको सङ्क्रमण देखिने भई नोक्सान पुर्याउने स्थानीयवासी रामकृष्ण रानाले बताउनुभयो ।