काठमाडौं, पुष २
नेपाल टेलिकमका रिचार्ज कार्डको नम्बर मेटिएमा अब चिन्ता नलिनुहोस् । टेलिकमले रिचार्ज कार्डमा १६ वटा अंक हुने गरेका छन् । कहिलेकाँही नम्बर निकाल्दा केही अंक मेटिएर हामी कतिपयले अर्को कार्ड प्र्रयोग गर्छौं भने कतिपयले त्यसलाई टेलिकमको अफिसमा लिएर जाने गरेका थियौं । अब भने कम्तिमा ६ वटा अंक मात्रै देखिएपनि रिचार्ज हुने भएको छ । यसका लागि ग्राहकले पहिलो चरणमा कम्पनीको वेबसाइटबाट आफैँले रिचार्ज गर्न सक्नेछन् ।
कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनु पर्छ । यसका लागि कम्पनीको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्ने वा सिधै http://pinrecovery.ntc.net.np/ मा लग अन गर्नुपर्छ ।
रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बरमध्ये कमसेकम ६ वटा अंक देखिने हुनुपर्छ । यसरी देखिने पिन नम्बरलाई कार्डमा लेखिएको अवस्थामा राख्नुपर्छ र मेटिएको अंकमा ‘*’ चिन्ह राख्नुपर्छ । जस्तो कि पिन नम्बरको फर्म्याट १२३४५६७*९०१२३४५६ छ र बीच बीचका पिन नम्बर मेटिएको वा नबुझिने छ भने त्यही अनुसार १**४५*७८**१२**५* संरचना बमोजिम राख्नुपर्छ ।
यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ । यो भन्दा बढी पटक गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुँदैन र रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने हुन्छ । कमसेकम ६ अंक पनि नदेखिएमा भने साट्न वा रिचार्जका लागि काउन्टरमै जानुपर्छ । यसअघि सबै प्रकारका कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै पुग्नुपर्ने बाध्यता रहेकोमा यो व्यवस्था पछि हटेको छ ।
भविष्यमा कम्पनीको एप ‘नेपाल टेलिकम’ र सर्ट कोडमार्फत एसएमएस पठाएर समेत रिचार्ज कार्ड साट्न सकिने व्यवस्था गर्ने कम्पनीको योजना छ ।
प्रतिक्रिया दिनुहोस्