काठमाडौं, पुस २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आज चौथो दिन पनि जारी रह्यो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा जारी आजको बैठकमा आज १२ जना स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राख्नुभएको छ ।
बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरुमाथि नेताहरुले आफ्नो सुझाव राख्नुभएको हो । आजको बैठकमा मातृकाप्रसाद यादव, बर्षमान पुन, लिलामणी पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणी पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले आफ्नो धारणा राख्नुभएको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा आफ्नो धारणा राख्ने नेताहरुले अध्यक्षको प्रतिवेदन र विधान संशोधन प्रस्ताव सही नै रहेको धारणा राख्दै परिमार्जन र सुधारका लागि आ–आफ्ना थप सुझाव राख्नुभएको छ । ‘राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टीलाई व्यवस्थित गर्ने, संगठनलाई अझ सुदृढीकरण गर्ने, विचार र आचरण सुधार गर्नुपर्ने, पार्टीको आगामी कार्ययोजनालाई मूर्त बनाई कार्यान्वयन गर्नुपर्ने, सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने जस्ता विषयहरुमा आ–आफ्नो कोणबाट वक्ताहरु केन्द्रित रहनुभयोे,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । स्थायी समितिको अर्को बैठक पुस ३ गते बिहान ११ बजे धुम्बाराही बस्ने नेकपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्