जनता टाइम्स

२ पुष २०७६, बुधबार १८:०३

महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्न कतार सरकार ईच्छुक


काठमाडौं, पुष २

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ समक्ष नेपालका लागि कतारका राजदुत युसुफ विन मोहम्मद अल हेलले शिष्टाचार भेट गर्नु भएको छ । बुधबार सिंहदरबारस्थित मन्त्री गुरुङकै कार्यकक्षमा भएको शिष्टाचार भेटवार्तामा द्धीपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल गरिएको हो ।

भेटका अवसरमा राजदुत हेलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयजस्तो महत्वपूर्ण क्षेत्र हेर्ने मन्त्रालय सम्हाल्नु भएकोमा कतार सरकारको तर्फबाट बधाई दिँदै महिला तथा बालबालिकाको क्षेत्र कतार सरकारको पनि प्राथमिकतामा परेको क्षेत्र भएको जानकारी गराउनु भएको थियो । त्यसैगरी उहाँले मन्त्री गुरुङलाई कतारको विकासमा नेपाली युवाहरुले महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै नेपालको महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्न कतार सरकार ईच्छुक रहेको पनि बताउनु भयो ।

यता, मन्त्री गुरुङले पनि महिला तथा बालबालिकाको क्षेत्रमा कतार सरकारसँग सहकार्य गरेर अघि बढने बताउनु भयो । उहाँले नेपालको संविधान र कानुनले महिला सहभागितालाई सुनिश्चित गरेको स्मरण गराउँदै उद्यमशिलतामार्फत् नेपाली महिलाहरुलाई आर्थिक रुपमा सुदृढ गराउन सकिने विश्वास पनि व्यक्त गर्नु भयो ।

मन्त्री गुरुङले नेपाली महिलाको सीप विकास गर्न तथा महिला उद्यमीको उत्पादनलाई कतारमा बजार विस्तार गर्न दुई मुलुकबीच सहकार्य गरेर जान सकिने पनि बताउनु भयो । उहाँले राजदुत हेललाई नेपालको समग्र विकास तथा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरेकोमा आभार पनि व्यक्त गर्नु भएको थियो ।