जनता टाइम्स

३ पुष २०७६, बिहीबार ०८:३५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग


वाशिङटन । अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको प्रस्तावमा बहुमत सदस्यले महाअभियोगको पक्षमा मत हालेका छन् ।

ट्रम्पको विरुद्धमा भएको मतदानमा पार्टीको लाइनअनुसार नै महाअभियोगको पक्षमा २२९ र विपक्षमा १९७ मत परेको थियो ।

तल्लो सदनमा विपक्षीको बहुमत भएकाले यो प्रस्ताव पास हुने निश्चित थियो । तर,अहिले नै ट्रम्प पदबाट हट्ने भने होइनन् । किनकि यो प्रस्ताव दुई तिहाइले माथिल्लो सदनबाट पनि पास हुनुपर्छ । माथिल्लो सदनमा भने ट्रम्प पक्षधर रिपब्लिकनको बहुमत रहेको छ ।

सो सम्बन्धि प्रक्रिया आउँदो जनवरीमा मात्रै सुरु हुने जनाइएको छ । ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया संसदमा चलिरहेको बेलामा ट्रम्पले सभामुख नान्सी पेलोसीलाई मंगलबार एउटा पत्र पठाएका थिए । आफूले डेमोक्र्याट्स पार्टीका तर्फबाट अघि बढाइएको महाअभियोगको कडा रुपमा विरोध गर्ने जनाउँदै उनले यो महाअभियोग अमेरिकाको अढाइ दशक यताको इतिहासमा डेमोक्रयाट्स सांसदबाट अप्रत्याशित र असंवैधानिक रुपमा शक्तिको दुरुपयोग भएको आरोप लगाएका थिए । उनले महाअभियोग जस्तो खराब विषयलाई सस्तो बनाउने काम सभामुखले गरेको समेत आरोप लगाएका थिए । उनले महाअभियोगको प्रक्रिया अघि बढाएर सभामुखले आफूले लिएको शपथको पनि उल्लंघन गरेको र सभामुखले अमेरिकाको लोकतन्त्रमाथि युद्धको घोषणा गरेको समेत राष्ट्रपतिले आरोप लगाएका थिए ।
६ पृष्ठ लामो उनको पत्रबारेमा टिप्पणी गर्दै सभामुख पेलोसीले आफूले पुरै पत्र पढी नसकेको बताएकी थिइन् ।

ट्रम्पले डेमोक्र्याट्स नेता जो बाइडेनलाई छानबिन गर्न युक्रेनका प्रधानमन्त्रीलाई आग्रह गरेको विषयलाई लिएर महाअभियोग प्रक्रिया अघि बढेको हो । उनी माथि विपक्षी नेता जो बाइडेनको विरुद्धमा छानबिनका लागि युक्रेनका प्रधानमन्त्रीलाई आग्रह गरेको र अर्को आफ्नो शक्तिको दुरुपयोग गरी अमेरिकी कंग्रेसको काम अवरुद्ध गरेको दुई विषयमा महाअभियोग प्रस्ताव अघि बढेको हो ।

शक्ति दुरुपयोग गरेको विषयमा भएको मतदानमा पनि ट्रम्पको विरुद्धमा २३० मत र ट्रम्पको पक्षमा १९७ मत परेको छ । सो प्रस्ताव पास हुनका लागि २१६ मत मात्रै भए पनि पुग्थ्यो । तर , आवश्यक भन्दा १४ मत बढी ट्रम्पले शक्ति दुरुपयोग गरेको पक्षमा परेको छ । उता सभामुख नान्सी पेलोसीले यो दुःखदायी क्षण भएको जनाउँदै राष्ट्रपति ट्रम्पको अधम कार्यले गर्दा यो अवस्था आएको र आफूहरुसँग अर्को विकल्प नभएको जनाएकी छन् ।