जनता टाइम्स

३ पुष २०७६, बिहीबार १०:०५

शैक्षिक क्षेत्रको गुणस्तर उकास्न सरकारले जोड दिदैछ : मन्त्री कार्की


गौरीगञ्ज, पुष ३

प्रदेश-१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले देशको शैक्षिक गुणस्तर उकास्न प्रदेश सरकारले जोड दिँदै आएको बताउनुभएको छ । झापाको गौरीगञ्जस्थित गौरीगञ्ज बहुमुखी क्याम्पसको २८औँ वार्षिकोत्सवको बुधबार उद्घाटन गर्दै मन्त्री कार्कीले देश विकासको पहिलो सूचक शिक्षा भएकाले शिक्षाको विकास गर्न सरकार लागिपरेको जोड दिनुभयो । शैक्षिक गुणस्तरलाई सुधार गर्न सकेमात्र देशले उच्च फड्को मार्ने भएको बताउँदै मन्त्री कार्कीले भन्नुभयो, “शिक्षाको समुचित विकासमा सरकारमात्र होइन, हरेक वर्ग, समुदायको हातेमालो आवश्यक छ ।”

फरक प्रसंगमा मन्त्री कार्कीले गौरीगंज क्षेत्रको विकास नयाँ ढंगबाट अघि बढिरहेको समेत बताउनु भयो । उहाले गौरीगंजमा भन्सार, बाटो, विजुली, पुल, नाला लगायतका पूर्वाधारहरुको निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेकोले दमक र गौरादह भन्दा गौरीगंजको विकास सबै भन्दा बढि र नयाँ ढंगबाट अघि बढिरहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा समाजसेवी श्रवण गिरीले क्याम्पसको छात्रवृत्ति कोषमा जम्मा हुने गरी रु ३३ हजारको चेक क्याम्पस सञ्चालन समितिका अध्यक्ष बाबुराजा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । त्यसैगरी रामलाल जी धापादेवी गोल्छा च्यारिटी ट्रष्टका प्रतिनिधि शङ्कर कौशिकले उत्कृष्ट ११ जना विद्यार्थीलार्ई रु ५१ हजारको छात्रवृत्ति रकम प्रदान गरियो भने ज्ञानबहादुर राईद्वारा स्थापित शिवमाया स्मृति पुरस्कार दुई जनालाई रु १० हजार छात्रवृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा चन्दादाता तथा शैक्षिक व्यक्तित्व कुमार भण्डारी र नेपाल आयुर्वेदिक औषधि व्यवसायी सङ्घ प्रदेश १ का सचिव गोविन्द तिवारीलाई दोसल्ला ओढाई सम्मानसमेत गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारसमेत वितरण गरिएको थियो । कार्यक्रममा क्याम्पसप्रमुख सर्वतलाल राजवंशीले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।