जनता टाइम्स

३ पुष २०७६, बिहीबार १२:४१

प्रमुख प्रशासकीय अधिकृत कुटने उदण्ड वडाध्यक्ष पक्राउ


रुकुम, पुस ३ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ परेका छन । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई कुटपिट गरेर घाइते बनाउने सोही नगरपालिका ३ का अध्यक्ष केशरमान विकलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार राती प्रमुख प्रशासकीय अधिकृत केसीमाथि आक्रमण भएको हो । वडाध्यक्ष विक नेतृत्वको युवाहरुले आक्रमण गर्दा घाइते भएका केसीको टाउकोमा ५ वटा टाका लगाइएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार कार्यालयको काम सकेर आफ्नो निवासतर्फ जाँदै गर्दा नगरपालिका ९ को राडी बजार नजिकै प्रमुख प्रशासकीय अधिकृत केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि आक्रमण भएको थियो ।

वडाध्यक्ष विकसहित उनका भाइ गोपाल विकलगायतका युवाले आक्रमण गरेको डीएसपी खड्काले बताउनु भयो । वडाध्यक्ष केशरमानलाई प्रहरीले पक्राउ गरेपनि गोपाल फरार छन । वडाध्यक्ष केशरमानको डोजरले काम गरेको पैसा भुक्तानी नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत केसीमाथि आक्रमण गरेर प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी खड्काले बताउनु भयो । यता पीडित केसीले किटानीसहित प्रहरीमा उजुरी दर्ता गर्नुभएको छ । मुद्दा दर्ता भएसँगै घटनाको विषयमा गम्भीर रूपमा अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

घटनाको विषय लिएर नगर उपप्रमुख गीता नेपालीले विज्ञप्ति जारी गर्दै तत्काल दोषीलाई कारबाहीको माग गर्नुभएको छ दुई/तीन दिनदेखि पिछा गरेर केसीमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ । कर्मचारीले पनि छुट्टै विज्ञप्ति निकालेका छन । कर्मचारीले वडा नम्बर ३ का अध्यक्षको योजनामा उनका भाइ गोपाल र हरिश विकले निमित्त प्रमुख प्रशासकीय अधिकृत र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि आक्रमण गरेको भन्दै कडा कारबाहीको माग गरेका छन् । दोषीमाथि कारबाही नभएसम्मका लागि बिहीबारदेखि नगरपालिकाको कुनै पनि काम नगर्ने घोषणा पनि कर्मचारीले गरेका छन ।