जनता टाइम्स

३ पुष २०७६, बिहीबार १२:५३

उच्च अदालतमा पूर्वसभामुख महराको मुद्दामा सुनुवाई हुँदै : जेलमै राख्ने कि छाडने बिषयमा यस्तो छ संभावना


काठमाडौं, पुस ३ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई उनको कोठामै पुगेर जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा उच्च अदालतमा आज सुनुवाइ हुँदैछ।

महराको मुद्दा उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी रहेको छ । यसअघि उच्च अदालतले जिल्ला अदालतको आदेश मगाउने निर्णय गरेको थियो । आजको सुनुवाइमा उच्च अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको निर्णय सदर गर्ने बा बदर गर्ने निर्णय गर्ने छ । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्यायो भने महरा थुनामुक्त हुनेछन । जिल्लाकै आदेश सदर गरेमा भने उनी थुनामै बस्नुपर्नेछ ।

यसैगरी जिल्ला अदालतमा पनि महराको बकपत्र चलिरहेको छ । सोमबारदेखि जिल्ला अदालत काठमाडौंमा बकपत्रका लागि उपस्थित गराइएको हो । न्यायाधीश अम्बिरराज पौडेलको इजलासमा महराको बकपत्र भइरहेको छ । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा उनलाई मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशले महरा डिल्लीबजार कारागारमा बसिरहेका छन्।

संसद सचिवालयकी कर्मचारी शाहीलाई उनको कोठामा पुगेर असोज १२ गते बलात्कार गर्ने प्रयास गरेको आरोपमा महराविरुद्ध मुद्दा दायर भएको थियो । सभामुखबाट राजीनामा दिएका र सांसद पदबाट निम्लबनमा परेका महराले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आएका छन । तर अदालतले तत्कालीन अवस्थामा प्रमाणहरू प्राप्त भएको भन्दै उनलाई थुनामा पठाएको थियो । महराविरुद्ध बिहीबार बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

आइतबार महरालाई बन्द इजलासमा बकपत्र गराइएको थियो । उनले आफू बलात्कारका लागि नभई सम्झाउन पुगेको तर आफूमाथि गलत आरोप लगाएको भन्दै आफ्नो बचाउ गरेका थिए । महराले आरोपी शाहीसँग अभिभावकको सम्बन्ध भएको स्वीकार गर्दै यस्तो आरोप किन लगाइन् त्यसबारे आफू अनभिज्ञ रहेको बताएका छन । बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ गते सभामुख निवासबाटै पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो । पुर्पक्षका लागि कारागार चलान गरिएका महरा निर्दाेष रहेको भन्दै शाही उच्च अदालतमा समेत पुगेकी छन ।