जनता टाइम्स

३ पुष २०७६, बिहीबार १४:१४

बेलायती राजदुतले भेटिन महिला, बालबालिकामन्त्री पार्वत गुरुङ, गरिन सहकार्य गर्ने यस्तो अठोट


काठमाडौं, पुस ३ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङसँग नेपालका लागि बेलायती राजदुत निकोला क्याथरिन पोलिटले शिष्टाचार भेटबार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्री गुरुङकै कार्यकक्षमा आज भएको भेटवार्तामा द्धीपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको छ ।

भेटका अवसरमा राजदुत पोलिटले नेपाल र बेलायतबीच लामो सम्बन्ध रही आएको उल्लेख गर्दै आफू सो सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल आएको बताउनु भयो । उहाँले मन्त्री गुरुङ समक्ष बेलायत सरकार नेपालका महिला र बालबालिकाको क्षेत्रमा काम गर्न इच्छुक रहेको जानकारीसमेत गराउनु भएको छ । राजदुत पोलिटले आफू पनि व्यक्तिगत रुपमा महिला भएकाले नेपाली महिलाको चुनौतिको विषयमा बुझ्न ईच्छुक रहेको तथा बाल बिवाह र महिला हिंसाको अन्त्य गर्ने विषयमा नेपाल सरकारसँग मिलेर काम गर्ने आफ्नो योजना र चाहना रहेको जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री गुरुङले नेपालका लागि बेलायतको पहिलो महिला रादजुत हुनुभएकोमा बधाई दिँदै राजदुत पोलिटको कार्यकालमा नेपाली महिलाहरुको आर्थिक सशक्तिकरणको क्षेत्रमा सहकार्यका साथै द्धिपक्षीय सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको केही समय अघि भएको बेलायतको औपचारिक भ्रमणको स्मरण गराउँदै यसले दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन सघाउ पुर्याएको बताउनु भयो । मन्त्री गुरुङले नेपाल सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्प लिएको स्मरण गराउँदै सो अभियानमा लगानी गर्न आवश्यक वातावरण बनेको भन्दै बेलायती लगानीकर्तालाई नेपालमा लगानी गराउन आवश्यक सहयोग हुने अपेक्षा राख्नुभयो ।

मन्त्री गुरुङले हाल मन्त्रालयले बाल विवाह अन्त्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण गरिरहेको तथा महिला हिंसा अन्त्यका लागि सबै प्रदेश र स्थानीय तहमा सोही अनुसार अभियान संचालन भईरहेको पनि बताउनु भयो । उहाँले राजदुत पोलिट आफै महिला हुनु भएकाले उहाँको कार्यकालमा दुई मुलुकका महिलाबीचको जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत व्यक्त गर्नु भयो ।