जनता टाइम्स

१६ असार २०८३, मंगलवार ०१:३४

मार्टिनेलीको इन्जुरी टाइम गोलसँगै अन्तिम १६ मा ब्राजिल, जापान स्तब्ध


काठमाडौं, असार १६ । गाब्रीएल मार्टेीनेलीले इन्जुरी टाइममा निर्णायक गोल गरेसँगै जाापनलाई २-१ ले पराजित गर्दै ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मार्टिनेलीले अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा निर्णायक गोल गरेर टीमलाई बिजयी बनाए । पाँच पटकको च्याम्पियन ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको स्थिती उल्टाउँदै जित हात पारेको हो ।

ब्राजिलले अब आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ । जापानका लागि काइसु सानोले २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले मैदानको बिच भागमा ब्राजिलियन खेलाडीको मिस पासलाई कलेक्ट गर्दै एक्लै बल अगाडि बढाउँदै गोल गरेका हुन् । सानोको लामो प्रहार ब्राजिलका गोलकिपर एलिसन बेकरले रोक्ने कुनै अवसर पाएनन् । जर्मन क्लब मेइन्ज ०५ बाट खेल्ने जापानका लागि सानोको यो पहिलो गोल समेत हो ।

दोस्रो हाफमा ब्राजिल खेलमा फर्कियो । ब्राजिलका लागि मिडफिल्डर कासेमिरोले ५६औं मिनेटमा हेड मार्फत गोल गरे । उनले गाब्रीएल मागल्हाएसको क्रसमा गोल गरेका हुन् । पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफको सुरुवातदेखि नै जापानमाथि लगातार दबाब बनाएको थियो । तर जापानका गोलकिपर जिओन सुजुकीले उत्कृष्ट बचाउ गर्दा ब्राजिलले गोल गर्न सकेको थिएन ।

तर कासेमिरोले गोल गर्दै खेल बराबरी गरे । कासेमिरो ब्राजिलका लागि विश्वकपमा गोल गर्ने दोस्रो पाका खेलाडी समेत बने । उनले ३४ वर्ष १२६ दिनको हुँदा गोल गरेका हुन् । यसअघि बेबटोले ३४ वर्ष १३७ दिन हुँदा सन् १९९८ मा डेनमार्क विरुद्ध गोल गरेका थिए ।

५२औं मिनेटमा ब्राजिलका डानिलोको पासमा ब्रुनो गुमाइरेसको हेडर जापानका गोलकिपर सुजुकीले उत्कृष्ट बचाउ गरेका थिए । यस्तै ५४औं ब्राजिलका कासेमिरोले हानेको बल जापानका डिफेन्डरले गोललाइनबाट बचाएका थिए ।त्यसपछि लगत्तै भिनिसियसको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

निर्धारित समयको खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला ब्राजिलका लागि इन्जुरी टाइममा मार्टिनेलीले विजयी गोल गरेर जित पक्का गरे ।