जनता टाइम्स

४ पुष २०७६, शुक्रबार ०८:३३

रोशनी शाहीको बयान फेरिए पनि फेरिएन प्रमाण : उच्च अदालतले पनि यसकारण पठायो महरालाई जेल


ललितपुर, पुस ४ । बलात्कारको अभियोगमा पुपक्र्षका लागि थुनामा पठाइएका पूर्वसभामुख कृष्णबहादुर महराको पुनरावेदन मुद्दामा बिहीवार उच्च अदालतमा सुनुवाई चलिरहेको थियो । सवैको कौतुहलताबीच एक्कासी पीडित रोशनी शाही पनि इजलाशमा पुगिन । हल्का रातो रङको कुर्ता, कालो सुरुवाल र कालै सलमा रोशनी शाही बिहीबार उच्च अदालत पाटन पुगिन्।

उनकै जाहेरीका आधारमा जबर्जस्ती करणी उद्योग मुद्दा चलाइएका तत्कालीन सभामुख महराको निवेदनउपर उच्चमा सुनुवाइ चल्दै थियो। उनी साढे ११ बजेतिर अदालतमा पुगिन उनी अदालत परिसरमा पस्नुअघि मुख्य प्रवेशद्वारबाहिर केही समय रोकिइन्। अलमलमा परेजस्तो देखिन्थिन्। केही समयपछि उनी सिधै इजलासतर्फ लागिन्। कालो सलले टाउको ढाकेकी थिइन् भने मुखमा मास्क थियो। अदालतभित्र पस्दा दुवै आँखा झुकेका थिए। न मुहारमा चमक देखिन्थ्यो। उनी कसैसँग बोलिनन्। निराश अनि गम्भीर भावभंगीमा इजलासमा बसिरहिन्। अदालतबाट बाहिरिँदै गर्दा पनि उनी उस्तै भावभंगीमा देखिन्थिन्।

महराविरुद्धको मुद्दामा दिनभर सुनुवाइ चलेको थियो। उनी इजलासको अन्तिम सिटमा एक्लै बसेकी थिइन्। उत्सुकताका साथ बहस सुनिन्। अदालतबाट अपराह्न ४ बजेतिर बाहिरिइन । उनलाई इजलासबाट ‘तपाईंको केही भन्नु छ ? ’ भनेर सोधिएको थियो। जवाफमा उनले आफूलाई ‘के के भयो भयो ? ’ मात्र भनिन्। ‘फसाइयो’ भन्दै गर्दा उनको बोली रोकियो। उनी भावुक बनिन । आफ्ना कुरा राखेर बाहिरिइन । अदालतबाट बाहिरिएको डेढ घण्टापछि मात्रै इजलासबाट महरालाई थुनामै राख्ने आदेश आयो।

मुद्दामा सुनुवाइ चलिरहँदा अदालत परिसरमा महरातर्फका आफन्त र शुभेच्छुकको आउजाउ बाक्लो थियो। अदालतभित्र प्रवेश गर्न सुरक्षाकर्मीले प्रवेशद्वारमा कडा सुरक्षा जाँच गरेका थिए। कडा सुरक्षाबीच बन्द इजलासमा सुनुवाइ चलिरहँदा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पनि पुगेका थिए। राजनीतिक कार्यकर्ता, कानुन व्यवसायी, पत्रकार र सर्वसाधारणले उत्सुकतापूर्वक आदेशको प्रतीक्षा गरेका थिए। रोशनी महरा बचाउन उच्च अदालतमै पुगे पनि अदालतले जिल्ला अदालतकै आदेश सदर गरी महरालाई कारागारमै पठाउने निर्णय गर्यो ।