जनता टाइम्स

४ पुष २०७६, शुक्रबार ०९:३२

सीमा सुरक्षामा देखियो ओली सरकार गम्भीर : सीमा नाकामा एकैपटक एक सय १४ बिओपी थप


काठमाडौं, पुस ४ । सरकारले छिमेकी मुलुक भारतसँग सीमा विवाद बढेपछि एकैपटक सीमामा एक सय १४ वटा बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गर्ने निर्णय गरेको छ । सीमा सुरक्षाको बिषयमा गम्भीर बन्दै सरकारले चीनसँगको सीमानामा चार र भारतसँगको सीमानामा एक सय १० वटा बिओपी थप गर्ने निर्णण गरेको हो ।

सरकारका प्रवक्ता एवै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सीमामा सशस्त्र प्रहरी बलअन्र्तगत एक सय सातवटा बिओपी थिए । एकैपटक एक सय १४ थप भएसँगै भारतसँगको सीमामा अब सात हजार पाँच सय सशस्त्र प्रहरी बल तैनाथ हुनेछ । कालापानीमा भारतको अतिक्रमणको विषय चर्किएपछि सीमा सुरक्षा बलियो बनाउन भन्दै बिओपी थप गर्न लागिएको हो । सरकारले औद्योगिक, राजस्व तथा भन्सार गुल्ममा कार्यरत सशस्त्र प्रहरीको दरबन्दी कटौती गरेर बिओपी स्थापना गर्न लागेको हो ।

खासगरी, तराई क्षेत्रका औद्योगिक क्षेत्रमा सशस्त्र समूह तथा अन्य आपराधिक समूहले धम्की र चन्दा आतंक मच्चाएपछि सरकारले उद्योगको सुरक्षाका लागि गुल्म स्थापना गरेको थियो । पछिल्लो समय उद्योग क्षेत्रमा सुरक्षाको ठूलो समस्या नभएकाले सरकारले त्यहाँबाट दरबन्दी कटौती गर्न लागेको हो । स्थापना गर्न लागिएका बिओपीमध्ये चारवटा चीनसँगको सिमानामा राख्न लागिएको हो । मन्त्री बाँस्कोटाका अनुसार दार्चुलाको कालापानी, हुम्लाको हिल्सा मुस्ताङको कोरला, संखुवासभाको किमाथांकामा बिओपी स्थापना गर्न लागिएको छ । जसमध्ये कालापानी, कोरला र किमाथांकामा बिओपी राख्ने अन्तिम तयारी भइरहेको छ ।