जनता टाइम्स

४ पुष २०७६, शुक्रबार १२:०४

राष्ट्रिय सभामा सत्तारुढ नेकपाको सिट संख्या ४७ पुग्ने, कांग्रेस ६ सिटमा सिमित हुने निश्चित


काठमाडौं, पुष ४

राष्ट्रिय सभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सिट सख्या ४७ पुग्ने भएको छ । माघ ९ मा हुने चुनावमा अहिलेसम्मको प्रारम्भिक मत सर्वोक्षण अनुसार १८ मध्ये १६ सिट नेकपाले जित्ने देखिएको छ । चुनावमा यसअघि जितेको सिट मध्ये कांग्रेसले सात र समाजवादीले एक सिट गुमाउने भएका हुन् । ति दुवै सिट नेकपाले जित्ने देखिएको छ ।

नेकपा र राजपाबीच दुई बुँदे सहमति भएसँगै प्रदेश दुई बाट रिक्त हुने राष्ट्रिय सभाका चार सिटमा नेकपा र राजपाले २–२ सिट बाँडफाँट गरेका छन् । यससँगै राजपाले यसअघिको आफ्नो दुई सिट यथावत नै रहने भएको छ । यसअघि प्रदेश २ बाट छानिएकामध्ये राजपाका दुईजना र कांग्रेस–समाजवादीका १–१ सीटमा यसपालि नेकपा र राजपाले २–२ सीट लिने गरी प्रदेश २ का लागि गठबन्धन गरेका हुन् ।

राष्ट्रिय सभामा रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसको १३ मध्ये ७, राजपाका २ मध्ये २ जनै र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि फागुन २० गते सकिन लागेपछि रिक्त हुने स्थानका लागि माघ ९ गते चुनाव हुन लागेको छ । चुनावका लागि निर्वाचन आयोगले पुष २० गते उम्मेदवारी दर्ताको मिति तोकेको छ ।