काठमाडौं, असार २० । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रमख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) डाक्टर मनोज केसीको नाममा इमले आतंक गरिएको पाइएको छ ।
गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सिआइवी प्रमुख केसीलाई ब्यूरोबाट प्रहरी प्रधान कार्यालय ल्याउने टुंगो गरेकै बेला एआइजी मनोजको नाममा सयौं ब्यक्तिलाई इमले पठाएर आतंकित बनाइएको पाइएको हो । एआइजी मनोज हक्की र खरो स्वभावका प्रहरी बरिष्ठ अधिकारी मानिन्छन । सोही कारण उनको नाममा इमले आतंक मच्चाएर असुली योजना बनाइएको पाइएको छ ।
सिआइवी प्रमुख केसीको नाममा पठाइएको इमेलमा भनिएको छ, ‘यस घटनाको गम्भीरतालाई मध्यनजर गर्दै, मैले यस विषयमा तपाईँलाई व्यक्तिगत रूपमा सम्पर्क गर्ने निर्णय गरेको छु । यदि तपाईं आफ्नोविरुद्ध ’सेन्ट्रल इन्भेस्टिगेसन ब्युरो’ (सिआइवी) बाट कुनै कानुनी कारबाही होस् भन्ने चाहनुहुन्न भने कृपया यस सन्देशको तत्काल जवाफ दिनुहोस । यदि तपाईंबाट कुनै प्रतिक्रिया प्राप्त नभएमा, म सिआइवीलाई अदालतमा मुद्दा दर्ता गर्न अनुमति दिनेछु र अदालतको आदेशको प्रतिलिपि तपाईंलाई पठाइनेछ ।’
सरकारले असार १८ गते मात्रै सिआइवी प्रमुख केसीसहित आठ एआइजीको सरुवा गरेको छ । त्यसभन्दा एकसाता अघि देखि यस प्रकारको इमेल पठाएर आतंकित पार्ने र असुली गर्ने काम भएको स्रोतले जनताटाइम्स डटकमलाई बतायो । यस बिषयमा सिआइवीले आफै अनुसन्धान अघि बढाएको छ भने साइबर ब्यूरोले पनि छानविन गरिरहेको बताएको छ ।
यो काम सिआइवीमै रहेका प्रहरीदेखि सत्तानिकट देखाएर ठगी गर्न बिगतदेखि नै लागेका ‘साइबर गिरोह’ रहेको स्रोतले जनताटाइम्स डटकमलाई बताएको छ । सिआइवीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जवराको बिज्ञप्तीले पनि एआइजी मनोजको नाममा ईमेल आतंक मच्चाइएको तथ्यलाई पुष्टि गरेको छ । सिआइवी प्रवक्ता जवराले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ, ‘ पछिल्लो समयमा यस ब्यूरो तथा ब्यूरो प्रमुख ज्यूको नाम दुरुपयोग गरी ठगी गर्ने अभिप्रायले विभिन्न व्यक्तिहरुलाई ई–मेल मार्फत म्यासेजहरू अनधिकृत इमेलमार्फत पठाइएको पाइएकोमा ध्यानाकर्षण भएको छ ।’
ब्यूरोको यो बिज्ञप्तिले आपाराधिक योजना बनाएरै सत्ता निकट रहेको ब्यक्तिहरुले एआइजी केसीको सरुवाको सुईंको पाएर अभियान नै चलाएको तथ्यलाई समेत उजागर गरेको छ । ‘प्रहरीसँग सम्बन्ध रहेका र सत्तानिकट रहेकाहरूले मात्रै यस्ता आपराधिक योजना बनाउन सक्छन, उनीहरुलाई सिआइवी प्रमुख सरुवा हुने सुईको पहिला नै भइसकेको अनुमान गर्न सकिन्छ,’ नेपाल प्रहरीका एक पूर्व डिआइजी भन्छन । उनका अनुसार सवै कुराको जानकार भएका समुहले मात्रै र्याकेट बनाएर यस्तो हर्कत गर्न सक्छन ।

यस बिषयमा सिआइवीले कडा कार्वाही हुने चेतावनी दिएको छ । सिआइवीले बिज्ञप्तिमा भनेको छ, ‘विभिन्न म्यासेजहरु अनधिकृत ईमेलहरू मार्फत यस ब्यूरोको नाम प्रयोग गरीएको सम्वन्धमा यस ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता म्यासेजहरू यस ब्यूरो तथा ब्यूरो प्रमुखज्यूबाट ईमले तथा पत्राचार नगरिएको व्यहोरासमेत अनुरोध गरिन्छ । साथै यस्ता भ्रामक तथा अफवाहयुक्त ईमेलहरूमा विश्वास नगर्न हुनसमेत केन्द्रीय अनुसन्धान ब्यूरो सम्वन्धित सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध गर्दछ ।’













प्रतिक्रिया दिनुहोस्