जनता टाइम्स

२० असार २०८३, शनिबार १४:१६

प्रचण्डको ठोकुवा : बालेन सरकार सय दिनमै पूर्णत असफल सावित भयो


रुपन्देही, असार २० । पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल, प्रचण्डले बालेन शाह नेतृत्वको सरकारको सय दिन उपलब्धीशून्य भएको र पूर्णत असफल रहेको ठोकुवा गर्नुभएको छ ।

लुम्बिनी प्रदेशस्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका लागि शनिवार बुटवल आउनुभएका संयोजक दाहालले पत्रकारसँग संक्षिप्त कुरा गर्दै यस्तो निश्कर्ष सुनाउनु भएको हो ।संयोजक दाहाल सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, बलदेव खनालसहितका शीर्ष नेताहरुसहित प्रदेशस्तरीय प्रशिक्षण तथा पार्टी एकतापछि पहिलो पटक शपथग्रहण कार्यक्रमका लागि बुटवलमा आउनु भएको हो ।

‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो, त्यो भ्रम टुटेको छ । यो सरकारको सय दिन पूर्णत असफल भएको देख्छु म,’ दाहालले भन्नुभयो । उहाँले सरकार बन्नुअघि रास्वपाले जनतामा दिएको भ्रम अव तोडिने बिन्दुतिर गएको भन्दै बालेन सरकारलाई घभ्रम दिने तर काम गर्न नसक्ने असक्षम’ को संज्ञा पनि दिनुभयो । फरक प्रसंगमा उहाँले अहिले नै बामएकताको कुरा कुनै नभएको तर सहकार्यको लागि समन्वय गरेको जानकारी दिनुभयो ।

बाम एकताको लागि तपाईले समन्वय गरेको कुरा छ नि भन्ने प्रश्नको जवाफमा दाहालले भन्नुभयो, ‘बाम एकताभन्दा पनि कांग्रेस–एमाले, मधेसवादी दललगायत सबैसँग सहकार्यको कुरा हो, अहिले एकताको कुरा छैन, सहकार्यमा हामीले त्यसमा समन्वय गरिराखेका छौं ।’