जनता टाइम्स

२० असार २०८३, शनिबार १८:२९

महेश बस्नेतको घोषणा : एमालेले बालेन र सुधनसँग एक–एक हिसाब हुन्छ


काठमाडौं, असार २० । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङसँग एमालेले एक–एक हिसाब राखेको बताउनु भएको छ ।

एमाले मुख्यालय च्यासलमा आयोजित बागमती प्रदेशको ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले उस्तो चेतावनी दिनुभएको छ । उहाँले सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद भवन, सर्वोच्च अदालत लगायतका भौतिक सम्पत्ति जलाइएको देखि एमालेका नेतामाथि धरपकड गरिएको विषयसम्म हिसाब राखिएको बताउनु भयो ।

‘बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ। तिमीहरूसँग यसको हिसाब हुनेछ। एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ,’ बस्नेतले भन्नुभयो । उहाँले अहिले पनि एमाले उपाध्यक्ष विष्णु पौडेललाई ‘वाहियात’ आरोप लगाएर थुनिएको भन्दै कडा आक्रोश पोख्नुभयो ।

‘हिजो मालपानीको ८ करोड रुपैयाँको गाडी चढ्ने बालेन साह आज अख्तियारबाट मालपानीलाई चोख्याउने अभियानमा लागेको छ । हिजो दीपक भट्टसँग शेयर लिने सुदन गुरुङ आज ढुक्कसँग हिँडिरहेको छ । अहिले समाचार सुन्दैछौँ–उनी बेपत्ता भएका रे । कुकर्म गर्नेहरू स्वाभाविक रूपमा बेपत्ता हुनेवाला छन्,’ सचिव बस्नेतले भन्नुभयो ।

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शपथ ग्रहण गरेको २४ घन्टा नबित्दै पक्राउ गरिएको विषयको पनि हिसाबकिताब हुने बताउनु भयो ।