जनता टाइम्स

४ पुष २०७६, शुक्रबार १३:२७

ओली-प्रचण्डबीच जुट्यो सभामुखमा सहमति


काठमाडौं, पुस ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ । । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच सभामुख चयन, पार्टी स्थायी कमिटी बैठक, पार्टीका विभिन्न विभागको पूर्णतालगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएकाले सभामुख चयनका विषयमा अध्यक्षद्वयबीच छलफल भएको हो । संसद बैठक पहिले दिउँसो २ बजे नेकपाको संसदीय दलको बैठक बस्दैछ । दलको बैठकअघि दुई अध्यक्षबीच सभामुख कसलाई बनाउने भन्ने बिषयमा सहमति जुटेको छ । यद्यपी दुवै नेताले प्रस्ताव गर्नुअघि नाम गोप्य राख्ने निर्णय गरेको स्रोतले जनायो ।

नेकपामा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सभामुखको दावी गर्दै आउनु भएको छ भने पूर्वसभामुख सुबास नेम्वाङ, स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउनु पर्ने प्रस्ताव पनि रहेको छ । सभामुखका आकांक्षी अन्य थुप्रै नेता रहेका छन ।