जनता टाइम्स

४ पुष २०७६, शुक्रबार १६:१६

शितलहरबाट बचाउन प्रहरीले थाल्यो आगोले बाल्ने अभियान


सिरहा, पुस ४ गते । शीतलहरले तराईका जिल्लाहरुमा चिसो अत्यधिक बढ्दै गएपछि स्थानीयहरुको जनजीवन प्रभावित बनेको छ । चिसोले सर्वसाधारण तथा मजदुरहरुको जनजीवन कष्टकर बनेपछि जिल्ला प्रहरी कार्यालय सिराहाले जिल्लाका विभिन्न ठाउँहरुमा आगो बाल्न सुरु गरिएको छ । केही दिनदेखि एक्कासी बढेको चिसोले बृद्धबृद्धा, बालबालिका र विरामीहरु प्रभावित भएका छन् ।

सिराहाको सदरमुकाम लगायत लहान, झाँझपट्टी, सुखीपुर, अर्नामा, नरहा, सन्हैठ र बेल्हा क्षेत्रको ग्रामीण बस्तीमा मानिसहरुको जमघट हुने ठाउँहरुमा दाउरा बालेर आगो ताप्ने ब्यबस्था मिलाइएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शीतलहर प्रभावित क्षेत्रमा प्रहरीले दाउरा संकलन गरेर आगो बाल्ने व्यवस्था मिलाएको र सम्बन्धित अन्य निकायसँग सम्त पहल भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।