काठमाडौं, असार २४ । विश्वकप फुटबलमा अर्जेन्टिनाले इजिप्टविरुद्ध अन्तिम १६ को खेलमा शानदार ‘कमब्याक’ जित हात पारेको छ। खेलको ७८ औं मिनेटसम्म २-० ले पछाडि परेको अवस्थाबाट एकाएक पुनरागमन गरेको अर्जेन्टिनाले एक्ट्रा समय तेस्रो गोल गर्दै इजिप्टबिरुद्ध ३–२ को जित हात पारेको हो।
यसअघि १५औँ मिनेटमै यासिर इब्राहिमले इजिप्टलाई १-० को अग्रता दिलाएका थिए। सन् २०२२ मा इजिप्टको सिनीयर टोलीमा डेब्यु गरेका इब्राहिमको यो दोस्रो अन्तराष्ट्रिय गोल हो। इजिप्टका लागि २२ औँ खेल खेलिरहेका इब्राहिमले विश्वमञ्चमा अर्जेन्टिनाविरुद्ध गोल गर्दै टोलीलाई अग्रता दिलाए।
३३ वर्ष १ सय ४७ दिनका इब्राहिमले विश्वकपको नकआउटमा गोल गर्दै इजिप्टका लागि गोल गर्ने सबैभन्दा पाका खेलाडी समेत बनेका छन्। यस्तै ६७औँ मिनेटमा मोस्ताफा जिकोले अर्को गोल थपेपछि चर्चित खेलाडी मेसीप्रेरित अर्जेन्टिना जारी विश्वकपबाट बाहिरिने पक्का जस्तै भएको थियो।
तर ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोको गोलसँगै अर्जेन्टिना पुरै लयमा फर्कियो। २-१ ले पछि परिरहँदा मेसीले ८३औँ मिनेटमा अर्काे गोल गरी खेल बराबरीमा ल्याए । ९३औँ मिनेटमा एन्जो फर्नान्डेजले थप गोल गरेर अर्जेन्टिनाको जित सुनिश्चित गरे।
फर्नान्डेजको गोलसँगै खेलमा केहीबेर तनावको अवस्था सृजना भयो। गोलको विषयमा विवाद हुँदा इजिप्टका टिम स्टाफ साफान एल्साघेरले रातो कार्ड पाए। गोलरक्षक मोस्तफा शोबिर र हम्दी फाथीले पहेलो कार्ड पाए। इजिप्टसँगको सनसनीपूर्ण जितसँगै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ। यो खेलमा मेसीले पेनाल्टीमा गोल गर्न भने चुकेका छन ।














प्रतिक्रिया दिनुहोस्