जनता टाइम्स

२४ असार २०८३, बुधबार १५:१८

सदनमा एमाले सांसद राजेन्द्र राई : सभामुखले त्यसो नगरेको भए मलाई पनि राम्रो हुन्थ्यो


काठमाडौं, असार २४ । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले आफ्नो कुरा पूरा सुन्दै नसुनी सभामुख डिपी अर्यालले माइक काटिदिएको बताउनु भएको छ । सांसद राईले बोल्दाबोल्दै सभामुख अर्यालले एकाएक माइक काटेपछि अवरुद्ध भएको प्रतिनिधि सभा बैठक पुनः सुरू भएसँगै सांसद राईले सदनमै यस्तो प्रष्टिकरण दिनुभएको हो ।

धनकुटाबाट निर्वाचित एमाले सांसद राईले सभामुखको अपहेलना हुने गरी बोलेको भन्दै सभामुख अर्यालले बैठक नै १५ मिनेट स्थगित गरी छलफल गर्नुभएको थियो । छलफलपछि पुनः सुरू भएको बैठकमा एमाले सांसद राईले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण दिनुभयो ।

उहाँले सभामुखप्रति आफ्नो सम्मान रहेको बताउँदै तर कुरै नसुनी सभामुखले माइक काटिदिएको बताउनु भयो । ’सम्मान छ, आदर छ । किन छैन ? जनताले चुनेर पठाएको हो । मैले भाषा मिलाउँदै थिएँ । कुरा गर्दै थिएँ । सभामुखले जुन कुरा भन्नुभयो त्यो मान्ने नै थिएँ । तर एकैचोटि जुन ढंगले प्रस्तुत हुनुभयो त्यो नगर्दा राम्रो हुन्थ्यो,’ सांसद राईले भन्नुभयो ।

आफूले राखेको विषय विधिमै रहेको पनि उहाँको भनाइ छ । प्रधानमन्त्री संसदमा जबाफ दिन नआएको विषय उठान गर्ने आफ्नो तयारी रहेको पनि राईले बताउनु भयो । ’हामी सत्यको पक्षमा, सामाजिक न्यायको पक्षमा सधैँ बोल्दै आएका हुनाले मैले भाषा मिलाउन खोज्दै थिएँ । म आँत्तिएको थिइनँ । मेरो कुरै नसुनी सभामुखले माइक काटिदिनुभयो । यसमा मेरो ठिक थ्यो कि तपाईंको ठिक थ्यो भन्दा पनि कतिपय कुराहरू आवेगमा आएर पनि समस्या हुने रहेछ । त्यसो नगरेको भए मलाई पनि राम्रो हुन्थ्यो,’ सांसद राईले भन्नुभयो ।

सांसद राईले विधि र नियमावली सरकारले मिचिरहेको आरोप पनि लगाउनु भयो । नियमावलीले संसदमा प्रधानमन्त्रीले जबाफ दिनुपर्ने भन्ने उल्लेख भए पनि अहिलेसम्म जबाफ दिन नआएर विधि मिचेको उहाँको भनाई छ । यसमा सभामुखले रूलिङ गर्नुपर्ने राईले माग गर्नुभयो । ’नत्र सधैँभरी हामीले उठिराख्ने हो ? आन्दोलन गरिराख्नुपर्ने हो ? कहिलेसम्म उठिराख्नुपर्ने हो ? यस्तो इतिहास सदनमा कहिल्यै देखेको थिइनँ,’ चार पटक लगातार निर्वाचित हुँदै आउनु भएका धनकुटाका सांसद राईले भन्नुभयो ।

हामी सत्यको पक्षमा, सामाजिक न्यायको पक्षमा सधैँ बोल्दै आएका हुनाले मैले भाषा मिलाउन खोज्दै थिएँ । म आँत्तिएको थिइनँ । मेरो कुरै नसुनी सभामुखले माइक काटिदिनुभयो । यसमा मेरो ठिक थ्यो कि तपाईंको ठिक थ्यो भन्दा पनि कतिपय कुराहरू आवेगमा आएर पनि समस्या हुने रहेछ । त्यसो नगरेको भए मलाई पनि राम्रो हुन्थ्यो

संसदमा प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिबारे पनि स्पष्ट पार्नुपर्नेमा उहाँले जोड दिनुभयो । ’अब प्रधानमन्त्रीले संसदमा आएर जबाफ दिनुपर्छ । जबाफ दिनुभएन भने आन्दोलन गर्न लगाको लगाइ भाषण गर्न लगाका लगाइ उठाएको उठायै गर्नू बेठिक हुन्छ,’ राईले भन्नुभयो ।

उहाँले आफ्नो जिल्ला धनकुटामा बाँदर नियन्त्रणको कुरा आफूले पहिल्यै संसदमा राखेको भए पनि त्यसको सुनुवाइ नभएको भन्दै आक्रोश पोख्नुभयो । त्यसबारेमा सरकारले कार्यदल गठन गरेको तर त्यसले के काम गरिरहेको छ भनेर संसदलाई जानकारी नगराइएको सांसद राइले बताउनु भयो ।

’सात दिनमा जबाफ आओस् भनेको थिएँ । कार्यदलले के काम गरिरहेको छ ? त्यसको जानकारी यो सदनले जान्न पाउनुपर्छ । यत्रो नयाँ सरकार आइसकेपछि बाँदर नियन्त्रण त हामीले गर्न सकेनौं भने ठूलो समस्या बन्छ,’ सांसद राईले भन्नुभयो ।