जनता टाइम्स

५ पुष २०७६, शनिबार ०८:०२

महानगरको महान काम : चार रातमा दुई सय पन्ध्र बेसहाराको उद्धार


काठमाडौं, पुस ५ । काठमाडौं महानगरपालिकाले चार रातमा सडक किनारामै सुत्ने २१५ जना व्यक्तिलाई उद्धार गरेको छ । महानगरपालिकाले आफ्नो २५ औँ वार्षिकोत्सवका अवसरमा गत मङ्सिर २९ गतेदेखि यही पुस २ गतेसम्म उद्धार अभियानमा चलाएको थियो ।

अभियान सुरु भएको पहिलो दिन सात महिला, ३४ पुरुष र एक बालक गरी ४२ जनाको उद्धार भएको थियो भने दोस्रो दिन १० महिला, ४५ पुरुष एक बालक र एक बालिका गरी ५७ जनालाई उद्धार गरिएको थियो । यही पुस १ गते ११ महिला, ३७ पुरुष र एक बालक गरी ४९ र पुस २ गते तीन महिला, ६४ पुरुष गरी ६७ जनालाई रातको समयमा काठमाडौँका विभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो ।

‘बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त महाअभियान घोषणा मूल व्यवस्थापन समिति’ को बैठकमा मानव सेवा आश्रमका प्रदेश नं ३ का इन्चार्ज सुमन बर्तौलाले उद्धार गरिएका मध्ये १२९ पुरुष, १४ महिला, १ बालक र १ बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको बताउनुभयो । उद्धार गरिएकामध्ये पहिचान गरिएका १५ जनालाई मानव सेवा आश्रममा लगिएको छ । त्यस्तै ९ जनाको अस्पतालमा राखेर उपचार भइरहेको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार कार्य शुरु गरिएको जानकारी गराउँदै व्यक्तिको उद्धार पूर्वको अवस्थालाई तस्बिर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन निर्देशन दिनुभयो ।