जनता टाइम्स

५ पुष २०७६, शनिबार ०९:००

पूर्वमन्त्रीहरु मुछिएको बालुवाटार प्रकरणमा मुद्दा चलाइने, सयभन्दा बढी ब्यक्ति तानिए


काठमाडौं, पुस ५ । बालुवाटारस्थित ललिता निवासको झन्डै एक सय १४ रोपनी जग्गामा भएको अनियमितता प्रकरणमाथिको छानबिन अन्तिम चरणमा पुगेको छ। जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीसहित सयभन्दा बढी ब्यक्ति तानिएका छन् ।

बालुवाटारको दुई सय १४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने योजनाकारहरू मात्र होइन, जग्गा किन्नेहरूविरुद्ध पनि मुद्दा चल्ने भएको छ।

‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ। केही दिनमै परिणाम आउला,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले संचारकर्मीसंग भने, ‘प्रक्रिया पूरा हुन बाँकी रहेको र अनुसन्धान गोप्य हुने भएकाले सबै तथ्य अहिल्यै भन्न मिलेन।’

अनुसन्धान सकिएकाले छिट्टै मुद्दा लैजाने तयारीमा आयोग छ। अख्तियारका साक्षी र कतिपय आरोपित व्यक्तिको कागजमा सनाखत गर्न बाँकी रहेका कारण निर्णय परिपक्व नभएको स्रोतले बतायो। यो प्रकरणमा अख्तियारले ६ महिना लगाएर अनुसन्धान गरेको छ।

‘केही ल्याब रिपोर्ट आउन बाँकी छ, एक–दुईजनासँग थप बुझ्नुपर्नेछ,’ ब्युरोका निर्देशक डिआइजी नीरज शाही भन्छन्, ‘अब छिटै प्रतिवेदन बुझाउँछौँ ।’

नक्कली मोही खडा गरी सरकारी जग्गा कब्जा गरिएको आशंकामा सिआइबीले मोही भनिएका व्यक्तिको औँठाछाप परीक्षण गरिरहेको छ । त्यससम्बन्धी परीक्षणका लागि प्रयोगशाला पठाइएको र रिपोर्ट प्रतीक्षा भइरहेको सिआइबीले जनाएको छ।