जनता टाइम्स

५ पुष २०७६, शनिबार १०:५०

जब उपप्रधानमन्त्री पोखरेलले ‘बा’ खोज्नुभयो (भिडियोसहित)


काठमाडौं, पुष ५

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल शनिवार विहान एक कार्यक्रममा बेग्लै रुपमा प्रस्तुत हुनुभयो । सधै विकास र राजनीतिका कुरा गर्नुहुने उपप्रधानमन्त्री पोखरेलले शनिबार भने एक कार्यक्रमा बा खोज्नु भएको छ ।

चुनदेवी सहयोगी संस्था बासबारीको ४२ औं वार्षिक उत्सवको अवसरमा कविता श्रवण कार्यक्रममा उहाले कवितामार्फत बा खोज्नु भएको हो ।

यस्तो छ उहाको मेरा बा कविता


मैले मेरा बा खोज्न –
धेरै पटक आफ्ना दिमागका आँखा मिचे,
आँखा चिम्म पारेर प…र प..र हेर्न खोजें,
चम्किरहेका ताराहरू र चहकिलो जून नियालें ,
कहिले निष्पट्ट अध्यारो रातमा बाटो काट्दै गर्दा
आफै अगाडि ठिंग उभिन आइपुगेको,
सलवलाउँदै गरेको – बग्दैगरेको
कालो आकृतिको सामना गरें !

तर अहँ …
बा लाई सग्लो आकारमा भने
देख्न सकिन / पाउन सकिन
मेरा बा सँधै धमिलो आकृतिमा
मेरा अगाडि उभिई रहनुभो- आइरहनुभो !

त्यही धमिलो आकृति – मेरो बाको आकृति !
अघाउजी हेर्न खोज्छु – ठम्याउन खोज्छु
तर दुर्भाग्य ! हेर्नै सक्तिन – ठम्याउनै सक्तिन
सल्वलाउँदै गरेको- बग्दैगरेको
धमिलो / कालो आकृति
मेरो बा बनेर सँधै सँधै ठिंग उभिन आइपुग्छ !
मेरा बा –
मैले तपाईंलाई सँधै सँधै यसरी नै भेट्दै आएकोछु !

बालखै उमेरमा,
मृत्यु शैय्यामा लमतन्न परेको
बाको शरिरलाई अहिले पनि सम्झन्छु !
भक्कानिएर रूँदैगरेकी मेरी आमाको सारीको सप्कोले मुख छोप्दै
बा लाई त्यसवेला नियालेको थिएँ –
म, आमा झैं डाको छोडी रोएको त थिइन –
तर रून खोज्दै र रून्चे अनुहार लगाएर बा को अनुहार हेरेको थिएँ –
दीर्घ रोगी बनेर गलिसकेको ,
अस्वभाविक रूपले कालो बनिसकेको अनुहार ,
वेस्सरी तील चामल बनिसकेका लामा लामा
दारी जुंगाहरू ,
वेस्सरी धस्सिएका आँखा ,
हो- मैले तपाईंलाई त्यही रूपमा देखें !

उत्तरार्धतर्फ बढिरहेको म
लगातार बा लाई देख्ने – भेट्ने धोकोमै छु ,
तर , सँधै सँधै त्यही र त्यस्तै
कालो कालो , धमिलो धमिलो आकृति
मेरो बा बनेर ठिंग्ग उभिने गरेको छ ,
म निरन्तर निरन्तर बा को खोजीमा छु,
तपाईं जति धमिलो देखिए पनि
बा लाई देख्ने – भेट्ने प्रयत्न
जारी छ – जारी रहनेछ !

बालाई चिन्ने , देख्ने धोको जारी छ !