जनता टाइम्स

५ पुष २०७६, शनिबार १७:४४

नेकपा स्थायी समिति निर्णय : सचिवालय संख्या बढाउने प्रस्ताव अस्वीकार, पुस २० मा केन्द्रीय कमिटी बैठक


काठमाडौं, पुस ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक पुस २० देखि बस्ने भएको छ । मंसिर २९ गतेदेखि जारी नेकपाको स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डको प्रस्तावमा पुस २० गतेदेखि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

स्थायी समिति सदस्य वर्षमान पुनका अनुसार पुस २० गतदेखि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय बैठकले गरेको छ । ‘अबको १५ दिनपछि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ,’ पुनले भन्नुभयो । नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले ले माघमा केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेपनि स्थायी समिति सदस्यहरुले केन्द्रीय कमिटी बैठक चाँडो बोलाउनु पर्ने सुझाव दिएपछि पुस २० गते नै बैठक बोलाइएको हो ।

पार्टी एकतापछि नेकपाले पहिलो पटक एजेन्डामाथि छलफल गर्न नेकपाले केन्द्रीय कमिटी बैठक बोलाउन लागेको हो । यसअघि शपथ ग्रहण र परिचयात्मक कार्यक्रममा केन्द्रीय कमिटी सदस्यहरुलाई आमन्त्रण गरिएको थियो । नेकपाले केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको प्रस्ताव लैजाने तयारी गरेको छ । नेकपामा ४ सय ४५ जना केन्द्रीय सदस्य छन । यसैगरी बैठकले केन्द्रीय सचिवालयमा सदस्य संख्या बढाउने प्रस्ताव अस्वीकार गरेको छ ।

जारी नेकपा स्थायी कमिटी बैठकमा केही नेताहरुले समानुपातिक र समावेशी तबरले सचिवालय गठन गरिनुपर्ने र त्यसमा छुटेकाहरुलाई समेटिनु पर्ने माग गरेपनि बैठकले सचिवालय संख्या नबढाउने निर्णय गरेको हो । स्थायी समिति सदस्य रघुजी पन्तले सचिवालय सदस्य संख्या नबढ्ने निर्णय भएको जानकारी दिनुभयो । ‘अन्तिम निर्णय आउन बाँकी छ, सचिवालय संख्या भने नबढाउने निर्णय भइसकेको छ,’ बैठकबाट बाहिरिने क्रममा नेता पन्तले भन्नुभयो ।

स्थायी समिति बैठकमा नेतृहरु अष्ठलक्ष्मी शाक्य र पम्फा भुसालले सचिवालयमा महिला नसमेटिएको भन्दै संख्या बढाउन खुलेर माग गर्नुभएको थियो । वरिष्ठ नेता माधव कुमार नेपालले पनि सचिवालय संख्या बढाइनुपर्ने आवाज उठाउँदै आउनु भएको थियो । नेकपाभित्र सचिवालय सदस्य विस्तार गरेर १९ सदस्य बनाइनुपर्ने आवाज उठेको थियो ।

हाल सचिवालय सदस्य संख्या ९ जना रहेको छ । स्थायी समितिका अधिकांश सदस्य संख्या बढाउन नहुने पक्षमा उभिएपछि सो प्रस्तावलाई अस्वीकार गरिएको हो । आजको बैठकमा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सदस्यहरुले उठाएको प्रश्नमाथि जवाफ दिनुभएको छ । जवाफ दिने क्रममा अझै जारी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।