जनता टाइम्स

५ पुष २०७६, शनिबार १८:२७

आलोचना गर्ने नेतालाई प्रचण्डले दिनुभयो धन्यवाद


काठमाडौं, पुस ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी र सरकारको आलोचना गर्ने नेताहरुलाई धन्यवाद दिनुभएको छ । स्थायी समितिको जारी बैठकमा राजनीतिक प्रतिवेदन र बिधान संशोधन प्रस्तावमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले सवैलाई धन्यवाद दिनुभएको हो ।

आजको बैठकमा जवाफ दिँदै अध्यक्ष प्रचण्डले बैठकमा ब्यक्त बिचारले सरकार तथा पार्टीको कामलाई गति दिन सहयोग पुर्याएको भन्दै धन्यवाद दिनुभएको हो । ‘जति कमरेडहरुले आलोचनात्मक टिप्पणी गर्नुभयो, जति बिचारहरु आए, यसबाट आगामी दिनमा पार्टी र सरकारलाई गतिका साथ काम गर्न टेवा पुगेको छ, यसकारण म सवै कमरेडहरुलाई दुवै अध्यक्ष (प्रधानमन्त्री तथा अध्यक्ष कमरेड केपी शर्मा ओली र प्रचण्ड) तर्फबाट धन्यवाद दिन चाहन्छु,’ बैठकमा अध्यक्ष प्रचण्डको भनाई थियो । गत मंसिर २९ गतेबाट सुरु भएको स्थायी समिति बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम सकिएपछि आज अध्यक्ष प्रचण्डले जवाफ दिनुभएको हो ।

अध्यक्ष प्रचण्डले प्रतिउत्तर सम्बोधनका क्रममा स्थायी कमिटीको बैठकमा व्यक्त विचारहरुले पार्टीलाई सुदृढीकरण गर्न, एकतालाई तीब्रता प्रदान गर्न, तीनै तहको सरकारलाई प्रभावकारी बनाउन र देशलाई सही दिशामा अघि बढाउन मद्दत पुगेको विचार व्यक्त गर्नुभएको छ । आजको बैठकमा महासचिव बिष्णु पौडेलले बिधान संशोधन प्रस्तावको बिषयमा आएको बिषयमा जवाफ दिनुभएको छ ।

‘अध्यक्ष र महासचिवको प्रतिउत्तर सम्बोधनपछि पनि सदस्यहरुले विभिन्न विषयहरुमा पुरक जिज्ञासाहरु राख्नुभयो र तिनलाई थप प्रष्ट्याउने कार्य भएको छ । प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई निष्कर्षका रुपमा पारित गर्ने काम भोलिको बैठकबाट गरिनेछ,’ बैठकपछि प्रवक्ता तथा प्रचार बिभाग प्रमुख नारायणकाजी श्रेष्ठले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ । उहाँका अनुसार अध्यक्ष ओली र ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि महासचिव विष्णुप्रसाद पौडेलले आफ्नो धारणा राख्नुभएपछि छलफलका क्रम पूरा भएको छ ।

बैठकमा सबै सदस्यहरुले राख्नुभएका आ–आफ्ना धारणाहरुको सम्बन्धमा स्पष्ट पार्न पार्टी सचिवालयको बैठकसमेत आजै बसेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । सो बैठकमा तदनुरुप बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न विषयमा प्रष्ट्याउने र परिमार्जन गर्ने विषयहरु राख्नुभएको थियो । यसैगरी विधान संशोधन प्रस्तावका सम्बन्धमा उठेका जिज्ञासाहरुका बारेमा महासचिव विष्णुप्रसाद पौडेलले प्रष्ट गर्नुभएको हो । बैठकले केन्द्रीय सचिवालयको संख्या नबढाउने निर्णयसहित पुस २० गते केन्द्रीय कमिटीबैठक बोलाउने निर्णय गरिसकेको छ ।

स्थायी समितिको अर्को बैठक पुस ६ गते आइतवार बिहान ११ बजे पार्टी कार्यालयमा बस्नेछ । भोलिको बैठकले स्थायी समिति बैठकको निश्कर्षलाई अन्तिम टुंगो लगाउने छ ।