जनता टाइम्स

५ पुष २०७६, शनिबार १८:४४

पुस १२ गते प्रेस सङ्गठनको राष्ट्रिय भेला : ओली–प्रचण्डसहित शीर्ष नेताले सम्बोधन गर्ने


काठमाडौं, पुस ५ । प्रेस सङ्गठन नेपालको एकतापछि शपथ ग्रहण तथा प्रथम राष्ट्रिय भेला यही पुस १२ गते काठमाडौँमा हुने तय भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको बिशेष आतिथ्यतामा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण र राष्ट्रिय भेला तय भएको हो ।

भेलामा सङ्गठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला (प्रतिष्ठान र एसोसिएट) का संयोजक र सहसंयोजक सहभागी हुने केन्द्रीय सहसंयोजक गणेश बस्नेतले जानकारी दिनुभयो । भेलामा सचिवालयका नेताहरु, तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रचार विभागका प्रमुख तथा इञ्चार्जहरुसमेतलाई आमन्त्रण गरिएको छ ।

तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई २४९ सदस्यीय प्रेस सङ्गठन नेपाल गठन भएको हो । सङ्गठनको प्रदेश र जिल्लास्तरमा पूर्णताको काम लगभग सम्पन्न भएको छ । सङ्गठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक बस्नेतले गत मङ्सिर १० गते केन्द्रीय कमिटी र प्रदेश पदाधिकारीको टुंगो लगाउनु भएको थियो । प्रदेशका संयोजक, सहसंयोजक र इञ्चार्जले जिल्ला संयोजक र प्रदेश सदस्यको टुंगो लगाएका हुन । रासस