जनता टाइम्स

३ श्रावण २०८३, आईतवार १४:११

प्रधानमन्त्री बालेनमाथि खनिए शंकर, केही नगर्ने आतंक मात्रै सिर्जना गरेर देश बर्वाद बनाउन लाग्यो


काठमाडौं, साउन ३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार काम केही नगर्ने र आतंम सिर्जना गरेर शासन गर्ने प्रष्ट बाटोमा रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री बालेनलाई कटाक्ष गर्दै महासचिव पोखरेलले यो सरकार देश बनाउन आएको होइन भन्ने तथ्य अहिलेसम्मको शासनले देखाइसकेको निश्कर्ष पनि सुनाउनु भयो ।

‘रास्वपा सरकार देश बनाउन आएकै हैन भन्ने त प्रमाणित भइसक्यो, यस्ले जनताको पक्षमा काम गर्दैन भन्ने पनि देखियो । काम बाहेक केही नगर्ने भन्ने प्रधानमन्त्रीको शासनमा विद्युत आपूर्तिको पीडा बेहोर्दै कार्यक्रम गर्नुपरेको छ, यो घटना नै काफी भइसक्यो,’ पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले राष्ट्रिय हित र सरोकारका मामिलाहरूमा एमालेका सवै सांसद एकतावद्ध हुने र देखिनुपर्ने बताउनु भयो । उहाँले आफूहरु रास्वपाकै सांसद जसरी लोकप्रियताको बाटोमा हिडन नहुनेतर्फ पनि सचेत गराउनु भयो ।

‘सरकार जसरी चलिरहेको छ, जसरी भ्रम छरिरहेको छ, त्यसैगरी एमाले जान सक्दैन, लोकप्रिय बन्न लोकप्रियतावादको पछि लाग्न सकिदैन,’ महासचिव पोखरेलले भन्नुभयो, ‘कामबाहेक केही नगर्ने भन्ने प्रधानमन्त्रीको शासनमा विद्युत आपूर्तिको पीडा बेहोर्दै हामी कार्यक्रम सुरु गर्दैछौँ । यसले पनि बताउँछ काम कसरी भइराखेको छ भन्ने कुरा । भर्चुअल दुनियाँमा त धेरै चर्चा–परिचर्चा छ, तर वास्तविक रूपमा यथार्थतामा काम कसरी–कसरी भइरहेको छ भन्ने कुरा आम नागरिकहरूले महसुस गर्ने गरी कुनै काम हुन सकेको छैन।’

महासचिव पोखरेलले सरकारले नागरिकहरूका पीडामाथि पीडा थप्ने काम गरेको दृष्टान्त राख्दै अव जनतालाई बुझाउने भाषामा सदनमा भण्डाफोर जरुरी रहेको बताउनु भयो । ‘जनताले अत्यन्त लोकप्रिय जनादेश दिइसकेपछिको सरकारबाट जनता आश्वस्त हुने होइन, सन्त्रस्त बन्ने खालको जो परिवेश सिर्जना भएको छ, त्यो परिवेशभित्र हामी हाम्रो संसदीय दलको काम प्रभावकारी बनाउन सक्नुपर्छ,’ एमाले महासचिव पोखरेलले भन्नुभयो । उहाँले सवै सांसदहरू एक आपसमा परामर्श गरेर बिषयबस्तुलाई गहिराइमा पुगेर अध्ययन र प्रस्तुती गर्दै जनतालाई बुझाउनु पर्ने बताउनु भयो ।