जनता टाइम्स

३ श्रावण २०८३, आईतवार १५:५३

पोहोरभन्दा अहिले बढी नेपाली बिदेसिए तर सबैतिर चुपचाप छन् : केपी ओली


काठमाडौं, साउन ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले विदेश जाने युवाको सङ्ख्या पहिलेभन्दा निकै बढेको भए पनि कोही नबोलेको भन्दै व्यङ्ग्य गर्नुभएको छ । पार्टी सांसदहरूका लागि एमाले मुख्यालय च्यासलमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

‘विदेश मान्छे पठाइए, विदेश गए भनेर उधुम हल्ला थियो, पोहोर साल यतिबेला खपिनसक्नु हल्ला थियो । पोहोर साल यतिबेला भन्दा अहिले यतिबेला सङ्ख्या बढी गएको छ बाहिर । तर सबैतिर चुपचाप छ,’ रास्वपा सरकारप्रति व्यङ्ग्य र त्रसित नेपाली मानसिकता उजागर गर्दै ओलीले भन्नुभयो । उहाँले सरकारले देशका विरुद्ध जे गर्दा पनि चुपचाप बस्ने त्रासमा नागरिक रहेको बताउनु भयो ।

उहाँका अनुसार अहिले बाहिर जाने युवाहरूको अधिकार हो भन्ने व्याख्या अगाडि सारिरहेका छन् । ‘पोहोर स्वाभाविक थिएन, अहिले स्वाभाविक । कुरो र कुलो जता पनि जान्छ भनेजस्तै उनीहरूले कुरा बङ्ग्याउँछन्, जनताको हित विपरीत, आफ्नो सङ्कीर्ण हितका लागि प्रयोग गर्छन्,’ ओलीले थप्नुभयो । एमाले अध्यक्ष ओलीले सत्तामा रहनेहरूको काम नै ढाँट्ने, छल्ने, झुक्क्याउने भएकोले अव बङ्ग्याएको कुरा सच्याउनुपर्ने र सही कुरा जनतासमक्ष पुर्‍याउने माध्यम संसद् रहेको बताउनु भयो ।

यस्तै अध्यक्ष ओलीले कानुन बनाउने सङ्ख्या आफूसँग नभएपनि जनताको हितका कुरा उठाउने ठाउँ पनि संसद् रहेको र त्यसका लागि पर्याप्त काम रहेको बताउनु भयो । कानून बनाउने सङ्ख्या छैन तर जनताको हितमा कुरा उठाउन पर्याप्त छ, त्यसैअनुसार अव लाग्नुपर्छ,’ ओलीको भनाई थियो ।