जनता टाइम्स

३ श्रावण २०८३, आईतवार १८:२८

आईजीपी कार्कीले पनि गरे प्रधानमन्त्री-गृहमन्त्रीकै सिको, तोडिदिए परम्परा


काठमाडौं, साउन ३ । प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की पनि पुरानो परम्परा तोडने बाटोमा अघि बढनुभएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ पुरानो परम्परा तोडेर आफूलाई लागेको जे पनि गर्ने बाटोमा हिडेपछि आइजीपी कार्कीले पनि परम्पराको डोरीलाई चुडाईं दिनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले थाइल्यान्ड प्रस्थान गर्दा प्रहरी मुख्यालयभन्दा बाहिरका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) लाई निमित्त आइजीपीको जिम्मेवारी तोक्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाको प्रमुख संघीय अनुसन्धान ब्युरो (एफबीआई) क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार थाइल्यान्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नुभएको हो ।आईजीपी कार्कीको टोलीमा प्रहरी उपरीक्षक (एसपी) धर्मराज भण्डारी पनि सहभागी हुनुहुन्छ । कार्यक्रम दुई दिन चल्नेछ । आईजीपी कार्कीलाई एआईजीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गर्नुभएको थियो ।

आइजीपी कार्कीको अनुपस्थितिमा निमित्त आईजीपीको जिम्मेवारी प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत प्रहरी एआईजी राजन अधिकारीलाई दिनुभएको छ । प्रहरी प्रधान कार्यालयभित्रै कार्यरत एआईजीलाई निमित्त आईजीपी दिने चलन रहेकोमा कार्कीले त्यो परम्परा तोडनुभएको हो । उहाँले यसपटक प्रहरी प्रधान कार्यालयका साटो प्रतिष्ठानका एआईजी अधिकारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिनुभएको हो ।

एआइजीपी अधिकारी वरीयताक्रममा पहिलो नम्बरमा हुनुहुन्छ । यो घटनाले प्रहरीभित्र शक्ति संघर्ष चर्किरहेको संकेतसमेत गरेको छ ।