जनता टाइम्स

६ पुष २०७६, आईतवार १२:३७

कम्प्याक्ट सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गर्न एमसीसी नेपालको आग्रह


काठमाडौं, पुष ६

अमेरिकासँग अनुदान लिने मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)लाई प्रतिनिधिसभाबाट अनुमोदन गर्न मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले औपचारिक आग्रह गरेको छ ।

नेपालमा दलहरुबीच विवाद बढिरहेका बेला एमसीसी नेपालले राजधानीमा पत्रकार सम्मेलन गरी जारी संसदको हिउँदे अधिवेशनबाट उक्त कम्प्याक्ट अनुमोदनका लागि अनुरोध गरेको हो । एमसीसी नेपाल कम्प्याक्टको औपचारिक कार्यान्वयन २०७७ असार १६ देखि हुने र यसको कार्यान्वयन थालनी हुनुपूर्व पूरा गरिसक्नुपर्ने ६ वटा शर्तहरूमध्ये नेपाल–भारत सीमापार प्रसारणलाइन निर्माणसम्बन्धमा भारतसँग गर्नुपर्ने सम्झौतासहित चारवटा पूर्वशर्त पूरा भइसकेको उल्लेख गरिएको छ ।

आयोजना समयमै कार्यान्वयन गर्न निर्धारित आर्थिक सहयोग नेपालले प्राप्त गर्ने सुनिश्चित गर्नका लागि अब पूरा हुन बाँकी दुईवटा महत्वपूर्ण पूर्वशर्तहरु कम्प्याक्टको संसदीय अनुमोदन र आयोजना क्षेत्रमा पहुँच रहेको विज्ञप्तिमा जनाइएको छ। एमसीए नेपालका अनुसार नेपालमा लगानी वृद्धि र आथिृक विकासमा तीव्रता ल्याउन सहयोगी वातावरण सिर्जना गर्नका लागि नेपालको विद्युतको उपलब्धता र भरपर्दोपनामा वृद्धि गर्ने, सडक गुणस्तर कायम गर्ने तथा नेपाल र यस क्षेत्रीच ऊर्जा व्यापारलाई सहज बनाउने उद्देश्यसहित तर्जुमा गरिएका आयोजनाको कार्यान्वयनका लागि आवश्यक तयारी कार्यको अन्तिम चरणमा रहेको छ ।

तयारी चरणमा नयाँ बुटवल–गोरखपुर सीमापार प्रसारणलाइन कार्यान्वयनका लागि नेपाल र भारत सरकारबचि २०१९ अक्टोबर १५ मा सहमति भइसकेको, २०१९ सेप्टेम्बर ३० मा नुवाकोटका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लाको मुआब्जा निर्धारण समिति गठन गरी अन्य नौ जिल्लामा पनि समिति गठन सुरु भएको, सम्भावित निर्माण तथा सेवा प्रदायक संस्थाहरुलाई कार्यक्रमबारे जानकारी प्रदान गर्न तथा यसअन्तर्गतका आयोजनाको निर्माणका लागि हुने विश्वव्यापी टेन्डर प्रक्रियामा विश्वका सर्वोत्कृष्ट कम्पनीहरुको सहभागिता रहने सुनिश्चित गर्न गत नोभेम्बर १८ मा काठमाडौंमा र नोभेम्बर २९ र ३० मा नयाँ दिल्लीमा आउटरिच कार्यक्रम आयोजना गरिएको उल्लेख गरिएको छ ।