काठमाडौं, साउन ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आफूलाई जोडेर सार्वजनिक भएको चेक बाउन्स प्रकरणमा आफू पीडित रहेको दाबी गर्दै स्पष्टीकरण सार्वजनिक गर्नुभएको छ। तर, उहाँको स्पष्टीकरणसँगै उक्त रकमको प्रकृति, कारोबारको आधार र स्रोतबारे नयाँ प्रश्नहरू समेत उठ्न थालेका छन्।
सांसद तामाङले सोमबार जारी गरेको स्पष्टीकरणमा आफूले कसैलाई दिएको चेक बाउन्स नभई आफूले प्राप्त गर्नुपर्ने रकमको चेक अनादर (बाउन्स) भएको बताउनुभएको छ। “चेक बाउन्सको विषयमा पीडित पक्ष म स्वयं हुँ, मैले प्राप्त गर्नुपर्ने रकम सम्बन्धी चेक अनादर (बाउन्स) भएको हो, न कि मैले कसैलाई दिनुपर्ने रकमको चेक बाउन्स गरेको हो,” उहाँले उल्लेख गर्नुभएको छ।
उहाँका अनुसार सम्बन्धित व्यक्तिले आफूलाई तिर्नुपर्ने रकम नतिरेपछि आफूले कानुनी प्रक्रियाअनुसार चेक अनादरसम्बन्धी कारबाही अघि बढाउनुभएको हो। साथै, बैङ्किङ कानुनअनुसार ४५ दिनको प्रक्रिया पूरा भएपछि मात्रै औपचारिक कानुनी प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ।
सांसद तामाङले सम्बन्धित पक्षले आफूले तिर्नुपर्ने रकमबाट बच्न ‘मिडिया ट्रायल’ गरिरहेको र भ्रमपूर्ण प्रचार गरिएको आरोपसमेत लगाउनुभएको छ। यद्यपि, सार्वजनिक स्पष्टीकरणले एउटा पक्ष स्पष्ट पारे पनि अर्को महत्त्वपूर्ण प्रश्न भने अनुत्तरित नै रहेको देखिन्छ। उहाँले प्राप्त गर्नुपर्ने भनिएको ठूलो रकम के प्रयोजनका लागि थियो ? त्यो रकम कुन कारोबार वा सम्झौतासँग सम्बन्धित थियो ? उक्त रकमको स्रोत के हो ? भन्ने जिज्ञासा सार्वजनिक रूपमा उठ्न थालेको छ।
सार्वजनिक पदमा रहेका व्यक्तिको आर्थिक कारोबारबारे पारदर्शिता अपेक्षित हुने भएकाले, यस प्रकरणमा रकमको प्रकृति र पृष्ठभूमिबारे स्पष्ट जानकारी आउनुपर्ने मत सामाजिक सञ्जाल र सार्वजनिक बहसमा देखिन थालेको छ। विशेष गरी, रकम व्यक्तिगत ऋण, व्यावसायिक कारोबार, लगानी, वा अन्य कुनै कानुनी लेनदेनसँग सम्बन्धित थियो भन्ने विषयमा सांसद तामाङले खुलाउनुभएको छैन।
उहाँले आफू पीडित रहेको दाबी गरे पनि उक्त रकम कसरी सिर्जना भयो, किन दिनुपर्ने अवस्था आयो र त्यसको वैधानिक आधार के थियो भन्ने विषयमा थप स्पष्टता आवश्यक रहेको कानुनी तथा राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।
यसैबिच, चेक अनादरसम्बन्धी कानुनी प्रक्रिया अगाडि बढिरहेको भन्दै सांसद तामाङले आफू र आफ्नो सचिवालयविरुद्ध फैलाइएका भ्रमपूर्ण समाचारमा विश्वास नगर्न तथा वास्तविक तथ्यका आधारमा धारणा बनाउन सबैसँग आग्रह गर्नुभएको छ।
आशिका तामाङको नाममा काटिएको एक करोड ३५ लाख रुपैँयाको चेक बाउन्स भएको तथ्य सार्वजनिक भए पछि तामाङले सो रकम आफ्नो विदेशी पतिको कमाइ भएको स्पष्टीकरण दिनुभएको छ ।
जेनजी आन्दोलनको बेले घाइतेहरुलाई अस्पताल र काेठा-काेठामा गएर रकम बाँड्नु भएकी तामाङले सो रकम कहाँबाट कति आएकाे थियो भन्ने स्पष्ट जवाफ समेत दिन सक्नु भएको छैन ।














प्रतिक्रिया दिनुहोस्