जनता टाइम्स

४ श्रावण २०८३, सोमबार १८:०४

हतारमा निर्णय गरी फुर्सदमा पछुताउँदै सरकार, सार्वजनिक बिदा कटौती गर्न बनायो कार्यदल


काठमाडौं, साउन ४ । सरकारले सार्वजनिक बिदाहरूको पुनरवलोकन गृहकार्य अघि बढाएको छ । सोमवार बसेको सचिवस्तरीय बैठकले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिन थालेपछि हाल कायम सार्वजनिक बिदा धेरै भएको निष्कर्ष निकालेको हो ।

ती बिदालाई घटाउने वा परिमार्जन गर्ने सम्बन्धमा अध्ययन गर्न एक उच्चस्तरीय कार्यदल गठन गरिएको छ । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ ।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिलाई समावेश गरिएको छ। कार्यदललाई सार्वजनिक बिदाहरूको पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न कार्यादेश तोकिएको छ ।

सातामा दुई दिन बिदा हुँदा वर्षभरिका अन्य चाडपर्व र दिवसका बिदाले सरकारी कार्यालय धेरै दिन बन्द हुने र यसबाट नागरिक सेवा प्रभावित हुने भन्दै कार्यदलको प्रतिवेदनका आधारमा आगामी वर्षको बिदा क्यालेन्डरमा केही साबिकका बिदाहरू कटौतीको तयारीअनुसार यो निर्णय भएको हो ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले बिना अध्ययन एकाएक हचुवाको भरमा सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि देशभर काम प्रभावित बनेको छ । यस्तै प्रधानमन्त्रीले दावा गरेजस्तो दुई दिन बिदा अरु दिन काममा जोश भन्ने कुरा पनि हावादारी सावित भएपछि सचिव बैठकमार्फत आफ्नो हतारको गलत निर्णय सच्याउने बाटो अघि बढाइएको कर्मचारीहरूको बुझाई छ ।