जनता टाइम्स

४ श्रावण २०८३, सोमबार २०:३४

वर्ष दिन नपुग्दै धर्मरायो नयाँ जनादेश : शंकर पोखरेल


काठमाडौं, साउन ४ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ जनादेशबाट बनेको रास्वपा सरकार एक वर्ष नपुग्दै राजनीतिक रूपमा कमजोर बन्दै गएको टिप्पणी गर्नुभएको छ। उहाँले सरकारभित्र आन्तरिक असमझदारी बढेको, जनविश्वास घट्दै गएको तथा सरकार निर्माणमा साथ दिएका युवाहरू नै सडक आन्दोलनमा उत्रिएको दाबी गर्नुभएको छ।

सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले अभूतपूर्व जनमतका आधारमा बनेको सरकार कम्तीमा दुई वर्ष आन्तरिक विवादबिना चल्ने र जनतामा आशा कायम रहने अपेक्षा गरिए पनि त्यसो हुन नसकेको उल्लेख गर्नुभएको छ। “अभूतपूर्व जनमतबाट बनेको रास्वपा सरकार कम्तीमा दुई वर्ष त आन्तरिक किचलोबिना चल्ला अनि जनताको आशा पनि टिकिरहला भन्ने ठानेको, यहाँ त वर्ष दिन नबित्दै ‘टिम रास्वपा’ सम्हाल्नै हम्मे–हम्मे पर्ने जस्तो देखियो,” उहाँले भन्नुभएको छ।

पोखरेलले पार्टीभित्र समझदारीको अभाव देखिएको र सरकारप्रति जनताको विश्वास पनि कमजोर बन्दै गएको दाबी गर्नुभएको छ। “न पार्टीभित्र समझदारी छ, न त जनतामा पहिलेजस्तो विश्वास नै, जसको काँधमा टेकेर सरकार बन्यो, तिनै जेन–जी (Gen-Z) सबैभन्दा पहिले सडकमा ओर्लिए,” उहाँले उल्लेख गर्नुभएको छ।

उहाँले नयाँ जनादेशपछि यति छोटो अवधिमै सरकार यस्तो संकटमा परेको अवस्था यसअघि कहिल्यै नदेखिएको जिकिर गर्नुभएको छ।

प्रधानमन्त्रीले ‘कामबाहेक केही नसोच्ने’ प्रतिबद्धता व्यक्त गरे पनि सरकारको कार्यशैली त्यसअनुसार हुन नसकेको पोखरेलको टिप्पणी छ । “‘कामबाहेक केही नसोच्ने’ प्रधानमन्त्री नेतृत्वको सरकारको यो गति र मति कसरी भयो ? सुशासनको नारा बोकेर आएका प्रधानमन्त्रीका ‘देश बनाउने टिम’ र ‘कोर टिम’माथि उठेका गम्भीर प्रश्नहरूले आज सुशासनकै धज्जी उडाएका छन्,” उहाँले लेख्नुभएको छ।

सरकारको वर्तमान अवस्थाबारे जवाफदेहिता आवश्यक रहेको उल्लेख गर्दै पोखरेलले प्रश्न गर्नुभएको छ, “यस्तो अन्योल र दुर्दशाको जवाफ अब कसले दिने-रविजीले कि बालेनजीले ?”