जनता टाइम्स

४ श्रावण २०८३, सोमबार २१:१२

पुष्पलाल स्मृति दिवसमा संविधान र लोकतन्त्रबारे एमालेको विशेष प्रवचन, ओलीसहित शीर्ष नेताहरू सहभागी हुने


काठमाडौं, साउन ४ । नेकपा एमालेले ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा राजधानी प्रदेश कमिटीको आयोजनामा विशेष प्रवचन कार्यक्रम आयाेजना गर्ने भएकाे छ ।

एमाले सचिव डा. राजन भट्टराईका अनुसार साउन ७ गते दिउँसो २ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा ‘संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता प्रमुख दलहरूको भूमिका र दायित्व’ विषयमा प्रवचन कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। त्यसैगरी, नेपाली कांग्रेसकी उपसभापति पुष्पा भूषाल, नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ, संविधानविद् राधेश्याम अधिकारी र संविधानविद् टीकाराम भट्टराई अतिथि वक्ताका रूपमा सहभागी भई संविधानको कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण तथा संविधान निर्माता प्रमुख दलहरूको भूमिका र दायित्वबारे धारणा राख्नुहुने कार्यक्रम रहेको डा. भट्टराईले जानकारी दिनुभएको छ।

नेकपा एमालेले कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृतिमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्षको स्मृति दिवसमा आयोजना गरिएको प्रवचन कार्यक्रममा संविधान, लोकतान्त्रिक अभ्यास र समसामयिक राजनीतिक विषयमा बहस हुने अपेक्षा गरिएको छ।