जनता टाइम्स

४ श्रावण २०८३, सोमबार २१:२१

बाजुरामा यात्रुवाहक जिप दुर्घटना : दुई जनाको मृत्यु, चालकसहित सात घाइते


काठमाडौं, साउन ४ । बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्।

प्रहरीका अनुसार धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी अन्दाजी ४० वर्षीय अम्मर सिंह बुढाको कोल्टी आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक जनवीर बुढासहित सात जना घाइते भएका छन्। घाइते सबैको कोल्टी आधारभूत अस्पताल, बाजुरामा उपचार भइरहेको छ।

घाइते हुनेहरूमा चालक जनवीर बुढा (टाउकोमा चोट, अवस्था मध्यम), मिजरा बुढा (टाउकोमा चोट, अवस्था मध्यम), अस्मिता थापा (कम्मरमा चोट, अवस्था सामान्य), जंग सिंह बुढा (हातमा चोट, अवस्था सामान्य), गोरख रोकाया (हात र टाउकोमा चोट, अवस्था सामान्य), लोकेन्द्र बुढा (हातमा चोट, अवस्था सामान्य) र ९ वर्षीया सुस्मा बुढा (आँखामा चोट, अवस्था सामान्य) रहेका छन्।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।